गोविन्द ढकाल, कार्यकारी अधिकृत (सीइओ), गरिमा विकास बैँक


ADVERTISEMENT


पछिल्लो समय बैँकिङ क्षेत्रको गतिविधि कसरी अगाडि बढिरहेको छ ?


ADVERTISEMENT

# # #


व्यवसायी र बैँकरबीचको तिक्तता विगतदेखि चलिरहेको छ । व्यवसायीले बैंकरलाई दोष दिने र बैँकरले व्यावसायीलाई दोष दिने भइरहेको थियो । यी एउटै सिक्काका दुई वाटा हुन र संगै जानुपर्छ भन्ने मान्यतामा म छु । विकास बैँकका सम्पूर्ण साथीहरुको एउटा बैठकमा हामीले कुरा पनि गरेका थियौँ । जिल्ला भ्रमणका क्रममा त्यहाँका उद्योग व्यवसायीसंग छलफल गर्ने र उहाँहरुका बैँकप्रतिका अपेक्षा र गुनासा के हुन् ? भन्ने बुझेर हाम्रा कुराहरु पनि स्पष्टसंग भन्यौँ भने त्यो समस्या रहँदैन भन्ने सिकेको अनुभव भएको छ । जस्तो अस्ती म बेनी गएको थिएँ । त्यहाँका उद्योग वाणिज्य संघका साथीहरु र उद्यमी व्यवसायीसंग छलफल भएको थियो । अब हामीहरु बैँक र व्यवसायी एक अर्काका परिपूरक हुन् भन्ने भावनाको विकास गराउनका लागि लाग्नुपर्छ ।

गरिमा विकास बैँकको अबको योजना के छ ?

हाम्रो गत वर्षको दौडधूप शाखा विस्तारमा थियो । अब लगभग १ सय वटा शाखा पुग्न लागिसकेको छ । यसलाई अब कम गर्दै अन्य बैँकको उपस्थिति नरहेका वा कम रहेका स्थानमा जाने योजना छ । अहिले हामी व्यवसायलाई विस्तार गर्नुपर्छ भन्ने अभियानमा छौँ । व्यवसायलाई विस्तार गर्ने क्रममा जहाँ बैंकिङ शिक्षा र साक्षरता छैन, त्यस्तो ठाउँमा पनि गएर बैँकको कारोबार गर्नुपर्छ भनेर एउटा सन्देश दिँदै आफ्नो कारोबार सुरु गर्ने योजना रहेको छ । अर्को आइटीको क्षेत्र, बैँकको सुरक्षाको कुरा जस्तो भर्खरै भएको एटीएम ह्याकिङ प्रकरण हामीसामू नै छ । यसलाई पनि मनन गर्दै सम्पूर्ण वित्तीय संस्थाहरुमा यो कुरा चलाइरहेका छौँ । आइटीमा लगानी गरेर यसलाई अझ बजबुद बनाउनुपर्छ भनेर हामी लागी परेका छौँ । अधिकांश ठाउँमा बैँक तथा वित्तीय संस्था पुगसकेका छन् । तर, उनीहरुको सेवा राम्रो छैन । गरिमा विकास बैँकका कर्मचारीहरुलाई एउटा संस्थाका लागि ग्राहक के हुन् भन्ने प्रशिक्षण दिएर मात्रै फिल्डमा पठाउने रणनीति लिएका छौँ ।

भर्खरै एटीएम ह्याक प्रकरण भयो । यसले बैँकलाई कत्तिको पाठ पढाएको छ ? यहाँहरुले त्यसका लागि के योजना बनाउँदै हुनुहुन्छ ?

त्यो कसरी ह्याक भयो भन्ने कुरा एउटा अनुसन्धानकै विषय भएकाले विस्तारै थाहा पाइँदै जाला । यस्ता घटनाहरु विगतमा पनि प्रशस्तै भएका छन् । स्वीच ह्याक भएर ४३–४४ करोड रुपैया ह्याक भएको छ भने एउटा बैँकले ५–६ करोड रुपैयाँ प्राप्त गर्न नसकेको अवस्था छ । जति नयाँ नयाँ प्रविधि आउँछ, त्यसलाई प्रयोग गर्नुपर्ने हाम्रो बाध्यता छ । किनभने डिजिटाइजेसन भनेर हामी हिँडिरहेका छौँ । हामी प्रविधिको प्रयोग संगै चुनौतिहरु पनि ल्याइरहेका छौँ । तर, यसको अर्थ नयाँ प्रविधि प्रयोग नगर्ने भन्ने होइन । नबिल बैँकको एउटा कर्मचारीको सचेतताले गर्दा हामी अस्ति ठूलो क्षती हुनबाट जोगिएको अवस्था छ । यसले हाम्रा कमी कमजोरी कहाँ छन् पत्ता लगाएर आफ्ना प्रविधि मजबुद पार्नुपर्ने अवस्था देखिएको छ । अर्को जसको हामीले स्वीच प्रयोग गरेका छौँ, उहाँहरु अझ बढी किनभने डिभाइडर त उहाँहरु हो । के उपाय थपेर मजबुत बनाउन सकिन्छ भन्ने कुरामा अगाडि बढ्नुपर्ने जरुरी देखिएको छ ।

