अछाम – मंगलसैन नगरपालिका–६ ठुलासैनस्थित मध्यपहाडी लोकमार्ग सँगै जोडिएको रेणु कोल्ड स्टोर एण्ड गोरी होटलमा बिहानदेखि बेलुकासम्म ग्राहकको चहलपहल भैरहन्छ । यहाँ पाइने खाना–नास्ता, दही–दूध, घीउलगायतका खानेकुरा र होटल सञ्चालक हरिकला तथा उनका श्रीमान् गोरप्रसाद भण्डारीको व्यबहारले सबैलाई मोहित बनाउँछ ।


ADVERTISEMENT


कुनैबेला गोरप्रसादले चौबीसै घण्टा मदिरा सेवन गर्थे र घरमा आएर झगडामा उत्रन्थे । त्यसरी भताभुङ्ग हुने अवस्थामा रहेको उनको परिवार यतिबेला आर्थिक, सामाजिक र सबै हिसाबले सबल बनेको छ । आठ वर्ष यता गोरप्रसादले मदिरा सेवन चटक्कै छोडेपछि व्यावसायिक रुपमा दम्पती मिलेर सङ्घर्ष गर्दा सबैतिरबाट सफल भएकामा उनीहरु दङ्ग छन् । होटल सँगै डेरी उद्योगसमेत सञ्चालन गरेका हरिकला र गोरप्रसादले मनग्य आम्दानी मात्रै गरेका छैनन्, व्यवसायमार्फत जीवनलाई नै कायापलट गरेका छन् ।


ADVERTISEMENT

# # #


विगतका वर्षहरुमा मदिरा सेवन गर्ने गरेकै कारण कलह र कटुतापूर्ण सम्बन्ध रहेको हरिकला र गोरप्रसादको वर्तमान भने व्यावसायिक रुपमा सफल र सामाजिक रुपमा अब्बल छ । यसो हुनुको पछाडि गोरप्रसादले मदिरा परित्यागपछि श्रीमतीसँग मिलेर कडा मेहनत गर्नु नै भएको दुबै बताउँछन् ।
अभाव, दबाब र सामाजिक अपहेलना सँंगै २२ भनिन्– “पहिले त साह्रै अप्ठेरो थियो, पैसा थिएन, भाँडाकुँडा थिएन । श्रीमान्ले पनि साथ दिने त कता कता, मदिरा सेवन गरेर मलाई र छोराछोरीलाई कुटपिट गर्नु हुन्थ्यो । मैले ठूलो दुःख झेलेकी छुँ ।” मदिराको लतमा लागेर बिग्रिएका श्रीमान्लाई बाटोमा ल्याउन सबैसँग हारगुहार माग्दै सङ्घर्ष गरेर आफू अघि बढेको हरिकलाले बताइन् । अहिले श्रीमान्ले मदिरा छाडेको र मिलेर काम गरेपछि आफूहरु सफल भएको हरिकलाको भनाइ छ ।

उनी भन्छिन् – “श्रीमान्ले रक्सी छाडेपछि धेरै रामो भयो । रक्सि छोडेपछि नै हो हाम्रो व्यापार व्यवसाय पनि फस्टाएको ।” नराम्रा कुराका विरुद्ध लडाइँ लडिरह्यो भने एक न एक दिन सफलता मिल्ने हरिकलाको जीवनबाट चरितार्थ हुन्छ ।

श्रीमानको साथ नपाएकी र गाउँ समाज सबैतिरबाट अपहेलना खेपेकी हरिकलाले विगत सम्झँदै भावुक भएर भनिन्– “मेरो विगतको सङ्घर्षको परिणाम स्वरुप आजभोलि सबैबाट प्रशंसा पाइरहेकी छु । व्यावसायिक रुपमा पनि सफल भएकी छु । आठ वर्षदेखि श्रीमानले पनि रक्सी छोडेर मलाई डटेर साथ दिनुभएपछि झनै हौसला बढेको छ ।” श्रीमानले रक्सी खाएर सुल्टो कुरा कहिल्यै नगर्ने, छोराछोरी र आफूलाई कुटपिट गर्ने श्रीमान्को व्यवहारबाट हरिकला वर्षौंसम्म आजित हुनुपर्यो । हिजो खिसिटिउँरी गर्नेहरु भने आज उहाँका प्रशंसक भएका छन् ।

