सरकारले बाँकी रहेको प्रदेश नं. २ मा आगामी असोज २ गते गर्ने गरी स्थानीय तहको तेस्रो चरणको निर्वाचको मिति तोकेको छ । निर्वाचन आयोगले कार्यतालिका पनि सार्वजवनिक गरिसकेको छ । तर यसका लागि आवश्यक राजनीतिक वातावरण वा सहमति हुन सकिराखेको छैन । सरकारले पटकपटक छलफलका लागि राजपाका नेतासंग वार्ता गरेपनि यसको उचित निष्कर्ष निष्किन सकेको छैन । यसको प्रमुख कारण के हो ? संविधान संशोधनको मुद्दामा बहुमत पुर्याउन नसक्दा संसद्मा अड्किराखेको छ । यसलाई अब कसरी पार लगाउन सकिन्छ ? दोस्रो चरणको निर्वाचनमा आन्दोलन गरिरहेको पार्टी राजपाका कार्यकर्ताले केही ठाउँमा स्वतन्त्र उम्मेद्वारी दिए र केहीले जिते पनि । तर राजपाले यसलाई स्वीकार्न सकेको छैन । निर्वाचनको मिति नजिकिँदै गर्दा मधेसका मुद्दालाई लिएर राजपाले आफ्नो अडान कायमै राखेको छ । यी सबै कुराहरुलाई लिएर राजपा अब कसरी अगाडी बढ्छ ? अबका योजनाहरु के के छन् ? के राजपा निर्वाचनको पक्षमा छैन ? देशलाई निकास दिनका लागि राजपाले आफ्ना मागहरुमा किन लचक हुन सक्दैन ? राजपाको यो अडान कहिलेसम्म रहन्छ ? लगायतका समसामयिक राजनीतिक गतिविधिका बारेमा राष्ट्रिय जनता पार्टी (राजपा) का सह-महामन्त्री डा.सुरेन्द्र झासंग हिमालयपोष्टले गरेको कुराकानीको सम्पादित अंश


ADVERTISEMENT


प्रदेश नं २ को स्थानीय तहको निर्वाचन सम्पन्न गर्नका लागि राजपालाई नै केन्द्रमा राखेर राजनीतिक गतिविधि अगाडी बढाएको हल्ला बाहिर आएका छन् । भित्र के भइराखेको छ ?


ADVERTISEMENT

# # #


बाहिर जसरी प्रचार गरिएको छ, भित्रको अवस्था ठिक त्यस्तै सकारात्मक म देख्दिँन । स्थानीय तहको निर्वाचन सबै प्रदेशमा एकै पटक हुनुपर्छ भनेर हामीले पटक पटक भन्दै आइरहेका थियौँ । देशमा संविधानभित्र रहेका जुन किसिमका समस्याहरु थिए, तिनीहरुलाई संशोधन गरेर समाधान गर्नु पर्छ र त्यस पछि स्थानीय तहको पुनः संरचना जनसङख्याको आधारमा हुनुपर्छ । जुन किसिमको आयोग बनेको थियो, त्यो असंबैधानिक छ भनेर अहामीले बारम्बार भन्दै आएका थियौँ । अब यो कामहरु गरेर स्थानीय तहको निर्वाचनमा जाऔँ भन्ने हाम्रो भनाइ थियो । त्यतिबेला तत्काल संसद्मा संविधान संशोधन पास गर्ने र त्यसपछि (राष्ट्रिय जनता पार्टी) तत्कालीन मधेशी मोर्चाको सहमतिमा मात्रै स्थानीय तहको निर्वाचनको मिति तोक्ने भद्र सहमति भएको थियो । भद्र सहमति पालना भएको छैन र सत्तारुढ दलहरुले आफ्नो अनुकुलताको आधारमा निर्वाचनलाई तीन चरणमा गर्दैछन् ।

