काठमाडौँ– नर्वेले नेपालको सामाजिक–आर्थिक विकासको प्रयासमा सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेको छ ।


ADVERTISEMENT


नेपालमा आफ्नो चारवर्षे कार्यकाल पूरा गरी स्वदेश फर्कन लागेका नर्वेका राजदूत चेल तोरमोड पिटर्सेनले सभामुख ओनसरी घर्तीसँग आज गरेको शिष्टाचार भेटमा त्यस्तो प्रतिबद्धता व्यक्त गरेका हुन् ।


ADVERTISEMENT

# # #


नेपालमा लोकतन्त्रको सुदृढीकरण, संविधान कार्यान्वयनका क्रममा दुई चरणमा सम्पन्न स्थानीय तह निर्वाचन, नेपाल–नर्वे पारस्परिक सम्बन्ध तथा आपसी हित र चासोका विविध विषयमा आफूहरूबीच विचारविमर्श भएको राजदूत पिटर्सेनले बताए ।

नेपाल क्रमशः राजनीतिक स्थायित्वतर्फ उन्मुख हुँदै गएको, लोकतन्त्रका उपलब्धि संस्थागत हुँदै गएको तथा नेपाल आर्थिक समृद्धिसँगै सामाजिक न्याय सुनिश्चित गर्न क्रियाशील रहेको जानकारी आफूलाई सभामुखले दिएको उनले बताए ।

नेपाल र नर्वेबीच संसदीय प्रतिनिधिको आदानप्रदानबारे पनि आफूहरूबीच छलफल भएको भन्दै राजदूत पिटर्सेनले आगामी सेप्टेम्बरमा नर्वेमा हुने संसदीय निर्वाचनमा नेपाली राजनीतिक प्रतिनिधिमण्डललाई आमन्त्रण गर्न चाहेको जानकारी पनि सभामुखलाई आफूले दिएको बताए ।