काठमाडौँ– अफगानिस्तानका अलराउन्डर रसिद खानले टी ट्वान्टी अन्तर्राष्ट्रिय क्रिकेटमा ४ बलमा ४ विकेट लिँदै इतिहास रचेका छन्।


ADVERTISEMENT


आयरल्याण्डसँग भएको अन्तिम टी-ट्वान्टी खेलमा रसिदले सो रेकर्ड बनाएका हुन्। रसिद टी ट्वान्टी इतिहासमा ह्याट्रिक गर्ने सातौं खेलाडीसमेत बनेका छन्।


ADVERTISEMENT

# # #


उनी अन्तर्राष्ट्रिय क्रिकेटमै ४ बलमा ४ विकेट लिने बलर पनि बनेका छन्। यसभन्दाअघि श्रीलंकाका लसिद मालिंगाले सन् २००७ को एक दिवसीय विश्वकपमा दक्षिण अफ्रिकाविरूद्धको खेलमा ४ बलमा ४ विकेट लिएका थिए।

रसिदको रेकर्डसँगै अफ्गानिस्तानले आयरल्याण्डविरुद्धको टी ट्वान्टी सिरिज क्लिन स्वीप गरेको छ। आइतबार भएको अन्तिम खेलमा अफगानिस्तानले आयरल्याण्डमाथि ३२ रनको जित निकाल्यो ।

रसिदले सोह्रौं ओभरको अन्तिम बलमा आयरल्याण्डका लागि महत्वपूर्ण ७४ रन बनाएका केभिन डी ब्रोयनलाई पहिलो सिकार बनाए । १८ ओभरमा बलिङ गर्न आएका उनले जज डकरेल, सेन गेटकाटे र सिमी सिंहलाई लगातार प्याबिलियनको बाटो देखाए। अन्तिम ओभरमा एक विकेट लिँदै रसिदले टोलीका लागि व्याक्तिगत पाँच विकेटको योगदान गरे। उनले २७ रन खर्चिए।

२ सय ११ रनको लक्ष्य पछ्याएको आयरल्याण्ड ८ विकेट गुमाएर १ सय ७८ रनमा सिमित भयो। केभिन डी ब्रोयनले ७४ रन बनाउँदै आयरल्याण्डलाई गतिलो सुरुवात दिलाए पनि अन्य ब्याट्सम्यानले त्यसलाई कायम राख्न सकेनन् ।

यसअघि पहिले ब्याटिङ गरेको अफगानिस्तानले निर्धारित ओभरमा ७ विकेट गुमाएर २ सय १० रन बनाएको थियो । उसका लागि मोहमद नावीले सर्वाधिक ३६ बलमा ८१ रनको योगदान गरे।