चितवन । पत्रकार शालिकराम पुडासैनीको आत्महत्या प्रकरणमा रवि लामिछाने लगायतलाई पक्राउ गरिएपछि भइरहेको प्रदर्शनलाई निरुत्साहित पार्ने चितवनका प्रमुख राजनीतिक दलले सर्बदलीय निर्णय गरेका छन् ।


ADVERTISEMENT


पुडासैनी आत्महत्या प्रकरणमा भइरहेको अनुसन्धानलाई असर नपार्न र प्रशासनलाई सहयोग गर्नसमेत जिल्लाका प्रमुख दलका नेताहरुले आम जनसमुदायमा अपील समेत गरेका छन् ।


ADVERTISEMENT

# # #


साउन २० गते भरतपुरको कंगारु होटलमा मृत फेला परेका पत्रकार शालिराम पुडासैनीको आत्महत्या प्रकरणमा प्रहरीले साउन ३० गते न्युज २४ का सञ्चारकर्मी रवि लामिछाने, युवराज कँडेल र नर्स अस्मिता कार्कीलाई पक्राउ गरेर अनुसन्धान गरिरहेको छ ।

रवि लामिछाने पक्राउ परेपछि उनका समर्थकहरुले रिहाइको माग गर्दै साउन ३१ देखि भरतपुरमा दिनहुँजसो प्रदर्शन गरिरहेका छन् । प्रदर्शनका क्रममा तोडफोडका घटनासमेत हुन थालेको भन्दै आइतबार चितवनमा सर्वपक्षीय बैठक बोलाइएको हो ।

प्रमुख जिल्ला अधिकारी जनकराज पन्तको अध्यक्षतामा बसेको सर्वपक्षीय बैठकले दैनिक जीवन र न्याय सम्पादनमा असर पुग्ने काम कहीँकतैबाट हुन नदिनेतर्फ सचेत रहन अपील गरेको छ ।

बैठकमा सत्तारुढ नेकपाका जिल्ला अध्यक्ष यमबहादुर परियार र प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सचिव उत्तम जोशीसमेत सहभागी थिए । बैठकमा चितवनका प्रहरी प्रमुख एसपी दानबहादुर मल्ल पनि सहभागी थिए ।

जिल्ला प्रशासन कार्यालयमा आइतबार साँझ बसेको सर्वपक्षीय बैठकले पक्ष र विपक्षमा हुने प्रदर्शनलाई निरुत्साहित गर्ने निर्णय गरेको छ । बैठकपछि जारी अपीलमा भनिएको छ ‘जनताको दैनिक जीवनमा असर पुग्ने गरी एवं शान्ति सुरक्षा र स्वच्छ, निश्पक्ष न्याय सम्पादनमा खलल पार्ने गरी हुने प्रदर्शन, तोडफोड लगायतका कार्यलाई निरुत्साहित गर्ने ।’

अदालतबाट म्याद लिई हिरासतमा रहेका व्यक्तिका सन्दर्भमा स्वच्छ र निश्पक्ष छानविन गरी न्याय निरुपण कार्यमा सहयोग पुर्याउन प्रमुद दलका जिल्ला नेताहरुले अपील गरेका छन् ।

हिरासतमा रहेका पत्रकार रवि लामिछानेसहित ३ जनाको सम्बन्धमा स्वच्छ र निश्पक्ष न्याय सम्पादनका लागि पक्ष र विपक्षमा नलाग्नसमेत सर्वपक्षीय बैठकले अपील गरेको छ ।