रामचन्द्र पाण्डे, काठमाडौँ – सरकारले विप्लव समूहलाई हतियार बिसाएर वार्तामा आउन आह्वान गरेको छ । असन्तुष्टि भए शान्तिपूर्ण राजनीति र वार्ताबाट सम्बोधन गर्न सकिने सरकारको भनाई छ ।


ADVERTISEMENT


बिहीबार मन्त्रालयमा सरकारका निर्णयहरु सुनाउन आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले विप्लव समूहसंग सरकार वार्ताका लागि सँधै तयार रहेको बताएका हुन् । उनले वार्ता गर्नुअघि हतियार बिसाउनु आवश्यक रहेको बताए । नेपाली समाजले १० वर्षसम्म जनयुद्धकालीन द्वन्द्व खेपिसकेको र त्यसको पीडा पनि भोगिसकेकाले मुलुकले अब द्वन्द्व खप्न नसक्ने बताए ।


ADVERTISEMENT

# # #


‘हामीले उहाँलाई वार्तामा आउन भनिरहेका छौँ । केही असन्तुष्टि छन् भने राजनीतिक सहमतिका आधारमा शान्तिपूर्ण तरिकाले समाधान गर्न सकिन्छ ।’ उनले भने, ‘द्वन्द्व कति पीडादायी हुन्छ भन्ने कुरा त्यो भोगिसकेकालाई मात्रै थाहा हुन्छ । त्यसैले यसलाई प्रोत्साहित गर्नुपर्ने कुनै कारण छैन ।

हतियार कुनै पनि कुराको समाधान नभएको भन्दै उनले वार्तामा आउन आह्वान गरे । तर, वार्तामा आउनुअघि गोलाबारुद र हातहतियार बिसाउनुपर्ने बाँस्कोटाको भनाइ थियो । ‘सरकारले पटकपटक गोलाबारुद बिसाएर वार्तामा आउनुस् भनिरहेकै छ । हतियार कुनै पनि कुराको समाधान होइन ।’ उनले भने, ‘हतियारको सशक्तिकरणले सामाजिक समस्याहरुको समाधान दिँदैन । त्यसको निम्ती चेतनाको सशक्तिकरण जरुरी हुन्छ ।’

‘हामी सँधै संवादको निम्ति तयार छौँ । तर, संवाद गलत थप गलत गतिविधिको निम्ति तयारीको मौका हुन सक्दैन ।’ उनले भने, ‘त्यही भएर म दोहोर्याएर भन्छु, उहाँहरुले हतियार बिसाउनुपर्छ ।’

उनले संविधानमाथि प्रश्न गर्न पाइएपनि लोकतान्त्रिक गणतन्त्रमाथि प्रश्न उठाउन नपाइने बताए । मन्त्री बाँस्कोटाले हिंसालाई छुट दिन नसकिने स्पष्ट पारे ।

सरकारले विप्लव समूहले हिंसात्मक गतिविधि बढाएको भन्दै प्रतिबन्ध लगाएको थियो ।