काठमाडौँ – वर्षामा भत्किएका राजमार्गका खाल्डाखुल्डी असोज १० गतेसम्म मर्मत गरिसकिने भएको छ । असोज ५ गतेबाट दशैँ, तिहार र छठ पर्वका लागि बसको अग्रिम टिकट बुकिङ खुलाएका यातायात व्यवसायीले सडक मर्मत गरिदिन आग्रह गरेपछि सडक विभागले तत्काल मर्मत गर्न लागेको हो ।


ADVERTISEMENT


विभागका प्रवक्ता शिवहरि सापकोटाले भने “वर्षाले भत्किएका राजमार्गको मर्मत तथा खाल्डाखुल्डी पुर्ने काम सुरु भएको छ, असोज १० गतेभित्रै सम्पन्न गर्ने गरी काम थालिएको छ ।” यातायात व्यवसायीले सडकको अवस्था कमजोर रहेकाले तत्कालका लागि पहिरो हटाउने र खाल्डाखुल्डी पुर्ने काम गर्न माग गरेका हुन् ।


ADVERTISEMENT

# # #


नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका महासचिव सरोज सिटौलाले भने, “दशैँमा सवारी साधनको चाप हुन्छ, तोकिएको समयमा गन्तव्यमा पुग्नैपर्ने हुन्छ । त्यस्ता सडक सरकारले छिटो मर्मत गरोस् ।”

दशैँका अवसरमा ट्राफिक व्यवस्थापन चुस्त राख्नुपर्ने पनि व्यवसायीको माग छ । महासङ्घका अनुसार राजमार्गहरूमा ट्राफिक जाम बढी हुने गरेको छ । काठमाडौँको नागढुङ्गामै घण्टौँ जाममा पर्नुपर्ने समस्याको समाधान हुनुपर्छ । जाँचका नाममा सवारी साधन र यात्रुलाई अनावश्यक दुःख दिने काम नगर्न महासङ्घले आग्रह गरेको छ । नागढुङ्गा चेकपोस्टमै घण्टौँ जाममा बस्नुपर्ने बाध्यता रहेको महासचिव सिटौलाको भनाइ छ ।

सरकारले सात वर्षदेखि वैज्ञानिक भाडा समायोजन नगरेकाले व्यवसायीहरू मर्कामा परेको महासङ्घले जनाएको छ । सिटौलाको भनाइ छ “विगत सात वर्षदेखि वैज्ञानिक भाडा समायोजन भएको छैन तर हामी दशैँको अवसरमा यात्रुको समस्यालाई ध्यानमा राखेर बुकिङ खुला गर्दैछौँ । यो सरकारले बुझ्नुपर्ने कुरा हो ।”

यातायात व्यवस्था विभागले भने तत्काल भाडा वृद्धि नहुने जनाएको छ । विभागले गत असार १ देखि भाडा समायोजन गरे पनि तत्काल निर्णय फिर्ता लिएको थियो । गत असोजमा सरकारले भाडा वद्धि गरेको थियो ।

लामो तथा मध्यम दूरीका लागि अग्रिम टिकट बुकिङ खुल्ने महासङ्घले जनाएको छ । महासङ्घका अनुसार काठमाडौँको नयाँ बसपार्क, सुन्धारा, पुरानो बसपार्क, कलङ्की, गौशाला, कोटेश्वरलगायतका स्थानबाट अग्रिम टिकट बुकिङ गर्न सकिने छ । भीडमा ठगिने तथा समस्यामा पर्न सकिने भएकाले तोकिएकै काउन्टरबाटै टिकट लिन महासङ्घले अनुरोध गरेको छ । कसैले सस्तो टिकट मिलाइदिन्छु भन्दैमा प्रलोभनमा नपर्न पनि सिटौलाले अनुरोध गरे। साथै शङ्कास्पद व्यक्तिलाई बसमा प्रवेश नदिइने उनको भनाइ छ । क्षमताभन्दा बढी यात्रु बसमा नराखिने महासङ्घले जनाएको छ । बिहान ५ बजेदेखि साँझ ५ बजेसम्म अग्रिम टिकट बिक्री गरिने भएको छ । टिकट अनलाइनबाट पनि बुक गर्नसकिने छ । केही निजी कम्पनीले अनलाइनबाटै टिकट बुक गरिरहेको सिटौलाको भनाइ छ ।

बससेवा डटकमले अनलाइनबाट टिकट काट्न सक्ने व्यवस्था गरेको छ । बससेवा डटकम नेपालले नेपालभरका एसी, डिलक्स, हाइसलगायतका बस टिकट उपलब्ध गराउनुका साथै बस रिजर्भसमेत अनलाइनबाटै गर्दै आएको छ । ईसेवा एकाउन्ट भएका ग्राहकले ईसेवामार्फत र एकाउन्ट नभएको अवस्थामा नजिकको ईसेवा, जोन, पोइन्ट, अनलाइन पेमेन्ट तथा अन्य साइबर कम्युनिकेसनबाट टिकट लिन सकिनेछ ।