काठमाडौं – पहिलो पटक अन्तरिक्षमा नेपालको आफ्नै स्याटेलाइट अर्थात् भू-उपग्रह अमेरिकाबाट प्रक्षेपण गरिएको छ।


ADVERTISEMENT


नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा-प्रतिष्ठान नास्टका अनुसार नेपालको भू-उपग्रह नेपाली समय अनुसार बिहीवार बिहान २.३५ बजे भर्जिनिया राज्यको तटस्थित प्रक्षेपण केन्द्रबाट अन्तर्राष्ट्रिय अन्तरिक्ष केन्द्र (आईएसएस) मा प्रक्षेपण गरिएको हो।


ADVERTISEMENT

# # #


त्यहाँ अमेरिकी हवाई तथा अन्तरिक्ष निकाय नासाको वालोप्स उडान केन्द्र रहेको छ।

NepaliSat-1 (नेपालीस्याट-१) नाम दिइएको नेपाली भू-उपग्रहलाई एन्टारेस् नामक वायुयानभित्र रहने सिग्नस् कार्गो विमानमा राखिएको छ।

त्यो केही समयपछि अन्तर्राष्ट्रिय अन्तरिक्ष केन्द्र (आईएसएस) मा पुग्नेछ।

न्यानो अर्थात् निकै सानो आकारको नेपाली भू-उपग्रह निर्माणमा संलग्न जापानस्थित नेपाली वैज्ञानिक आभाष मास्केका अनुसार नेपालीस्याट-१ करिब एक किलो तौलको छ।

सानै आकारको भए पनि नेपाली भू-उपग्रह प्रक्षेपण भएपछि विश्वभरि छरिएर रहेका नेपालीहरूले सामाजिक सञ्जालमा खुशी व्यक्त गरिरहेका छन्।