प्रदेश नं २ को निर्वाचनमा राजपाले भाग लिने वा नलिने भन्ने कुरा केसंग सबन्धित छ त भन्दा संविधान संशोधन विध्ययक जस्ताको त्यस्तै छ । स्थानीय तहको संङख्या थप गरिएको थियो । तर त्यो सङख्या थप गर्दाखेरी सर्वोच्च अदालतले रोकेको छ । अहिलेकै अवस्थामा निर्वाचनमा भाग लिने अवस्थामा हामी छैनौँ । किन भने हाम्रो पार्टी मेचीदेखि महाकालीसम्म छ । अन्य क्षेत्रहरु जस्तोे प्रदेश नं १, ५ र ७ मा निर्वाचन भएसक्यो । त्यसमा राष्ट्रिय जनता पार्टीले भाग लिन पाएन । बिना संशोधन तथा स्थानीय तहको पुनसंरचना जनसङख्याको आधारमा नभएसम्म हामी जानसक्ने अवस्थामा छैनौँ ।

 भनेपछि, सरकारसंग सहमतिका लागि संयुक्त बैठक भएको छैन ?

बार्ताको कुरा गर्दा अस्ति प्रधानमन्त्रीसंग राजपाका अध्यक्षमण्डलको बैठक भएको थियो । हाम्रा संयोजक ज्यूले प्रष्ट रुपमा के भन्दिनु भएको छ भने जुन कुरा सरकार तथा मन्त्री परिषद्ले गर्न सक्थ्यो, त्यो पनि अहिलेसम्म गर्न सकेको छैन । तीन बुँदे सम्झौताका आधारमा प्रचण्ड जी पनि १०/११ महिना प्रधानमन्त्री बन्नुभयो । उहाँले पनि त्यो काम गरिदिनु भएन । शेर बहादुर जी पनि प्रधानमन्त्री भएको दुई महिना हुन लागि सक्यो । उहाँले पनि त्यो काम गर्न सकिरहनु भएको छैन । तपाईबाट हुने काम त गर्न सक्नु भएकोे छैन । जस्तो बन्दीलाई रिहा गर्ने, घाइतेलाई सरकारी सुविधा दिने र मृतकलाई सहिद घोषणा गुर्ने कुरा त प्रतिपक्षीको आवश्यकता पर्दैन नि त ? सरकारले गर्ने काम नगरिदिँदा प्रतिपक्षी दल एमालेलाई मात्र दोष दिएर उम्किन मिल्दैन । एउटा यो कुरा हामीले राखेका छौँ । अर्को के हो भने प्रधानमन्त्रीले संशोधन विध्येयक पास भएपनि फेल भएपनि ‘भोटिङ’ मा लैजाने हो कि ? भनेर हाम्रो संयोजक महन्थ ठाकुर ज्यूलाई सोध्नु भएको थियो ।

महन्थ ज्यूले के भन्नु भयो भने, यो ‘एकेडेमिक डिबेट’ को लागि ल्याइएको प्रस्ताव होइन । यो नेपालको अग्रगामी विकासका लागि ल्याइएको हो । त्यसैले गर्दा समाधान हुनु पर्छ । यो खाली पास फेलमात्रै हुने उहाँहरु सोचिरहनु भएको छ । यसलाई फेलै गराएर जाने हो भने त मुलूकको समस्या जहाँको त्यहीँ हुने भयो । जुन कुराले मधेस आन्दोलित छ । त्यो समस्या जहाँको त्यहीँ रहँदाखेरि मुलूक राजनीतिक रुपले फड्को मार्न सकेपनि हामी त त्यही ओझेलमै पर्ने भयौँ । यो खाली पास फेल संगमात्र सम्बन्धित विषय होइन । राजपाको अस्तित्वको लागि हामी यो काम गर्दिँदै छौँ भन्ने खालको बाहिर कपोकल्पित प्रचार गरिन्छ । राजपाको अस्तित्वको चिन्ता आदारणीय शेरबहादुर र प्रचण्ड जी ले लिइ राख्नु पर्दैन । राजपा मधेसको पार्टी हो र मधेसका जनताको भावना, मनोविज्ञान र निर्देशनमा एकतृत भएको छ । संघर्ष गर्छु भनेर नै राष्ट्रिय जनता पार्टीको गठन भएको हो । यस सन्दर्भमा अहिले मधेसको घाउमा मल्हम लगाउने कोही छैन भनेर सत्ता पक्षले सोचिरहनु भएको छ भने त्यो होइन ।

मधेसको अधिकारका लागि आवाज उठाउने पार्टी राजपा छ । राजपाको गठन नै यसकै लागि हो । हामी जन भावनाको विरुद्धमा जान सक्ने अवस्थामा छैनौँ । दुई/चार जना मेयरको लागि सहिदको रगतलाई बिर्सेर राजपा निर्वाचनमा जान सक्दैन ।

त्यसो भए राजपाको अबको योजना के हो ? आफ्ना माग पूरा गर्न के गर्नु हुन्छ ?

