काठमाडौं– गायनमा प्रतिभा खोज्ने रियालटी शो ‘द भ्वाइस अफ नेपाल’ सिजन–२ मा आफ्नो प्रतिभा देखाउन झण्डै २२ हजार नेपालीले डिजिटल अडिसनमार्फत् सहभागिता जनाएका छन् । चैत १० गतेसम्म तोकिएको समय सीमाभित्र कुल २१ हजार ७ सय प्रतिभाहरुले विभिन्न डिजिटल प्लेटफर्ममार्फत आवेदन दिएको कार्यक्रमका निर्देशक लक्ष्मण पौडेलले जानकारी दिए ।


ADVERTISEMENT


‘यसपटक हामीले मोबाइल एपसँगै सामाजिक सञ्जाल र म्यासेजिङ एपमार्फत् पनि आवेदन खुल्ला गरेका थियौं’ पौडेलले भने ‘सवै माध्यम खुल्ला गरिएका कारण यो बर्ष उत्साहजनक सहभागिता देखिएको छ ।’


ADVERTISEMENT

# # #


एप डाउनलोड गरेर सहभागिता जनाउन कठिनाई महसुस गर्ने प्रतिभाहरुले फेसबुक म्यासेन्जर, भाइबर, ह्वाटसएपमार्फत् पनि हजारौंको संख्यामा आवेदन दिएका छन् । चैत १० मै म्याद सकिए पनि अझै दैनिक सयौंको संख्यामा आवेदन आइरहेको निर्देशक पौडेलले बताए ।

हिमालय टेलिभिजनले एचडी सेवा शुभारम्भसँगै गत माघ १ गतेबाट सुरु भएको डिजिटल अडिसनमा सहभागी हुने समय चैत १० गतेसम्म तोकिएको थियो । यही असारबाट प्रसारण सुरु हुने दोस्रो सिजनलाई हिमालय टेलिभिजन एचडीले प्रसारण गर्नेछ । यस अगाडिको श्रृंखला कान्तिपुर टेलिभिजनबाट प्रसारण गरेको थियो ।