उनी भन्छिन्, – “मेरो सङ्घर्षको कथा म जस्तै पीडित हुनेहरुलाई पनि भनिरहेकी छुं, महिलाहरुले पनि समाजलाई राम्रो बनाउन सक्छन् भनेर । हिम्मत नहारी निरन्तर सङ्घर्ष गर्यौँ भने अवश्य सफल भइन्छ ।” अरु महिलालाई पनि सकारात्मक भएर अघि बढ्न र आफ्नो लक्ष्यबाट नडगमगाउन उनी सुझाव दिन्छिन् ।

उमेरले ५० वर्ष कटिसकेर पनि श्रीमतीलाई व्यावसायिक रुपमा दरो साथ दिइरहेएका गोरप्रसाद अहिले मदिरा खान त परै जाओस् पसलमा आउने ग्राहकले रक्सि शिशीको बिर्को खोलिदिन आग्रह गर्दा पनि खोल्न मान्दैनन् । आठ वर्ष यता मदिरा सेवन चटक्कै छोडेका गोरप्रसाद तीन वर्ष यतादेखि त शुद्ध शाकाहारी नै बनेका छन् । उनी भन्छन् – “मैले मदिरा छोडेको आठ वर्ष भइसक्यो । अहिले पसलमा कुनै ग्राहकले रक्सिको बिर्को खोलिदिनुस् भन्दा पनि खोल्न सक्दिनँ भन्छुं । नखाने मान्छेलाई बिर्को समेत खोल्न मन लाग्दो रहेनछ ।”

अभाव र सङ्गतका कारण मान्छे कुलतमा फस्ने गरेको उनको भनाइ छ । आफ्नो नराम्रो बानीबारे उनले भने – “पहिला आफ्नो स्थिति पनि त्यस्तै थियो । खल्तीमा पैसा नहुने, काम नहुने, जाँड खाने यस्तै यस्तै, । तर मदिरा छोडेर काम गर्दा अहिले जमीन आकाशको फरक पाएँ । मलाई आर्थिक, सामाजिक र स्वास्थ्यका हिसाबले निकै फाइदा भएको छ । समाजको पनि अगुवा जस्तै छु । पहिले मसँग कोही सोध्न आउँदैनथे ।”

पहिले मदिराका पारखी गोरप्रसाद अहिले भने यसले कसैलाई पनि फाइदा नगर्ने बताइरहनु हुन्छ । जाँड रक्सि खाने लत बसेकाहरुलाई पनि छाड्न सुझाव दिनुहुन्छ र भन्छन् – “रक्सि छोड्नु भनेको त केही पनि रहेनछ । हजूरले आज खानुभएन, भोलि खानुभएन । हुँदाहुँदा एक महिना खानुभएन, वर्षदिनसम्म खानुभएन भने यो आफै छुट्दो रै’छ त ।”

छोराछोरीको पढाइलेखाइ मात्रै नभई होटल र डेरीमा अन्य चार जनालाई भण्डारी दम्पतीले रोजगारी समेत दिएको छ । उनीहरुलाई १५ देखि १८ हजार रुपैयाँसम्म मासिक तलब दिइरहेको गोरप्रसादको भनाइ छ । चार सन्तानमध्ये एक छोरी अनमी पढेर जागीर गर्छन् भने एक छोरी स्टाफ नर्स पढिरहेकी छन् । छोरा बिएस्सी तेस्रो वर्षमा अध्ययन गरिरहेका छन् भने कान्छी छोरी पनि काठमाडौँमा बोर्डिङ स्कूल पढिरहेकी छन् । छोराछोरीको पढाइ खर्च मासिक दुई लाख रुपैयाँसम्म आउने गरेको पनि उनले बताए ।

मदिराले स्वास्थ्य बिगार्नाका साथै धन नाश गर्छ । त्यसमाथि सामाजिक रुपमा बहिष्कृत र लज्जित हुनुपर्ने त छँदै छ । महिला हिंसा र घरेलु हिंंसाको प्रमुख कारकका रुपमा रहेको मदिरालाई त्याग्दा नै जीवनमा सफलता र खुशी मिल्छ भन्ने शिक्षा हरिकलाको सङ्घर्षबाट सिक्न सकिन्छ ।