काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले हिंसात्मक गतिविधि गरिरहेको विप्लव समुहका गतिविधि चैत महिनाभित्र नियन्त्रण गरिसक्ने बताएका छन् । नेपाल कम्यूनिष्ट पार्टी (नेकपा)को संयुक्त संसदीय दलको बैठकलाई आज सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले सो कुरा बताएका हुन् ।


ADVERTISEMENT


‘उहाँहरु सहमतिमा आए ठिकै छ । नत्र विप्लव समूहका अतिवादी क्रियाकलाप चैतभित्रै सरकारले नियन्त्रण गर्छ’ प्रधानमन्त्री ओलीले भने ‘विकास निर्माणमा अवरोध, शिक्षा स्वास्थ्यमा अवरोध गर्ने,चन्दा माग्ने, मान्छे मार्ने अनि अनि हँसियाहथौडा अंकित झण्डा प्रयोग गर्ने ? यस्तो प्रवृत्तिलाई सरकारले नियन्त्रण गर्छ नै ।’


ADVERTISEMENT

# # #


प्रधानमन्त्री ओलीले संसदको हिउँदे अधिवेशन सकिएकोले सांसदहरुलाई जिल्ला र क्षेत्रमा जान निर्देशन दिए । जिल्ला र क्षेत्रका जनतासँग सरकारले गरेका कामहरुको बारेमा प्रचार गर्न र विपक्षीले लगाएका निराधार आरोपको खण्डन गर्न समेत सांसदहरुलाई प्रधानमन्त्री ओलीले निर्देशन दिए ।

‘तपाईंहरु जिल्ला र क्षेत्र जानुहोस् । सरकारले गरेका कामहरुको प्रचार गर्नुहोस् । जनतामा भएका कुरा लुकाएर नभएका कुराको प्रचार गरिएको छ । त्यसको खण्डन गर्नुहोस् । सत्य कुरा भन्नुहोस् । जनताका कुरा सुन्नुहोस् । आगामी बर्षको नीति र कार्यक्रमका लागि आफ्नो क्षेत्रका योजना र बजेटको फेहरिस्त बोकेर काठमाडौं फर्कनुहोस्,’ प्रधानमन्त्री ओलीले सांसदहरुसँग भने, ‘जनताले सोधेका हरेक कुराको जवाफ नम्र ढंगले दिनुहोस् ।’

नेकपाका संसदीय दलका नेता एवं पार्टी अध्यक्ष समेत रहेका प्रधानमन्त्री ओलीले स्थानीय तहको पार्टी एकताको बारेमा जनताले सांसदहरुसँग धेरै प्रश्न सोध्न सक्ने बताएका छन् । तर अब पार्टी एकताका लागि धेरै समय नलाग्ने भएकोले त्यसैअनुसार जनता र कार्यकर्तालाई सन्देश दिन प्रधानमन्त्री ओलीले आग्रह गरे ।

‘केन्द्रमा एकिकरण भएको महिना दिनभित्रै सबै कमिटीको एकता सकिनु पथ्र्यो यसमा अनावश्यक विलम्ब भएको छ’ प्रधानमन्त्री ओलीले भने, ‘तर अब अध्यक्ष पुष्पकमल दाहाल अमेरिकाबाट फर्कने वित्तिकै एकताका सबै काम टुंगिन्छन् ।’