काठमाडौँ– अष्ट्रेलियामा अध्ययन गर्न गएका एक हजार भन्दा बढी नेपाली विद्यार्थी विचल्लीमा परेको घटनाप्रति नेपाली कांग्रेसले गम्भीर ध्यानाकर्ष जनाएको छ । बुधबार एक विज्ञप्ती निकाल्दै कांग्रेसले घटनाको छानबिन गरी आवश्यक प्रक्रिया अघि बढाउन आग्रह गरेको हो ।
‘हजारौँ नेपाली विद्यार्थीले अष्ट्रेलियाबाट निरन्तर उच्च शिक्षा हासिल गरिरहेका छन् र त्यसप्रति हामी अनुगृहित पनि छौँ ।’ जारी विज्ञप्तीमा भनिएको छ, ‘तर स्थानीय एक शैक्षिक प्रतिष्ठानले विधिवत दर्ता र सम्बन्धन बेगर विद्यार्थी भर्ना लिएर हजारौँको भविष्य अन्यौलमा पु¥याएको र नर्सिङ अध्ययन गर्न गएका हाम्रा नेपाली विद्यार्थी समेतले मार्मिक चोट भोग्नु परेको सार्वजनिक विवरणले हामीलाई मर्माहत तुल्याएको छ ।’
नेपाली कांग्रेस निकट नेपाली जनसम्पर्क समितिलाई तत्काल यसबारे थप सूचना लिन र आवश्यक समवन्य गर्न कांग्रेस केन्द्रीय कार्यालयका तर्फबाट निर्देशन गरिसकिएको
जनाइएको छ । नेपाल सरकारले पीडित विद्यार्थीहरुको उद्धार उचित शैक्षिक प्रबन्धका लागि तत्काल अष्ट्रेलिया सरकारसँग आवश्यक पहल गर्न माग गरेको छ ।
दर्ता नभएको क्याम्पसमा विद्यार्थी पठाउने कन्सल्टेन्सीहरुबारे आवश्यक विवरण संकलन गरी आवश्यक कार्वाही प्रक्रिया अघि बढाउन समेत नेपाली कांग्रेस सरकारको ध्यानाकर्षण गराएको छ ।