विराटनगर– पाथीभरा क्षेत्रमा शनिबार प्रहरी र केवलकार निर्माणको विरोध गरिरहेका आन्दोलनकारीबीच झडप हुँदा चार जना घाइते भएका छन् ।
प्रदर्शनलाई नियन्त्रणमा लिन प्रहरीले गोली चलाउँदा चार जना प्रदर्शनकारी घाइते भएका छन् भने झडपमा परेर प्रहरी पनि घाइते भएका छन् । गोली लागेका तीन जनाको अवस्था गम्भीर रहेको छ ।
केबलकार निर्माणको विरोधमा रहेको ‘नो केबलकार समूह’ले आज आइतबारबाट आन्दोलन गर्ने तयारी गरेको थियो । आन्दोलनलाई रोक्न भन्दै शनिबार नै नेपाल प्रहरी र सशस्त्र प्रहरी खटिएको थियो । शनिबार बेलुका करिब ६ बजे पाथिभरा क्षेत्रको बलुडाडामा प्रहरी पुगेपछि आन्दोलनकारीले ढुंगामुडा गरेका थिए । त्यसपछि प्रहरीले गोली चलाएको थियो ।
जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका डीएसपी रवि रावलका अनुसार झडपमा चार जना आन्दोलनकारी घाइते भएका छन् । प्रहरीसँगको झडपमा यामबहादुर लिम्बू, सगुन लावती, धर्मान पालुङ्वा र मंगल लावती घाइते भएका हुन् । यामबहादुर, धर्मान र सगुन लावतीलाई प्रहरीले चलाएको गोली लागेको थियो । उनीहरुको अवस्था गम्भीर छ । तीन जना घाइतेको जिल्ला अस्पताल ताप्लेजुङमा उपचार सम्भव नभएपछि थप उपचारका लागि नोवेल मेडिकल कलेज विराटनगरमा पठाइएको डिएसपी रावलले बताए । मंगल लावतीको अवस्था सामान्य छ ।
सशस्त्र प्रहरी नायब उपरीक्षक नरेश महर्जनका अनुसार आन्दोलनकारीले प्रहरीलाई ढुङ्गा हानेपछि स्थिति तनाबपूर्ण बनेको थियो । प्रहरीले आन्दोलनकारीबाट तीन खुकुरी, गुलेली र अन्य सामान बरामद गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।