काठमाडौँ – ३३ किलो सुन अवैध निकासी तथा सनम शाक्य हत्या प्रकरणमा आदेश गर्ने उच्च अदालत विराटनगरका न्यायाधीश उमेश सिंह सेवाबाट बर्खास्त भएका छन् । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको अध्यक्षतामा सोमबार साँझ बसेको न्याय परिषद बैठकले बदनियतपूर्ण आदेश गरेको अभियोगमा सिंहलाई सेवाबाट बर्खास्त गरेको हो । छानबिनमा रहेका आठमध्ये सिंहमात्र सेवाबाट बर्खास्तमा परेका हुन् ।


ADVERTISEMENT


यही मुद्दामा सुनुवाइ गरेका विराटनगर उच्च अदालतकै न्यायाधीश साधुराम सापकोटा र थीरबहादुर कार्कीलाई भने २ वर्ष बढुवा रोक्का गरेको छ। उनीहरूलाई गम्भीर रूपमा सचेत गराउने पनि न्यायपरिषदले निर्णय गरेको छ।


ADVERTISEMENT

# # #


न्याय परिषदका प्रवक्ता मानबहादुर कार्कीले सिंहलाई सेवाबाट हटाउने र अन्य दुई न्यायाधीशको बढुवा रोक्काको निर्णय भएको बताए । कार्कीले भने ‘छानबिनमा रहनुभएका तीनमध्ये न्यायाधीश उमेश सिंहलाई सेवाबाट हटाउने निर्णय भयो । अन्य दुई जनालाई सचेत गराउँदै दुई वर्षका लागि बढुवा रोक्काको निर्णय भएको छ ।’

परिषदले ६ महिना लगाएर गरेको अनुसन्धानपछि कारबाहीको निर्णय गरेको कार्कीले बताए।

तस्करीको ३३ किलो सुन र सनम शाक्य हत्या प्रकरणका अभियुक्तहरूले थुनाबाहिर बसेर मुद्दाको पुर्पक्ष होस् भन्दै दिएको निवेदनमाथि पेशी तोक्ने मुख्य न्यायाधीश कुलरत्न भूर्तेलसहित ८ जना न्यायाधीशमाथी परिषदले ६ महिनादेखि छानविन गरेको थियो । उनीहरू सबैलाई परिषदमै काज सरूवा गरेर छानविन गरिएको थियो।