काठमाडौं– प्रतिनिधिसभाका सांसदहरुले ललितपुरको नख्खुस्थित एनसेल कार्यालयको गेटमा बम विष्फोटमा संलग्नलाई तत्काल पक्राउ गरी कार्वाही गर्न सरकारसँग माग गरेका छन् । मंगलबार प्रतिनिधिसभा बैठकको शून्य समयमा बोल्दै सांसद यशोदा गुरुङ सुवेदीले सो बम विष्फोटको घटनामा संलग्नलाई तत्काल पक्राउ गरी कार्वाही गर्न सरकारसँग माग गरेकी हुन् ।


ADVERTISEMENT


उनले बम विष्फोटमा परी मृत्यु भएका सिंहप्रसाद गुरुङको परिवारलाई उचित क्षतिपूर्तिको व्यवस्था र घाइते प्रतिक्षा खड्का र अनुषा डंगोलको उपचारको उचित व्यवस्था मिलाउन पनि सरकारको गम्भीर ध्यानाकर्षण गराइन् । गत फागुन १० गते शुक्रबार राति एनसेल प्रालिको गेटमा बम विष्फोटमा परी गुरुङको ज्यान गएको थियो भने खड्का र डंगोल घाइते भएका थिए ।


ADVERTISEMENT

# # #


त्यसैगरी सांसद यज्ञराज सुनुवारले बारामा जिप दुर्घटनामा परी निधन भएका प्रमुख जिल्ला अधिकारी गणेशप्रसाद भट्टराई र एसपी बलराम पोखरेलको परिवारलाई पनि उचित क्षतिपूर्तिको व्यवस्था गर्न सरकारसँग माग गरे ।
उनले सो जीप दुर्घटनाबारे अनेक आशंका उब्जिएको उल्लेख गर्दै छानवीन समिति बनाएर सत्यतथ्य तत्काल बाहिर ल्याउन पनि सरकारको गम्भिर ध्यानाकर्षण गराए ।

त्यसैगरी सांसदहरुले माथिल्लो कर्णाली जलविद्युत आयोजना स्वदेशी लगानीमा सम्पन्न गर्ने गरी कामलाई अघि बढाउन पनि सरकारलाई सचेत गराएका छन् । सांसद यज्ञबहादुर बोगटीले आवश्यक बजेटको व्यवस्था गर्ने जिम्मेवारी पाएको भारतीय कम्पनी जिएमआरले सो आयोजनाको कामलाई अघि बढाउन नसकेको उल्लेख गर्दै नेपाल सरकार आफैले स्वदेशी लगानीमै सो आयोजनाको काम सम्पन्न गर्ने कामलाई तत्काल अघि बढाउन माग गरे ।
सांसद मायादेवी न्यौपानेले केन्द्रिय कारगारमा रहेका कैदी बन्दीहरुले बुनेका लाखौं रुपैयाँ पर्ने कपडा अलपत्र अवस्थामा रहेकोे उल्लेख गर्दै त्यसलाई विक्रीवितरण गर्ने व्यवस्था तत्काल गर्न पनि सरकारलाई सचेत गराए ।

सांसदहरुले नेपालगंज विश्वविद्यालय स्थापनाको कामलाई तीव्रताका साथ अघि बढाउन पनि सरकारको ध्यानाकर्षण गराएका छन् । सांसद महेश्वरजंग गहतराज ‘अथक’ले सुशील कोइराला क्यान्सर अस्पताल र भेरी अंचल अस्पताललाई सुविधा सम्पन्न बनाउन पनि सरकारसँग माग गरे ।

त्यसैगरी सांसद मोहन बानियाँले कर्णाली अंचलकै ‘लाईफ लाईन’को रुपमा रहेको नाम्जा भञ्ज्याङ सडक खण्डको कामलाई तत्काल अघि बढाउन पनि सरकारलाई सचेत गराए ।
सांसदहरुले देशका विभिन्न भागमा बढदो बलात्कारको घटना नियन्त्रण गर्न नसकेको भन्दै सरकारको आलोचना पनि गरेका थिए ।

सांसद विमला विश्वकर्माले बर्दिया जिल्लाको मधुवन नगरपालिकाका १९ वर्षीया किशोरीमाथि बलात्कार भएको र गुलरिया नगरपालिकामा ६ वर्षीया बालिकामाथि बलात्कार भएको उल्लेख गर्दै सो अपराधिक घटनामा संलग्नलाई तत्काल पक्राउ गरी कार्वाही गर्न पनि सरकारको ध्यानाकर्षण गराइन् ।