काठमाडौँ– प्रहरी महानिरीक्षक नियुक्तिको बिषयमा नेपाल प्रहरीका नायब महानिरीक्षक नवराज सिलवालले दायर गरेको रिटमाथिको सुनुवाइ आज नसकिएपछि सर्वोच्च अदालतमा हेर्दाहेर्दैमा रहेको छ ।


ADVERTISEMENT


प्रधानन्यायाधीश गोपाल पराजुली, न्यायाधीश ओमप्रकाश मिश्र, केदारप्रसाद चालिसे, शारदाप्रसाद घिमिरे, मीरा खड्का, प्रकाशमानसिंह राउत र पुरुषोत्तम भण्डारीको पूर्ण इजलासमा सुनुवाइ हुँदाहुँदै नसकिएपछि अर्को सुनुवाइ यही साउन २६ गतेका लागि तोकिएको छ ।


ADVERTISEMENT

# # #


निवेदक सिलवालका तर्फबाट वरिष्ठ अधिवक्ता बद्रीबहादुर कार्की, हरिहर दाहाल, बाबुराम कुँवर, अधिवक्ता टीकाराम भट्टराई, हरि फुयाँल र ओमप्रकाश अर्यालले बहस गरेका थिए भने सरकारको तर्फबाट महान्यायाधिवक्ता रमणकुमार श्रेष्ठ, नायव महान्याधिवक्ता दुर्गाबन्दु पोखरेल, किरण पौडेल, सहन्यायाधिवक्ता संजीवराज रेग्मी, लोकराज पराजुली र रेवतीराज त्रिपाठीले बहस गरेका थिए ।

इजलासमा नै प्रहरी महानिरीक्षक प्रकाश अर्याल र प्रहरी नायब महानिरीक्षक जयबहादुर चन्दको चार वर्षको कार्यसम्पादन र मूल्यांकनको विधिविज्ञान जाँच गर्दाको प्रमाण पनि प्रस्तुत गरिएको थियो ।

यसअघि सिलवालको मुद्दा असार २२ गतेबाट आजका लागि तोकिएको थियो । प्रहरी नायब महानिरीक्षक जयबहादुर चन्दलाई प्रहरी महानिरीक्षकमा बढुवा गर्ने सरकारको निर्णयविरुद्ध सिलवालले गत चैत ३० गते रिट निवेदन दिएका थिए । अदालतको उक्त निर्णयलाई कार्यान्वयन नगर्न अदालतले अन्तरिम आदेश दिएको थियो । सो आदेशपछि सरकारले प्रहरी नायब महानिरीक्षक प्रकाश अर्याललाई प्रहरी महानिरीक्षक बनाउने निर्णय गरेको थियो ।

सिलवालले वरियता क्रममा आफू एक नम्बरमा रहेको र चार वर्षको कार्य सम्पादन एंव मूल्यांकनका आधारमा आफू अर्यालभन्दा अगाडि रहेको जिकिर गर्दै पुनःअदालतमा निवेदन दिएका थिए । त्यसमा अदालतले सरकारका नाममा कारण देखाऊ आदेश जारी गरेको थियो । रासस