हुम्ला– हुम्लाको सदरमुकाम सिमकोट भएर कैलाश मानसरोवर जाने भारतीय तीर्थयात्रीको सङ्ख्या एक हप्तामा ८०० पुगेको छ । कैलाश मानसरोवर दर्शनका लागि उपयुक्त समय शुरु भएलगत्तै भारतीय नागरिकले सिमकोटका होटेल र विमानस्थल यतिबेला भरिभराउ भएको छ । भारतीय तीर्थयात्री र अन्य देशबाट आउने पर्यटकका सङ्ख्या दिन प्रतिदिन बढ्दै गएको सिमकोट विमानस्थल स्रोतले जनाएको छ ।


ADVERTISEMENT


बुधबारसम्म मानसरोवर कैलाश यात्राका लागि सिमकोटको बाटो भएर ३६२ जना महिला र ४५९ जना पुरुष गरी जम्मा ७६३ जना भारतीय तीर्थयात्री आएका र शुक्रबार बिहान ८० भन्दा बढी भारतीय र अन्य मुलुकका पर्यटक सिमकोट पुगेका सिमकोट विमानस्थलका प्रमुख शंकर केसीले जानकारी दिए । कैलाश मानसरोवर दर्शनको समय शुरु भएसँगै यहाँ आगन्तुकको चाप बढेको हो ।


ADVERTISEMENT

# # #


विश्वको सबैभन्दा उच्च स्थानमा अवस्थित पवित्र जल भण्डार रहेको मानसरोवर पुग्न चाहनेहरु वैशाखको अन्तिम साता र जेष्ठको पहिलो हप्तादेखि ओइरिन शुरु हुन्छ ।

पौराणिक कथनअनुसार अमृत सरह मिठास भएको यस पवित्र जल भण्डारको सृष्टि ब्रम्हाजीले गरेका हुन् । मानसरोवरको सृष्टिसँगै विश्व जगत्को सृष्टि यहीँबाट शुरु भएको जनविश्वास रहिआएको छ ।

समुद्र सतहबाट चार हजार ५५९ मिटर उचाइमा रहेको यस सरोवर ३२० वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको छ । मानसरोवर तालको क्षेत्र भगवान् विष्णुको बासस्थान हो भन्ने धार्मिक विश्वास रहेको छ । हिउँ पग्लेर जल बन्ने अवस्थामा यहाँ डमरुको ध्वनिको आवाज सुन्न सकिन्छ भन्ने गरिन्छ ।

कैलाश पर्वत भगवान् शिवशंकर र मानसरोवर माता पार्वतीको प्रतीकको रूपमा लिने गरिन्छ । मध्यराति माता पार्वती तारा (प्रकाश) को भेषमा स्वयं मानसरोवर तालमा प्रकट हुन्छिन् भन्ने विश्वास छ । यस सरोवरको पानीको रङ्ग समयअनुसार फरक हुने गर्दछ ।

मानव जीवनमा एकपटक अनिवार्य रुपमा कैलाश मानसरोवरको दर्शन गर्नुपर्छ भन्ने धार्मिक मान्यता रहेको छ । पितृात्मा चोख्याउने उद्देश्यले पनि हरेक वर्ष हजारौ तीर्थयात्री यहाँ पुग्ने गर्दछन् । छिमेकी राष्ट्र चीनमा रहेको कैलाश मानसरोवर दर्शन गर्न नेपालका अन्य सीमा नाका भन्दा हुम्लाको हिल्साबाट छिटो पुग्न सकिन्छ ।

बाह्य पर्यटकका लागि कैलाश मानसरोवर पुग्ने मूलद्वार हुम्लाको सिमकोट हिल्सा नाका नै हो । तिब्बतको पुराङ काउन्टीमा यो सरोवर रहेको छ । भारतीय तीर्थयात्री बाँके जिल्लाको जमुनाहा रुपैडिया हुँदै नेपालगञ्ज विमानस्थल पुगेर हवाई मार्गबाट महङ्गो भाडा तिरेर हुम्ला सिमकोट पुग्ने गर्दछन् ।

