काठमाडौँ – सैनिक कल्याणकारी कोष र प्रभु बैंकविच सम्पन्न सम्झौता बमोजिम सैनिक सन्तति प्राविधिक शिक्षण सहुलियत कर्जा, २०७५ औपचारिक रुपमा कार्यान्वयनमा आएको छ ।
आइतबार जंगी अड्डामा आयोजित एक कार्यक्रमकाबीच प्रधानसेनापति महारथी पुर्णचन्द्र थापा र प्रभु बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक शेरचनले सैनिक सन्ततीलाई प्रभु बैंकद्वारा स्वीकृत प्राविधक शिक्षण सहुलियत कर्जाको चेक संयुक्त रुपमा हस्तान्तरण गरी गरेका हुन् ।
नेपाल सैनिकद्धारा सञ्चालित सैनिक सन्तती प्राविधिक शिक्षण सहुलियत कर्जा, २०७५ कार्यान्वयनका लागि सैनिक कल्याणकारी कोष र प्रभु बैंक विच एक सम्झौता भएको थियो । सम्झौता अनुसार सैनिक कल्याणकारी कोषको सिफारिसमा बहालवाला तथा अवकासप्राप्त सकल दर्जाका सैनिकका छोरा छोरीहरुलाई स्नातक वा सो भन्दा माथिल्लो तह अध्ययनका लागि प्रभु बैंकले कर्जा सुविधा उपलब्ध गराएउने भएको हो ।
सम्झौता बमोजिम यो शैक्षिक कर्जा सुविधा रकम सहुलियतपूर्ण ब्याजदरमा अधिकतम् रु. २५ लाख सम्मको हुनेछ । यो शैक्षिक कर्जा सुविधा प्रभु बैंकको बबरमहलस्थित मुख्य शाखा कार्यालय वा प्रभु बैंकका जुनसुकै शाखा कार्यालयबाट उपलब्ध गराइने बैँकले जनाएको छ । प्राविधिक विषय अन्तर्गत चिकित्साशास्त्र, ईन्जिनियरिङ्ग, सूचना प्रविधि, कृषि र पशु विज्ञान तथा वन विज्ञान संकायका लागि उक्त सेवा दिइनेछ ।
प्राविधिक विषयमा उच्च शिक्षा हासिल गर्ने चाहना राख्ने जेहेन्दार एवं क्षमतावान नेपाल सैनिकका सन्ततीहरुले आर्थिक सहजताका लागि यो कर्जा सुविधा उपभोग गर्न आफुलाई पायक पर्ने प्रभु बैंकको जुनसुकै शाखा कार्यालयमा सम्पर्क राख्नुहुन समेत अनुरोध गर्दछौं ।