नैनसिंह महर, पूर्व अध्यक्ष नेपाल विद्यार्थी संघ


ADVERTISEMENT


तपाईंले ‘काण्डै काण्ड’ नामक पुस्तिका सार्वजनिक गर्नुभएको छ । के हो यो ‘काण्डै काण्ड’ भनेको ?


ADVERTISEMENT

# # #


वर्तमान कम्युनिस्ट सरकार गठन भएको बेलादेखि नै सरकारले जनताको जनजीविकाको विरुद्ध जुन किसिमका हर्कतहरु गर्‍यो, नेपालको संविधानको बर्खिलापमा जुन किसिमका काम गर्‍यो, त्यसको दर्पणका रुपमा जनतालाई सुसूचित गर्नका लागि र सरकारको कतुर्त पर्दाफास गर्नका लागि हामीले यो प्रयास गरेका थियौँ । आज त्यो सम्पन्न भएको छ । एउटामात्रै होइन, कहिले यातायात काण्ड, कहिले निर्मला हत्याकाण्ड, कहिले गुठी काण्ड, कहिले उपकुलपति काण्ड, बालुवाटार काण्ड, ठेक्कापट्टा काण्डलगायतका काण्डैकाण्डका चाङमा केपी ओली नेतृत्वको सरकारको यात्रा अब धेरै दिन अगाडि बढ्न सक्दैन ।

यो लेख्नुपर्छ भन्ने सोच कसरी आयो ?

विशेषगरी नेपाल विद्यार्थी संघको केन्द्रीय सभापतिबाट राजीनामा दिइसकेपछि जनतासमक्ष जाने, उहाँहरुका केही कुरा उठाउने इच्छा थियो । जनताको लागि काम गर्ने एउटा सक्रिय कार्यकर्ता भएका कारणले पनि जनजीवनमा घटेका घटनाबारे दुःख पनि लाग्थ्यो । कुरा उठाएपनि सानो स्वरमा उठ्ने र सरकार दिनप्रतिदिन गल्ती गर्दै जाने, सरकारले प्रतिपक्षीलाई पनि नटेर्ने, जनतालाई पनि नटेर्ने । त्यसकारण मैँले यसमा जनताको आवाज उठाएको हुँ । जनता कतै नबोलिरहेको अवस्थामा र कतै बोले पनि सुनुवाई नभइरहेको अवस्थामा जनताले उठाएका कुराहरुलाई जनताकैसामू र सरकारले गरेका गल्तीहरु जनताकैसामू प्रस्तुत गरेको मात्रै हुँ । त्यसकारण यसको न्यायाधीश भनेका जनता हुन् । जनताका विरुद्धमा जसरी नेकपाको सरकार अघि बढेको छ, जनताले उठाएका मुद्दाहरु उहाँहरु स्वयम्लाई स्मरण गराउने मैँले प्रयास गरेको हुँ ।

जसरी कम्युनिस्ट सर्वसत्तावादका माध्यमले अधिनायकवादी निरंकुश कम्यूनिज्म नेपाललाई बनाउने जुन प्रयत्न भएको छ र मुलुकलाई कम्युनिस्टिकरण गरेर जनताका स्वतन्त्रताका कुराहरु, मौलिक हकहरुमाथि धावा बोल्ने प्रपञ्च सक्यो भने गरिरहेको अवस्था छ । यसको विरुद्धमा यो पुस्तकले जनमत तयार पार्छ । अतिवाद र सर्वसत्तावादउन्मुख भएको केपी ओली नेतृत्वको सरकारलाई नत्थी लगाएर लोकतन्त्रको राजमार्गमा डर्‍याउँदै जनताको हकहितका विरुद्ध सरकार जानु हुँदैन भन्ने चेतना यसले दिन्छ ।

कसले पढ्ने यो पुस्तक ?

यो सबै जनताले पढ्ने हो । पसलदेखि गोरेटो बाटोमा हिंड्दै गरेको जनताले पनि पढ्छन् । मेराविरुद्धमा सरकार कसरी अगाडि बढेको छ भनेर हेर्ने प्रयत्न गर्छन् । ती सबैसामू पुर्याउनका लागि हामी एउटा व्यवस्थापन गर्दैछौँ ।

तपाईले लेखेको यो पुस्तकले दुई तिहाईको सरकारविरुद्ध जनतालाई उठाउन सक्ला ?

