भक्तपुर- भक्तपुरको मध्यपुर थिमि नगरपालिकाले नगरक्षेत्र भित्र सार्वजनिक यातायात सञ्चालनमा रोक लगाउने निर्णय गरेको छ । कोरोना भाइरस संक्रमितको संख्या बढ्दै गएको र नियन्त्रण तथा रोकथामका लागि यस्तो निर्णय गरिएको नगरपालिकाले जनाएको छ ।
शनिबार साँझ बसेको नगरको विपद् व्यवस्थापन समितिको बैठकले नगर क्षेत्र भित्र सार्वजनिक यातायात संचालन बन्द गर्ने निर्णय गरेको नगरप्रमुख मदनसुन्दर श्रेष्ठले जानकारी दिनुभयो ।श्रेष्ठद्वारा जारी विज्ञप्तिमा अरनिको लोकमार्गको हनुमन्ते पुलदेखि मनोहरा पुलसम्मको हकमा सार्वजनिक यातायात रोक्न, यात्रु चढाउन र ओराल्न नपाइने गरी सार्वजनिक यातायात आवतजावन गर्ने दिइनेछ ।
सो निर्णय साउन ३२ देखि भदौ ९ गतेसम्म लागू गरिने नगरपालिकाले जनाएको छ । त्यसैगरी, नगरक्षेत्र भित्रका सम्पूर्ण व्यवसायहरु समेत बन्द गर्ने निर्णय गरेको छ । अति आवश्यक सामग्रीका पसलहरु–खाद्यन्न पानी, ग्यास र औषधि पसल दिनको ११ देखि १ बजेसम्म खोल्न पाइने नगरपालिकाले जनाएको छ ।