विराटनगर – विराटनगर महानगरपालिका धेरै पुरानो शहर भएर पनि बजारमा विश्राम लिने र शौचालय प्रयोग गर्ने सुविधाको अभाव अब नहुने भएको छ ।


ADVERTISEMENT


औद्योगिक नगरी, राजनीतिज्ञको कर्म एवं जन्मभूमिले चिनिने विराटनगर महानगरपालिकाको वडा नं ९ अन्तर्गत बजार क्षेत्रमा सुविधासम्पन्न शौचालय र उद्यानको अभाव थियो । दिनप्रतिदिन बजारको क्षेत्र बढ्दै जानु, जनसङ्ख्या बढ्नु तर सेवासुविधा नबढ्नुका पछाडि लामो समयसम्म स्थानीय तह जनप्रतिनिधिविहीन हुनु र सोचको अभाव रहनु नै हो ।


ADVERTISEMENT

# # #


यही मर्मलाई आत्मसात गर्दै महानगरपालिकाले बजारको मध्यभागमा आफ्नै स्वामित्वमा रहेको एक कठ्ठा १६ धुर जग्गामा स्मार्ट उद्यान बनाउने निर्णय गरेको छ । हरियाली, स्तनपान कक्ष, महिला र पुरुषका लागि अलगअलग शौचालय र पानीको फोहरासहितको सो उद्यान अगामी एक वर्षभित्रमा निर्माणकार्य सम्पन्न हुने इञ्जिनीयर गोपाल पोखरेलले जानकारी दिए । उद्यानका लागि प्रदेशसभा सदस्य केदार कार्कीले संसद् कोषबाट रु ४८ लाख र महानगरपालिकाले रु ७० लाख रकम व्यहोर्ने भएको छ ।

सो उद्यानको शिलान्यास कार्यक्रममा नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य डा शेखर कोइरालाले जनताका चाहना र भावनाअनुसार जनप्रतिनिधिले काम गर्नुपर्ने सुझाव दिए । उनले विगतबाट पाठ सिकेर अब विकास गर्नुको विकल्प नरहेको जनप्रतिनिधिले मनन गर्नुपर्ने भन्दै यस नगरको १९ वटै वडामा यस्ता किसिमको विकास निर्माण हुनुपर्नेमा जोड दिए ।

प्रदेशसभा सदस्य कार्कीले नगरलाई हराभरा, सफासुग्घर राख्न जनप्रतिनिधि मात्रले गर्नुपर्छ भन्ने मानसिकता त्याग्न नगरवासीलाई आह्वान गर्दै विकास निर्माणमा सबैले एउटै धारणा बनाउनुपर्छ भने । महानगरपालिकाका प्रमुख भीम पराजुलीले आम जनतालाई सेवासुविधा प्रदान गर्न र नगरको सुन्दरता बढाउन पनि उद्यानको निकै महत्व छ भने । उपप्रमुख इन्दिरा कार्की र इञ्जिनीयर अर्जुन थापाले उद्यानले नगरको शोभा बढाउनुका साथै स्वच्छ वतावरणका लागि पनि मद्दत गर्ने विचार व्यक्त गरे ।