काठमाडौं– प्रधानमन्त्रीलाई भेट्न आउजाउ गर्ने थुप्रै नेता, कार्यकर्ता, मतदाता, शुभचिन्तक हुन्छन् । बिहान सबेरैदेखि रातिसम्म दैनिक सयौं मानिसहरुसँग प्रधानमन्त्रीको भेटघाट र अन्तक्र्रिया हुन्छ । तर बिहीबार बिहान प्रधानमन्त्री ओलीको करिब १५ मिनेटको भेटघाट भने बिल्कुल फरक रह्यो ।


ADVERTISEMENT


सधैं राष्ट्रिय राजनीति र विकासका ठूला ठूला नीति र योजनाका बिषयमा छलफल हुने यस ठाउँमा आज प्रधानमन्त्रीले आफ्नो जन्मस्थानको चर्चा र बाल्यकालका साथीसंगीलाई सम्झना गरे ।


ADVERTISEMENT

# # #


चुहानडाँडा विमानस्थलका लागि रकम माग गर्नका लागि आठराई गाउँपालिकाबाट एउटा समूह प्रधानमन्त्री निवासमा आएको थियो । त्यहाँ अधिकांश उतै आठराई मै बसोबास गरेकाहरु र केही झापा र राजधानीमा बसोबास गरिरहेका तर आठराईलाई माया गर्नेहरु थिए ।

आठराईमा विमान स्थलका लागि पैसा माग्न आएको समुहका बारेमा पूर्व जानकारी पाएका प्रधानमन्त्री ओली अनौपचारिक पोषाकमा नेकपाका महासचिब विष्णु पौडेल सहित बैठक कक्षमा प्रवेश गरे । “के छ आठराईको खबर ?” प्रधानमन्त्रीको जिज्ञासा थियो । आगन्तुक सबैले आठराई विमानस्थलका लागि रकम छुट्याउन माग गरे । “नीति कार्यक्रममा आइसकेको छ । बजेटका लागि चिन्ता नगर्नु” प्रधानमन्त्री ओलीले भने ।

त्यसपछि प्रधानमन्त्री ओलीले आफूसँग भएको कलेजी रंगको डायरी पल्टाएर आठराईको एउटा सडकको योजना सुनाए। सुकेपोखरी–छातेढुंगा – प्रणामी मावि इवा –भदौरे –बिजौरे आधारभुत विद्यालय हुवाकु –निगुरादिन – चोपुर हुँदै हाङपाङ स्कूल – शान्ति आधारभूत विद्यालय मिचिरिङ हुदै दोभान–ठोट्ने हुँदै तेल्लाबुङसम्म सडकका लागि पनि यसपालि रकमको व्यवस्था हुन्छ ।

जन्मस्थान आठराई इवा छोडेको ५८ बर्षपछि पनि आठराईका चोकचोकमा नाम प्रधानमन्त्रीले फटाफट भनेको सुनेपछि आठराईबासीहरुले प्रधानमन्त्रीलाई अहिले पनि उही इवाकै छिमेकीकै रुपमा महसुष गरे ।

चुहानडाँडाँ विमानस्थलमा रकम माग गरिएको कागज लिएर प्रदेशसभा सांसद तेजमान कङ्दङ्वा प्रधानमन्त्री नजिक गए । तेजमानको हात समाएर प्रधानमन्त्री ओलीले महासचिव पौडेललाई चिनाउदै भने “उ मेरो गाउँले भाइ हो । अहिले प्रदेशसभाको सांसद ।” प्रधानमन्त्रीले फेरि सम्झिए “अर्का तेजबहादुर कङदङ्वा पनि हुनुहुन्छ । वहाँ चाँही विर्तामोडमा हुनहुन्छ । तेजप्रसाद कङदङ्वाचाँही मेरै सामु हुनुहुन्छ ।”