राष्ट्रिय जनता पार्टी जनताको बीचमा जाँदैछ । यो जनताकै साथमा रहने हो । हाम्रो केन्द्रिय कार्य समितिको बैठक दुइ/चार दिनमा तय गर्दैछौँ । यो महिनाको १५ गते भन्दा अगाडी नै हुनेछ । सम्भवत: ११/१२ गते केन्द्रिय कार्य समितिको बैठक बस्दैछ । त्यो बैठकले वर्तमान राजनीतिक अवस्था र राजपाको भविष्यको कार्यदिशा तय गर्छ । त्यो तय गरिसकेपछि हामी जनताको बीचमा जानेछौँ । हामीलाई हतारो छैन । हामीले न सत्तामा जानका लागि संघर्ष गरिराखेको छौँ, न त हामीलाई दुई चार जना मेयरको लागि सहिदको रगतलाई बिर्सनु पर्नेछ । त्यसैले गर्दा हामी जनताको बीचमा जान्छौँ । जनताले जे निर्देशन दिन्छन्, हामी त्यो निर्देशनलाई पालना गछौँ ।

सरकारले असोज २ गतेलाई निर्वाचनको मिति तोकिसकेको छ । तर तपाईहरु माग पूरा भएनन् र हामी निर्वाचनमा जाँदैनौँ भनिरहनु भएको छ । यसले तपाईहरुले निर्वाचनमा नजानका लागि मुद्दाहरु रच्नु भएको हो वा राजपा चुनावदेखि डराएको हो भन्ने खालको आशङ्कका त पैदा गर्दैन ?

हामी चुनावको विरोधि होइनौँ । चुनावमा जान हामी आतुर छौँ । हामी राजनीतिक शक्ति हो । चुनावमा जानकै लागि पार्टीको स्थापना गरिने हो । तर त्यो चुनावमा जानुभन्दा पहिले केही कामहरु गर्नु पर्नेछ । काम किन गर्ने भन्दा हाम्रो मधेसमा भएका तीन ठूला जन विद्रोहको निर्देशन छ कि तपाईहरुले यो काम गर्नुस ।  तर राष्ट्रिय राजनीतिमा ठूला भनाउँदा पार्टीहरु जनभावनालाई कुल्चिने प्रयास गदैहुनुहुन्छ । त्यसले मुलूकलाई अन्त्यहीन द्वन्द्वमा लिँदैछ । त्यसैले जनविद्रोहको भावना अनुसार तत्काल यी कामहरु गरिनु पर्नेछ । त्यो भएपछि राष्ट्रिय जनता पार्टी चुनावमा जान्छ ।

त्यो पूरा नहुँदासम्म वा अहिलेकै स्थितिमा अगाडी गइयो भने कि चुनाव सार्नु पर्यो, होइन भने राजपाले त्यसको विरोध गर्ने भयो ?

