काठमाडौँ – मलेसियामा जारी यू-१९ एसिया कप छनोट क्रिकेटको पूर्वी क्षेत्र प्रतियोगितामा नेपालले दोस्रो जित हात पारेको छ । शुक्रबार भएको खेलमा नेपालले सिगापुरविरुद्ध २१७ रनको शानदार जित हासिल गरेको हो ।


ADVERTISEMENT


मलेसियाको क्वालालम्पुरस्थित किनरारा ओभल मैदानमा टस जितेर ब्याटिङ थालेको नेपालले निर्धारित ५० ओभरमा ४ विकेट गुमाउँदै ३२६ रन बनायो । रित गौतमको शतक र खडक बोहरा तथा कुशल मल्लको अर्धशतकको मदतमा नेपालले सिंगापुरलाई विशाल चुनौति दियो ।


ADVERTISEMENT

# # #


३२७ रनको चुनौति पच्छ्याउँदै मैदान उत्रिएको सिंगापुर ३९.१ ओभरमा १०९ रन बनाउँदा अल आउट भयो । उसका लागि हरि कुक्रेजाले सर्वाधिक ३० रन बनाए । ६३ बलमा उनले २ चौका प्रहार गरे । यस्तै कान्नुसमी सथिसले २४ रन जोडे । यस्तै चण्डिरामुरली श्रीवेदले २३ रन जोड्दा अन्यले दोहोरो अंक छुन सकेनन् ।

नेपालका लागि कुशल मल्लले सर्वाधिक ४ विकेट चट्काए । उनले ९ ओभरमा एक मेडेन राख्दै १४ रन खर्चिए । यस्तै तिलक राज भण्डारीले २ तथा सागर ढकाल र राशिद खानका नाममा समान १ १ विकेट रह्यो । दुईजनालाई भीम सार्कीले रनआउट पारे ।

यसअघि नेपाललाई विशाल योगफल तर्फ लैजान रित गौतमले शतक हाने । रितले १३७ बलमा नटआउट ११५ रन हाने । त्यसक्रममा उनले १० चौका र एक छक्का प्रहार गरे ।

उनले पहिलो विकेटका लागि पवन सर्राफसंग ९२ रनको साझेदारी गरेका थिए । पवनले ४१ बलमा १० चौकाको मदतमा ४५ रन बनाए । यस्तै तेस्रो नम्बरमा आएका खडक बोहराले शानदार ब्याटिङ गरे । रित गौतमसंग मिलेर १३१ रनको साझेदारी गरेका उनले दोस्रो विकेटका रुपमा आउट हुनुअघि ९० बलमा ९० रन बनाए । शतक बनाउनबाट १० रनले चुकेका खडकले त्यसक्रममा १२ वटा चौका प्रहार गरे ।

विशाल विक्रम केसीले १ र कप्तान रोहित पौडेल ७ रनमा आउट भए । छैटौँ नम्बरमा आएका कुशल मल्लले विष्फोटक ब्याटिङ गरे । उनले मात्र २३ बलमा नटआउट अर्धशतक (५१ रन) बनाए । ५ छक्का र ४ चौका प्रहार गर्दै उनले नेपाललाई विशाल योगफलसम्म पुर्याए ।

रित गौतमसंग मिलेर मात्र ४२ बलमा नटआउट ८२ रनको साझेदारी गरेका कुशलले अन्तिम ओभरमा मात्रै २२ रन जोडेका थिए ।

सिंगापुरका लागि विनित चितेश मेहता र प्रणव क्रिशनले समान २–२ विकेट लिए ।

सिंगापुरविरुद्धको जितसंगै नेपाल समूह ‘ए’को विजेता भएको छ । नेपालले अब सेमिाफाइनलमा समूह ‘बी’ उपविजेतासंग सोमबार खेल्नेछ ।

प्रतियोगिताको उपाधी जित्ने टोली आगामी अगस्टमा श्रीलंकामा हुने यू-१९ एशिया कपका लागि छनोट हुनेछ ।