प्रधानमन्त्री ओलीले बालसखा चन्द्र कन्दङवाको पनि सम्झना गने । “मेरो बाल्यकालको साथी चन्द्र । म भन्दा सिनियर पनि हुन् तर पनि हामी साथी साथी थियो । हामीले एकैदिन २०२६ साल फागुन १२ गते नेपाल कम्यूनिष्ट पार्टीको सदस्यता लिएका । अर्का सूर्य कङदङवा त मेरा गुरु नै हुनुभो ।”

प्रधानमन्त्रीलाई आठराईबासीले भने “हामीलाई पानीको चाँही सारै समस्या छ”

यति भनिसक्दा प्रधानमन्त्रीले आफूले बाल्यकालमा पानी खाने गरेको इवा कै चुच्चेधारो सम्झिए । “उ बेला चुच्चेधाराको पानी अजुंलीमा थापेर खान कम्ती मजा हुँदैन थियो,” प्रधानमन्त्रीले भने “अहिले सुकेर तिर्र…मात्र पानी आउँदो रहेछ । ५ बर्ष अघि आठराई गएको बेला चुच्चे धाराको रवाफ दिंदै श्रीमतीलाई पनि पानी खुवाउन लिएर गएको त पानी सुकिसकेछ । त्यसपछि आँफै हिस्स परियो ।”

पानीको प्रसंगमा प्रधानमन्त्रीले संक्रान्तिको याकुम्बा गढी पनि स्मरण गरे। “गढी के भएछ त । त्यहाँबाट आरोलो लागेपछि त थुप्रै पानीका मुल थिए पहिला त,” उनले भने ।

प्रधानमन्त्रीको यो जिज्ञासा सुनेपछि आठराईबासीले नेपालका गाउँबस्तीमा पानीका मुल सुक्नाका केही गम्भीर कारणहरु एकपछि अर्को गर्दै प्रधानमन्त्री समक्ष राखे । पूर्वप्रधानअध्यापक आरसी थपलियाले सुरु गरे “जतासुकै मोटरबाटो खनियो । यसले पानीको मुललाई धक्का दियो । मुलहरु अन्तै सरे ।” भीष्म थपलियाले थपे, “भैंसी पाल्ने चलन हरायो । जसले गर्दा आहाल मासिए । आहाल नभएपछि पानी जम्मा हुन र रसाउन पाएन । पानीका मुल सुके ।”

यस्तै टिका उप्रेतीले भने, “पहिला जस्तो साउने झरी पर्न छाड्यो । त्यतीबेला साउने झी हप्तादिनसम्म बिस्तारै बर्सीरहन्थ्यो । त्यसले जमिनको भित्री भागसम्म पानी जान्थ्यो । अहिले दर्र।।।पानी पर्छ जमिनको सहतमै बगेर सकिन्छ ।”

भीम घिमिरेले अर्को कारण भने, “अहिले सानो मुलकतै भेटिए मानिसले सुविधाका लागि पाइप घुसाएर घर मै पानी पुर्याउँछन् । जसले गर्दा पानीको प्राकृतिक बहाव मासियो । अनि हामी काकाकुल भयौं ।”

प्रधानमन्त्री ओलीले आठराईमा एउटा फूटबल मैदानको प्रस्ताव गरे । “तपाईंहरुसँग छ भने जग्गा दिनुहोस । हैन भने म जग्गा दिन्छु ,” प्रधानमन्त्रीले सम्झिए, “छन् त चुहानडाँडाँमा उप्रेतीटार,थपलीयाटार ।”

त्यसपछि प्रधानमन्त्री इवाको भित्रिया र खमारेको बगैंचामा पुग्नुभयो । भित्रिया र खमारेको बगैंचामा खाएका आँप र कटहरको चर्चा प्रधानमन्त्रीले गरे । “हरेक बर्ष असार २२ गते कटर टिप्ने दिन हुन्थ्यो,” प्रधानमन्त्री ओलीले भने, “मैले पनि धेरै पटक यहाँका आँप कटहर टिपेको छु । खाएको छु । अहिले छन् कि छैनन् भित्रिया र खमारेमा आँप कटहर ?”