काठमाडौँ – इङ्ल्याण्डमा जारी क्रिकेट विश्वकपको समूह चरणका खेल सम्पन्न भइसकेका छन् । जसबाट भारत, अष्ट्रेलिया, इङ्ल्याण्ड र न्यूजिल्याण्ड सेमिफाइनल पुगेका छन् ।


ADVERTISEMENT


जारी विश्वकपको पहिलो सेमिफाइनल भारत र न्यूजिल्याण्डबीच हुँदैछ । न्यूजिल्याण्ड लगातार दोस्रोपटक विश्वकपको फाइनल पुग्ने लक्ष्यका साथ मैदान उत्रिँदैछ । न्यूजिल्याण्ड २०१५को विश्वकपको फाइनलमा अष्ट्रेलियासंग पराजित भएको थियो । यस्तै भारत ८ वर्षपछि फइनल पुगेर ट्रफी घर भित्र्याउने दाउमा रहेको छ ।


ADVERTISEMENT

# # #


विश्वकपमा भारत र न्यूजिल्याण्ड पहिलो पटक सेमिफाइनलमा भिड्दैछन् । तरपनि यी दुई टिमका कप्तान भने यसअघि पनि भिडिसकेका छन् । भारतीय टिमका कप्तान विराट कोहली र न्यूजिल्याण्डका कप्तान केन विलियम्सन २००८ अर्थात आजभन्दा ११ वर्षअघि विश्वकपको सेमिफाइनमा नै भिडिसकेका छन् ।

तर, त्यो यू-१९ विश्वकप थियो । सन् २००८ मा मलेसियामा भएको यू-१९ विश्वकप क्रिकेटमा उनीहरु सेमिफाइनमा एकअर्काविरुद्ध मैदान उत्रिएका थिए । जुन खेलमा भारतले न्यूजिल्याण्डलाई डीएल मेथडमा ३ विकेटले पराजित गरेको थियो ।

जुन खेलमा भारतका कप्तान विराट कोहली म्यान अफदि म्याच चुनिएका थिए । उनले ५३ रन बनाएका थिए भने २ विकेट समेत लिएका थिए । जसमा एउटा विकेट न्यूजिल्याण्डका कप्तान केन विलियम्सकै थियो । विलियम्सनले उक्त खेलमा ३७ रन बनाएका थिए । पछि भारतले नै फाइनलमा दक्षिण अफ्रिकालाई हराउँदै उक्त विश्वकपको ट्रफी जितेको थियो ।

उक्त सेमिफाइनलका कप्तानसहित पाँचजना खेलाडी मंगलबार हुने विश्वकप क्रिकेटको सेमिफाइनलमा मैदानमा उत्रिनेछन् । त्यतीबेला भारतका लागि खेलेका रवीन्द्र जडेजा र न्यूजिल्याण्डका लागि खेलेका टिम साउथी, ट्रेन्ट बोल्ट अहिले पनि आ–आफ्नै सिनियर टिममा रहेका छन् ।