काठमाडौँ – प्रेमिका हत्या गरी १२ वर्षयता फरार एक युवालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा काभ्रेपलाञ्चोकको रोशी गाउँपालिका वडा नम्बर ३ का ३७ वर्षीय राजेश लामा छन्।ललितपुर उपमहानगरपालिका–२ सानेपा डेरा बस्दै आएका लामालाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले पक्राउ गरी आइतबार सार्वजनिक गरेको हो।


ADVERTISEMENT


लामाले मकवानपुर फापरबारी घर भई ललितपुर इमाडोल बस्दै आएकी सुनिता लामाको २०६४ साल पुस २७ गते हत्या गरेको ब्युरोले जनाएको छ। ब्युरोका अनुसार सिन्धुरपोते गर्न काभ्रे जाने तयारी भइरहेका बेला सुनिता बेपत्ता भएकी थिइन्। बिहे हुने टुंगो लागिसकेपछि सुनिता बेपत्ता हुँदा रिसाएका राजेशले लामो समय पिछा गरी सुनिताको हत्या गरेको ब्युरोले जनाएको छ।


ADVERTISEMENT

# # #


प्रहरीका अनुसार २०६४ मंसिर दोस्रो सातादेखि सुनिता बेपत्ता भएकी थिइन्। बिहे गर्ने भनिरहेका बेला सुनिता हराएपछि उनीहरुबीच मनमुटाव सुरू भएको थियो। ‘सुनिता सम्पर्कविहीन भएपछि बिहे रद्द भएको थियो र त्यसकारण गाउँमा आफ्नो बेइज्जती भएको महसुस गरी राजेशले हत्या योजना बनाएको अनुसन्धानमा खुलेको छ,’ ब्युरो प्रमुख निरजबहादुर शाहीले पत्रकार सम्मेलनमा भने।
शाहीका अनुसार बिहे रद्द भएपछि राजेशले नियमित रुपमा सुनिताको कोठामा निगरानी बढाए। र, अन्तमा सुनिता भेटिएपछि हत्या गरे।

२०६४ पुस २७ गते साबिक इमाडोल गाविस ५ को सुवेदी गाउँस्थित सुनिताको कोठामै गएर राजेशले हत्या गरेको ब्युरोले जनाएको छ। राजेशले सुनिताको शरीरको विभिन्न भाग तथा कोखामा छुरा प्रहार गरेका थिए। छुरा प्रहारबाट सुनिताको घटनास्थलमै मृत्यु भएको थियो।

ब्युरो प्रमुख शाहीका अनुसार घटनापछि राजेश ‘राजु लामा’को परिचय बनाएर हेटौंडाको एउटा होटलमा सात महिना काम गरे। त्यसपछि पुनस् काठमाडौं आएर लुकिछिपी विभिन्न होटलमा खाना पकाउने काम गरे। उनी हाल घरमा रङ लगाउने काम गरिरहेका थिए।

लामालाई आइतबार नै ललितपुर जिल्ला अदालतबाट कर्तव्य ज्यान मुद्दामा सात दिनको म्याद लिई अनुसन्धान थालिएको छ। उनलाई ललितपुर परिसरको हिरासतमा राखेर अनुसन्धान थालिएको ब्युरोले जनायो ।