नेपालगञ्जबाट सिमकोट विमानस्थल पुगे लगतै एक÷दुई घण्टाको बसाइपछि तीर्थयात्री फेरि हेलिकप्टर चढेर १३ मिनेटमा हिल्सा नाका पुग्छन् । हिल्साबाट दुई देशको सीमा रहेको झोलुङ्गगे पुल तरेर चीनको ताक्लाकोट पुगेपछि गाडीबाट दुई घण्टामै कैलाश मानसरोवर पुगिन्छ । पैदल यात्रा गर्दा करिब एक हप्ता लाग्छ । अधिकाँश तीर्थयात्री पैदल यात्रा गर्न रुचाउँछन् ।

सिमकोटबाट पैदल हिँडेर जाने तीर्थयात्रीलाई हिल्सा पुग्न साढे दुई दिन लाग्छ । अधिकाँश तीर्थयात्रीले आफैं खाना बनाउँदै यात्रा गर्ने गर्छन् भने कतिपय होटेलमा खाना खाने पनि छन् । होटेलको खानालाई २०० देखि २५० रुपैयाँ पर्छ । सिमकोटबाट सलिसल्लाको लाप्चामा पुगे लगतै हिल्सा पुग्न गाडी चढ्नुपर्छ । गाडी भाडा एक हजार रुपैयाँसम्म पर्छ । हेलिकप्टरबाट हिल्सा पुग्न नेपालका तीर्थालुले चार हजार रुपैयाँ भाडा तिर्नुपर्छ ।

भारतीय तीर्थयात्री भने भारतीय दूतावास काठमाडौँबाटै आ–आफ्नो एजेन्सीमार्फत मानसरोवर पुग्ने गर्दछन् । हिल्लाबाट कैलाश मानसरोवर पुग्न ताक्लाकोटबाट यात्रा शुरु हुन्छ र एक व्यक्तिले गाडी भाडा दश हजार रुपैयाँ तिर्नुपर्छ ।

भारतीय तीर्थयात्रीले कैलाश मानसरोवर यात्राका लागि तीनवटा मार्ग अँगाल्दै आएका छन् । एउटा मार्ग नेपालगञ्ज हुँदै सिमकोटसम्मको हवाई यात्रा हो । भारतीय तीर्थयात्रीले अङ्गालेको अर्को स्थलमार्ग काठमाडौँको कोदारी राजमार्ग तातोपानी हुँदै ल्हासासम्मको यात्रा हो जसका लागि गाडी चढ्नुपर्छ । उनीहरु त्यहाँबाट हप्तौँ दिन लगाएर ताक्लाकोटमा रहेको कैलाश मानसरोवर दर्शन गर्न पुग्छन् । यस मार्गबाट आउन जान गरी १४ दिन लाग्ने गरेको भारतीय तीर्थयात्रीको अनुभव छ ।

नेपालकै पश्चिम सिमानामा रहेको दार्चुलाबाट पैदल बाटो भएर पनि जान सकिन्छ । हुम्लाको सिमकोट भएर जाने नै छोटो दूरीको यात्रा हो । हुम्लाको नाम्खा गाउँपालिका र सिमकोट गाउँपालिकाको सिमाना तिब्बतको कैलाश मानसरोवर तालसँग जोडिएको छ । लिमी लाप्चा भन्ने स्थानबाटै पनि कैलाश मानसरोवरको दर्शन आफ्नै भूमिबाट गर्न सकिन्छ ।

हुम्लीलाई ताक्लाकोट पुग्न सिमानामा रहेको चिनियाँ प्रहरीले जान दिए पनि कैलाश मानसरोवर पुग्न भने कठिनाइ भोग्नुपरेको यात्री हेमन्त बोहराले बताए । मानसरोवर तालमा स्नान गरेमा सात जुनीको पाप नष्ट हुने र त्यहाँको जल खाएमा भगवान्को शक्ति प्राप्त हुने धार्मिक विश्वास छ ।

संसारको सबैभन्दा अग्लो पठार भूमि, बीचमा ठूलो कैलाश पर्वत, दक्षिणमा शक्तिको प्रतीक राक्षस ताल र काखमा शान्तिको प्रतीक मानसरोवर अवस्थित छ । मानसरोवरको जल घर, खेतबारीका चार कुनामा छर्कियो भने शुद्ध हुने र बाली सप्रिने विश्वास रहेको छ । रासस