नेपालकै राजनीतिक इतिहासमा तपाईले हेर्नु भयो भने पञ्चायतकालमा पञ्चायतको पक्षमा चुनाव लड्ने मान्छेहरु सधैँ जितेकै थिए । व्यक्तिगत रुपमा उनीहरुको विजय भएकै थियो तर समग्रमा पञ्चायत त हार्यो नि ? पञ्चायत त गयो नि ? त्यो पञ्चायतको विपक्षमा लड्ने पार्टीका नेताहरु सधैँ चुनाव हारेकै थिए । तर ती मान्छेहरु पञ्चायतलाई हराउन सफल भए । सत्ता पनि परिवर्तन गर्न, राजनीतिक कोर्स परिवर्तन गर्न सफल भए । र मुलूकलाई अगाडी लिएर आए । आज राजपासंग त्यो एउटा ऐतिहासिक क्षणमा एउटा ऐतिहासिक निर्णय गरेर अगाडी बढ्नु पर्ने आवश्यकता छ । त्यो आवश्यकता के को लागि हो भने मधेसलाई हमीले जिताउने कि हराउँने ? संवैधानिक विभेदलाई नसच्याइकन अहिलेको निर्वाचनमा हामी भाग लियौँ भने दुई/चार जना नेता कार्यकर्ताको प्रगती होला तर समग्र मधेस हारेर बस्नेछ । त्यसले गर्दा हामी अहिलेकै अवस्थामा निर्वाचनमा जान सक्दैनौँ र जानु पनि हुँदैन । यसका लागि संघर्ष बाहेक हामीसंग कुनै पनि विकल्प छैन । र मैले भन्नै पर्छ एमाले पार्टी मुलूकलाई जसरी बन्दी बनाउँदै छ । त्यसले एमाले तथा त्यसको केही नेताको जित होला तर समग्रमा नेपाल हार्दैछ भन्ने अनुभूति त्यहाँको इमान्दार नेता कार्यकर्ताहरु भएको अवस्था छ ।

बुझ्न नसकेको कुरा के भने राजपा पनि निर्वाचनमा जानुपर्छ, त्यो वातावरण बन्नु पर्छ भनिरहेको छ । सत्तारुढ दलहरु पनि यसमा लागेकै छन् । तर समाधान निस्कन सकेको छैन । यसको प्रमुख कारण के हो ?

यसमा दुईवटा कारण छन् । एउटा जात, एउटा वर्ग, एउटा समूह मात्रैले यो मुलूक चलाउनु पर्छ र यसमा अरु आउनु हुँदैन । हामी शासक हौँ । राजालाई फालेर अब हामी राजा भयौँ । हामीले जे भन्छौँ । त्यही यो देशमा लागू हुन्छ । शासित वर्ग हामीले एउटा बनाइराख्नु पर्छ र त्यो शासित वर्गमध्येको ठूलो हिस्सा भनेको मधेस हो । त्यसपछि जनजाती हुन् । निमुख, आदिवासी, महिला हुन् । त्यो विचारधारा बोकेका मान्छेले गर्दा हो । म तपाईलाई एउटा महत्वपूर्ण ऐतिहासिक दृष्टिकोण भन्न चाहान्छु । हाम्रो देशमा माओवादीसंग १२ बुँदे सक्झौता जुन भयो, त्यो भन्दा पहिले संसद्मा बस्ने सात राजनीतिक दलहरुसंग संसद् पुर्नस्थापना गर्दाखेरी अन्तराष्ट्रिय समुदायले हामीलाई सोधेको थियो कि तपाईहरुको रोडम्याप के हो ? त्यतीखेर हामीले ६ सुत्रीय सम्झौता गरेका थियौँ । त्यो हाम्रो छिमेकी मुलूकहरु र लोकतन्त्रको लागि सहयोग गर्ने मुलूकहरुलाई हामीले ६ सुत्रीय प्रतिवद्धता देखायौँ । र तत्कालीन राजाले फालिसकेको पार्टीहरुको बीचको एउटा सम्झौता थियो त्यो सम्झौताको सार के थियो भने नेपाललाई अब बहुभाषी, बहुसांस्कृतिक बिविधतायुक्त सहितको लोकतन्त्रका लागि हामी यसलाई अगाडी बढाउँछौँ भनेर त्यो प्रतिवद्धता गरिएको थियो । जसको आधारमा १२ बुँदे सम्झौता भयो ।