दशैँको विदामा यस्तो परेको भए अर्बौँ पैसा हाम्रो बाहिर जान्थ्यो । त्यसकारण यसबाट पाठ सिकेर आफ्ना उपकरण र प्रणाली मजबुद बनाउनै पर्छ । यस्तो हुने कसरी बढी सम्भावना हुन्छ भने जसले यस्ता सामान सप्लाई गरिरहेको हुन्छ वा सेवा उपलब्ध गराइरहेको हुन्छ । त्यहाँका कर्मचारी बाहिर निस्केर पनि यस्ता घटना हुनसक्छन् । त्यसकारण प्रत्येक बैँकले आइटीमा काम गर्ने मान्छे, सप्लायर्सले आइटीमा काम गर्ने मान्छेको के.वाइ.सी. पूर्ण रुपमा लिनुपर्ने जरुरी देखिएको छ । जसले भोलि केही भइहाल्यो भने अनुसन्धान गर्न सजिलो हुन्छ ।

देशमा अहिले विकास र समृद्धिको एजेण्डा अघि बढेको छ । यो एजेण्डा पूरा गर्नका लागि बैँक तथा वित्तीय संस्थाहरुको भूमिका के हुन्छ ?

कुनैपनि नीति ल्याउन जति सजिलो छ । त्यसको कार्यान्वयन गर्न पनि उत्तिकै गाह्रो छ । जति नीति ल्याएपनि हामी त्यसको कार्यान्वनमा कमजोर भएको अवस्था छ । कुनैपनि ठाउँमा आर्थिक क्षेत्रहरुले राम्रोसंग काम गर्न सकेनन् भने त्यहाँ विकास र समृद्धि सम्भव छैन । पर्यटन, कृषि, उद्योग वा कुनैपनि क्षेत्रको विकास गर्नका लागि त्यहाँ बैँक नभएर काम छैन । यो हामीले बुझ्न जरुरी छ । व्यवसायी र बैँकरबीचको विवाद देखिएको छ । यसले पनि असर गर्छ । यो कुरा समाधान गर्न पनि जरुरी छ । अर्को नेपाल सरकार, राष्ट्र बैँक वा बैँक तथा वित्तीय संस्था कसले गर्ने हो, नेपालमा केही गर्न सकिन्नँ भन्ने भावना मौलाउँदै गएको अवस्थामा युवाहरुलाई प्रशिक्षण दिनुपर्यो । मुलुकमै केही गर्नुपर्छ भन्ने सन्देश हामीले दिन सकेनौँ भने विकास र समृद्धिको नारा फेरि कागजमै सीमित हुन्छ ।

बैँकहरुले १५ लाख रुपैयाँसम्म बिनाधितो ऋण दिने भन्ने कुरा ल्याएको छ । तर, कतिपय बैँकले त्यो कार्यान्वयन नगरेको अवस्था पनि छ । त्यसमा बैँकको पनि आफ्नै समस्या छ । बैँक पनि सर्वसाधारण कै पैसाबाट सञ्चालन हुने हो । ग्राहकको पैसा सुरक्षित नहुने क्षेत्रमा त बैँकले लगानी गर्दैन । यो कुरा नेपालका सरकारी बैँकले त नगरेको अवस्था छ भने निजी बैँक अगाडी आउने त कुरै भएन । अर्को, मान्छेलाई करको दायरामा ल्याउनुपर्छ , त्यसमा दुई मत नै छैन । तर, एक सय किलोमिटर प्रतिघण्टाको गतिमा रहेको गाडीलाई तपाईले झ्याप्पै ब्रेक हान्नुभयो भने पल्टिन्छ । अहिले स्थिति त्यही देखिएको छ । यस्ता कार्यक्रमहरु ल्याउँदै अलमल हुन्छ ।

 बिनाधितो ऋणको  कुरा किन प्रभावकारी कार्यान्वयन हुन सकेन ?

हिजोका दिनमा विभिन्न सरकारका पालामा ऋण मिनाहा भएको इतिहास हामीसंग छ । त्यो हुन्छ भनेर मान्छेले पैसा लिने तर नतिर्ने प्रवृत्तिको जोखिम भएकाले नै बैँकहरुहरु पछि हटेका हुन् । सरकारी व्यवस्थाबाट लिएको पैसा पछि मिनाहा हुन्छ भन्ने भ्रम मान्छेमा छ । पब्लिकले पनि मैँले पैसा लिएपछि तिनुपर्छ भन्ने शिक्षाको कमी छ । त्यसले गर्दा बैँक डराएका छन् । आफ्नो लगानी डुब्छ भन्ने थाहा पाएपछि मान्छेले कसरी लगानी गर्छ ? जनताको पैसा सुरक्षित भएन भने त्यो भोलि बैँकले नै तिर्नुपर्छ । यी हुराहरुलाई हामीले चिर्न जरुरी छ । तबमात्रै यो कार्यान्वयन हुन्छ ।

अन्त्यमा, गरिमा विकास बैँकसंग जोडिनका लागि आमजनतालाई के भन्नुहुन्छ ?

नेपालमा जति पनि विकास बैँकहरु छन्, सबैले राम्रो गरेका छन् । नेपाल सरकारले यो नीति ल्याउनुभन्दा पहिले नै गरिमाले तीन लाख रुपैयाँ बिनाधितो लगानी गरेका छौँ । त्यस्तो हामीसंग २ अर्ब रुपैयाँ छ । कसैले पनि ५ लाख, ३ लाख रुपैयाँ लगानी गर्छु, भन्यो भने गरिमामा आउनुहोस् तपाईले पैसा पाउनु हुन्छ । हामी दिइराखेका छौँ । यो हामीले अधिकांश ग्रामिण क्षेत्रमा गरिरहेका छौँ । अर्को कृषि, साना उद्योगहरुमा न्यूनतम दरमा लगानी दिइरहेका छौँ । गरिमाको सेवा त हाम्रा ग्राहकलाई नै थाहा छ ।