काठमाडौँ – नेपाल काठमाडौँमा जारी यू–१९ साफ च्याम्पियनसिपको सेमिफाइनल प्रवेश गरेको छ । सोमबार त्रिपरेश्वरस्थित दशरथ रंगशालामा माल्दिभ्सलाई ४–१ले हराउँदै नेपालले सेमिफाइनलको यात्रा तय गरेको हो ।
नेपालको जितका लागि नेपालले समीर तामाङले २ गोल गरे । पहिलो हाफमा २–० को अग्रता लिँदै बलियो प्रदर्शन गरेको थियो । खेलको १७औँ मिनेटमा प्रशान्त लक्षमले शानदार गोल गर्लै नेपाललाई सुरुवाती अग्रता दिलाए ।
त्यसपछि ३०औँ मिनेटमा समीर तामाङले व्यक्तिगत पहिलो र नेपालका लागि दोस्रो गोल गरे । त्यसलाई निरन्तरता दिँदै दोस्रो हाफलमा नेपालले थप दुई गोल गर्यो । ५८ औँ मिनेटमा माल्दिभ्सले नेपालविरुद्ध पहिलो र एकमात्र गोल गर्यो ।
यता खेलको ८८औँ मिनेटमा निराजन धामीले नेपालका लागि तेस्रो गोल गरे । यस्तै अतिरिक्त समयको छैटौँ मिनेटमा समीर तामाङले गोल गर्दै जित सुनिश्चित गरेका हुन् ।
६ राष्ट्र ससम्मित प्रतियोगिताको समूह ‘ए’मा रहेको नेपालले पहिलो खेल पाकिस्तानसँग १–० गुमाएको थियो । दोस्रो तथा अन्तिम खेलमा आज जित हात पारेसँगै नेपाल समूह उपविजेताका रुपमा सेमिफाइनल पुगेको हो ।
सेमिफाइनलमा नेपालले समूह ‘बी’को विजेतासँग खेल्नेछ । समूह ‘बी’बाट भारत र भुटान एक खेल अगावै समिफाइनल पुगिसकेका छन् । समूह चरणको अन्तिम खेल अन्तर्गत यी दुई टोलीबीच आज हुने खेलको विजेता समूह ‘बी’को विजेता बन्नेछ ।