काठमाडौँ – नव नियुक्त पर्यटन मन्त्री योगेश भट्टराईले पद तथा गोपनियताको शपथ लिएका छन् । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का सांसद समेत रहेका भट्टराईले राष्ट्रपति कार्यालय शितलनिवासमा राष्ट्रपति विद्या देवी भण्डारीबाट शपथ लिएका हुन् ।


ADVERTISEMENT


प्रधानमन्त्री केपी शर्माओलीले भट्टराईलाई आजै संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्रीका रुपमा नियुक्त गरेका थिए । गत फागुनमा तत्कालीन संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री रवीन्द्र अधिकारीको हेलिकोप्टर दुर्घटनामा मृत्यु भएपछि उक्त मन्त्रालय मन्त्रीविहीन रहेको थियो ।


ADVERTISEMENT

# # #


अधिकारीको मृत्युपछि मन्त्रालयको जिम्मेवारी स्वयम् प्रधानमन्त्रीले नै सम्हाल्दै आएका थिए ।

भट्टराई ताप्लेजुङबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित सांसद हुन् । प्रधानमन्त्री ओलीले निर्वाचन प्रचारप्रसारका क्रममा ताप्लेजुङ पुगेर भट्टराईलाई लाई जिताए मन्त्री बनाउने बताएका थिए । तर, नेकपाको बहुमतसंगै मन्त्रीपरिषद् गठन गर्दा भने भट्टराई पहिलो रोजाइमा परेका थिएनन् ।

सरकारको चौतर्फी आलोचना बढिरहँदा भट्टराईले भने सकारात्मक टिप्पणी गर्दै आएका थिए ।

वि.सं २०२३ सालमा ताप्लेजुङको साँघुमा जन्मिएका भट्टराईले समाजशास्त्र र मानवशास्त्र विषयमा स्नातकोत्तर उत्तीर्ण गरेका छन् ।
स्कुल जीवनबाटै राजनीति सुरु गरेका उनी २०३७ सालदेखि अनेरास्ववियुको राजनीतिमा सक्रिय भए । भट्टराईले बिद्यालयको प्रारम्भिक कमिटी हुँदै क्याम्पस कमिटीमा समेत बसेर काम गरेका थिए ।

स्वतन्त्र विद्यार्थी युनियनको चुनावमा समेत उनले पटक पटक भाग लिए । २०५१ सालमा उनी अनेरास्ववियूको अध्यक्ष भएका थिए । त्यसपछि नेकपा एमालेको जिल्ला कमिटी, अञ्चल कमिटी हुँदै केन्द्रीय सदस्यसम्म पुगेका थिए ।