म केही पहिले युरोपको भ्रमणमा गएको थिएँ । जसरी विकसित देशमा राजनीतिले जनतालाई दिएको सेवा भावना छ, जनताकै पक्षमा सामाजिक सुरक्षादेखि लिएर शिक्षा स्वास्थ्यमा राजनीतिले पुर्याएको योगदान छ, त्यो नेपाली राजनीतिसंग छैन । जनताकै सवालमा जनताकै लागि कसरी राजनीतिलाई समेट्ने ? जनहितका पक्षमा कसरी राजनीतिलाई तल्लो तहसम्म पुर्याउने भन्ने मैँले सोचिरहेको नै थिएँ । यसैबीचमा मलाई के लाग्यो भने अहिलेको सरकार त विगतका सरकारकोभन्दा बडो गैरजिम्मेवारपूर्ण र जनताविरुद्ध काम गर्न थालेको कारणले यो जनताका पक्षमा हुन सक्दैन र दुई तिहाईको बैशाखी टेकेर जसरी यसको यात्रा अगाडी बढेको छ, त्यसले निरंकुशतातर्फ सरकारलाई लैजान्छ । त्यसकारण लोकतन्त्रको नत्थी लगाएर सरकारलाई सही मार्गमा हिंडाउने प्रयत्न मात्रै हो यो । विपक्षीले आवाज कम उठायो भन्ने जुन जनताको प्रश्न थियो, त्यसको उत्तर र जनतालाई आभाष भएको जनताको दुःख उनीहरुकै पोल्टामा पुर्‍याइदिँदा जनता अवश्य जागरुक हुन्छन् जस्तो लाग्छ ।

नेविसंघको नेतृत्वबाट अलग्गिसकेपछि र पार्टीमा पनि पदीय जिम्मेवारीमा नरहँदा पनि जुन हिसाबले सक्रियता देखाउनु भएको छ, यसको सन्देश के हुनसक्छ ?

पदीय जिम्मेवारीबाट पनि मैँले काम गर्ने मौका पाएँ । पद बाहिर रहँदा पनि अवसर पाएँ । यसकारण जनताका पक्षमा काम गर्नका लागि, जनताका पक्षमा आवाज उठाउनका लागि, अधिनायकवादका खिलापमा आन्दोलन गर्नका लागि पदीय जिम्मेवारीमा रहीरहनुपर्छ भन्ने छैन । विपी कोइराला सुरुमा पदमा हुनुहुन्नथ्यो । एकैपटक को प्रधानमन्त्री हुन्छ ? को केन्द्रीय सदस्य र पार्टी सभापति हुन्छ ? सुरुवात गर्ने त एक जना नै हो । त्यस कारण पदले मात्रै धेरै काम गर्छ भन्ने मलाई विश्वास छैन । ग्रामिण क्षेत्र तथा तल्लो तहबाटै आएको व्यक्ति भएका कारणले कम गल्ती गर्न पाएँ हुन्थ्यो भन्ने भावनाबाट म प्रेरित छु । त्यसकारण सरकारले गरेका यथार्थ मात्रै प्रस्तुत गरेको हुँ ।

जसरी तपाईले ‘काण्डै काण्ड’ भनेर पुस्तकका रुपमा प्रस्तुत गर्नुभयो, यस्ता काण्ड भविष्यमा नदोहिरिनका लागि के सुझाव छन् ?

सरकार मेरो पनि सरकार हो । तर नेपालको अहिलेको सरकार कम्युनिस्ट कार्यकर्ताको लागि मात्रै सरकार हो कि जस्तो पनि भइरहेको छ । यसले समृद्धिको नारा नेपाली जनतालाई दिएको छ । तर, नेपाली नागरिक भनेको उसका संगठित सदस्यमात्रै पर्छन् जस्तो आभास भइरहेको छ । सरकारले अहिले नागरिकलाई दुईथरी व्यवहार गर्दैछ । त्यसकारण सरकारको आँखामा जनता बराबर हुन्, विधिको शासन सबैका लागि लागू हुन्छ र अवसरको वितरण पनि समान हुनुपर्छ भन्ने हाम्रो भनाई हो । यो बाटोमा सरकार हिंड्नुपर्छ । किनकी सरकार बिग्रियो भने देशको शासन बिग्रिन्छ । शासन बिग्रियो भने जनतामा दुःख आउँछ । हिजो माओवादीको बेला हामीले दुःख पायौँ, फेरि पनि नेपाली जनतालाई दुःख पाउने चाहना छैन ।

सरकारको क्रियाकलापले शासन बिकृत भएर फेरि मान्छे मर्ने, फेरि देश एकसय वर्ष पछाडी धकेलिने अवस्था आयो भने यो राम्रो हुँदैन, जनतालाई स्वीकार्य हुँदैन । त्यो अवस्था नआओस् भन्नका लागि सचेत नागरिकका हैसियतले नै मैँले यो सानो योगदान दिएको हुँ ।