तर त्यो ऐतिहासिक दस्तावेजलाई लत्याइयो । त्यही एउटा कारण थियो जसको कारण सेना पछाडी हटे र ज्ञानेन्द्रले निरङ्कुश शासन चलाउँदा १९ दिनको आन्दोलनमा पनि १७/१८ जना मात्रैले शासदत गर्दा उनले गद्दी छोडेर जानु पर्ने अवस्था आयो । आज त्यो प्रतिवद्धता किन एमालेका नेताले विर्से ? माधव नेपाल जिउँदै हुनुहुन्छ । उहाँले त्यो प्रतिवद्धतामा हस्ताक्षर गर्नु भएको छ । आज उहाँ किन बिर्सिदै हुनुहुन्छ ? मुलूकलाई समावेशी बनाउने कुरालाई किन आज उहाँ लत्याउँदै हुनुहहुन्छ ? त्यसमा शेर बहादुर पनि हुनुहुन्थ्यो । गरिजा प्रसाद कोइराला स्वर्गे भएसक्नु भयो । प्रचण्ड यहीँ हुनुहुन्छ । उहाँहरु त्यही ६ सुत्रीय प्रतिवद्धतालाई कुल्चिएर मुलूकलाई द्वन्द्वमा लैजाँदै हुनुहुन्छ । त्यसले गर्दा हामी आफ्नै एतिहासिक प्रतिवद्धताबाट टाढा जाने, मुलूकले गरेको प्रतिवद्धता उहाँहरु पालना नगर्ने अनि कसरी सहमति हुनुहुन्छ । उहाँहरु हामी शासक हो । यिनीहरु शोसित हुन् । भन्ने उहाँहरुको मनोविज्ञान छ । यो मनोविज्ञानले मुलूकलाई पनि निकास दिँदैन । २१ औं शताब्दीमा हाम्रो देश पनि अगाडी जान सक्दैन । यसमा हामी गम्भीर हुनु पर्छ भन्ने मलाई लाग्छ ।

आजको दिनमा सरकारका लागि तथा २ नम्बर प्रदेशका जनता र मधेसशका सबै जनतलाई राजपाका तर्फबाट भन्नु पर्ने सन्देश के हो ?

राजपाले यो मुलूक समावेशी लोकतन्त्र र संविधान अनुसार हुनुपर्ने हिमाल, पहाड तथा मधेसका जनताको समानताका लागि लड्दैछ । र यो समानताको लडाईँमा राजपा पार्टीलाई सहयाग गर्नुस भनेर जनतालाईहामी अपिल गछौँ । उहाँहरुलाई अनुरोभ गछौँ । र सरकारलाई हामी के भन्ने चाहान्छौँ भने विगतमा गरेको सम्झौताहरुप्रति तपाईहरु इमान्दार हुनुहोस् । यहाँ राजनीति भइराखेको छ कि राजपा पार्टी चुनावमा गएन भने उसको सबै मत मलाई आउँछ । र म ठूलो पार्टी हुन्छु । एमालेको हाराहारीमा आउँछु भनेर सोच्ने पार्टी पनि यहीँ छन् । हामीलाई चुनावमा आउँन दिएकै छैन । आफू ढोका थुन्नुहुन्छ, अनी चुनावमा आउनुहोस् भन्नुहुन्छ । अहिले प्रधानमन्त्री देउवा चारै ढोका बन्द गरेर बालुवाटारमा बस्नु भएको छ । र भन्दै हुनुहुन्छ कि । राजपा चुनावमा आउन चाहादैन ।

त्यसैले यो किसिमको मनोविज्ञानबाट माथि उठ्नु पर्छ । नभए हाम्रो मुलूक अन्त्यहीन द्वन्द्वमा जान्छ । यो सवाल खालि राजपाको मात्र होइन । यो त मेचीदेखि महाकालीसम्म बस्ने मधेसी, आदिवासी, जनजाती सबैको सवाल हो । त्यसैले हामी गम्भीर भएर जानुपर्छ । मुलूकमा यस्ता निर्वाचन त धेरै भए तर समस्या त जहाँको त्यहीँ छ । यस्ता बद्नियतपूर्ण मनोविज्ञान हटाउनुहा्स् भन्ने चाहान्छु । मधेशी जनताको त्याग र बलिदानलाई हामी खेर जान दिदैनौँ । हामी बाचुन्जेल संघर्ष गछौँ ।

भनेपछि, तपाईको आन्दोलन लामो समयसम्म नै हुने भयो ?

मधेशमा भत्ता र सत्ताको राजनीति धेरै भए । वेदानन्द झादेखि लिएर अहिले उपेन्द्र यादाव र गच्छदारसम्मले सत्ताको लागि राजनीति गरे । तर राजपा त्यस्तो पार्टी होइन । मधेसलाई जुन किसिमको उपनिवेशीकरण गरिएको छ । त्यसको मुक्ति नहुञ्जेलसम्म, यो देशमा समानताको अधिकार नपाउञ्जेलसम्म हामी संघर्षमा जान्छौँ ।

तर पछिल्लो समयमा राजपा नेकपा एमालेसंग नजिक भएको जस्तो देखिन्छ । संशोधनको मुद्दा फिर्ता लिने भन्ने खालका कुरा पनि सुनिए । के हो वास्तविकता ?

