काठमाडौं – राष्ट्रिय जनता पार्टी नेपालका महासचिव एवम् प्रदेशसभा सदस्य मनिष सुमनले वर्तमान सरकार अरु कसैको कारणले नभई आफैं ढल्नेबारे आफूहरुसँग सूचना रहेको दाबी गरेका छन् ।


ADVERTISEMENT


मंगलबार रिपोर्टस् नेपालमा बोल्दै नेता सुमनले नेकपाभित्र अहिले ठूलो समस्या रहेकोले सरकार आफै ढल्ने जिकिर गरे । ‘ओली सरकारले देश तथा मधेश कसैको पनि हित गर्दैन् भन्ने राजपाको ठम्याई छ । हामी यो सरकार ढाल्ने ल्याकत राख्दैनौं । र, ल्याकत छैन पनि ।’ उनले भने, ‘बरु, यो सरकार आफैं ढल्ने मसँग सुचना छ ।’


ADVERTISEMENT

# # #


पार्टीको अध्यक्ष मण्डलको बैठक बसिरहेको सुनाउँदै सुमनले सरकारको पछिल्लो भूमिकाप्रति आफूहरु चिन्तित रहेको सुनाए । पार्टीका केन्द्रिय सचिव तथा निलम्बित सांसद रेशम चौधरीप्रति कारागारमा पनि अमानवीय व्यवहार भएको र सुत्दापनि हतियारधारी सुरक्षाकर्मी राखिएको बताउँदै त्यसप्रति घोर आपत्ति जनाए ।

‘उहाँ अहिले विरामी हुनुहुन्छ । उपचार गराईरहनुभएको छ । यसरी हतियार बन्द कोठामा राख्दा औषधीले पनि काम गर्दैन् । उहाँमाथि मनोवैज्ञानिक त्रास फैलाईएको छ’ उनले भने ।

फरक प्रसँगमा उनले राजपा र समाजवादी पार्टीबीच एकताको लागि प्रशस्त संभावना रहेको सुनाउँदै त्यसको लागि उपेन्द्र यादवले तत्काल सरकार छोड्नुपर्ने आफूहरुको अडान रहेको स्पष्ट पारे ।
मधेशी जनताले मधेशमा एउटै पार्टी भएको हेर्न चाहेको सुनाउँदै उनीहरुको मनोकांक्षा पूरा गर्नको लागि पनि एकता आजको आवश्यकत्ता रहेको सुमनको भनाई छ ।