एमाले पार्टीले हामीलाई के गरिदिएको छ र हामी उहाँहरुसंग नजिक हुने ? आज एमालेका कारणले गर्दा मधेसमा रगतको खोलो बगेको छ । आज संविधान संशोधन विध्ययक संसद्मा त्यसै लथालिङ्ग भएको छ । एमालेको कारणले गर्दा यस्तो भएको होइन र ? एमालेका अध्यक्ष केपी ओलीले भन्नुहुन्छ कि मधेसमा कुनै समस्या नै छैन । नेपालीका लागि यो संविधान बनेको छ । यो संविधानमा जसले समस्या देख्छ, तिनीहरु नेपाली होइनन् भन्नुहुन्छ । भने उहाँले के गरिदिनुभएको छ र हामी एमालेसंग नजिक हुने ? यसमा कुनै कारण छैन । हामीले त हाम्रा मुद्दालाई स्वीकार गर्ने तथा सम्बोधन गर्नेसंग सम्बन्ध बढाउने हो । तपाईलाई थाहै छ कि प्रचण्डलाई प्रधानमन्त्री बनाउन राजपाले सहयोग गरेकै हो । देउवालाई पनि भोट दिएकै हो । अब तपाई आफै बुझ्नुस कि हामी कोसंग नजिक छौँ ?

तर यो गठबन्धनको सरकारले माग सम्बोधन नगरिदिएपछि एमालेलाई सरकार निर्माणमा साथ दिएर त्यहाँबाट आफ्ना माग पूरा गर्न तपाईहरु लाग्नु भएको हो भनिन्छ नि ?

यी तीन वटा पार्टी मिलेर ९० प्रतिशतको सहमतिमा बनाइएको संविधान विश्वकै उत्कृष्ट संविधान हो भन्नु हुन्छ । मधेसलाई हेर्ने दृष्टिकोण उहाँहरुको एकैनासको छ । जति कम दिएर हुन्छ मधेसलाई थामथुम सामसुम पार्नु पर्यो भनिरहेका छन् । मधेसलाई अधिकार सम्पन्न बनाउनु पर्यो भन्नेमा कोही चिन्तित नै छैनन । यिनै देउवा हुन् मधेसलाई यो मधेसको समस्या हो भारतले समाधान गर्छ भन्ने । यिनै प्रचण्ड हुन् वाइसिएल लगाएर मधेसको आन्दोलनलाई दबाउनु पर्छ भन्ने । यिनै केपी ओली हुन् मधेसमा दुईचार वटा कुहिएको आँप झर्दैमा केही हुँदैन भन्ने । भने सबैमा केपी ओली प्रवृत्ति छ ।

यिनीहरु मधेसलाई अधिकार सम्पन्न गराउन तयार छैनन । हामीलाई उनीहरु नेपाली हो भन्ने मान्नै तयार छैनन । त्यसैले हामी सबैसंग सहकार्य गर्न तयार छौँ, जसले हाम्रो मुद्दालाई स्वीकार गरेर समाधान गरिदिन्छ उसैसंग नजिक हुने हो । । राजदूत नियुक्त गर्दा एक ठाउँमा हुने, न्यायाधीश नियुक्त गर्दा एक ठाउँमा हुन्, एनसेलको कर बाड्दा एक ठाउँमा हुने तर मधेसका मुद्दा समाधान गर्न त एक ठाउँमा आउँदैनन् नि ? हाम्रो एक मात्र भनाइ के हो भने मधेस यो देशको अभिन्न अंग हो । मधेस बिना हाम्रो देश अगाडी जान सक्दैन । मधेस समृद्ध भएन भने नेपाल पनि समृद्ध हुँदैन । त्यसैले तपाई-हामी सबै जना मिलेर यो समस्यालाई समाधान गर्ने कि नगर्ने ? सवाल यती मात्रै हो ।