धनगढी – प्रधानमन्त्री केपी शर्मा ओलीले लोकतन्त्रका नाममा मनपरी गर्ने छुट कसैलाई पनि नभएको बताएका छन् । उनले नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका गतिविधिलाई सरकारले नजिकबाट नियालीरहेको र धेरै समय चुप लागेर नबस्ने बताएका छन्।
सुदूरपश्चिम प्रदेश सभामा आज विशेष सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले क्रान्तिका नाममा अशान्ति मच्चाउने, मुलुकलाई प्रगतिको बाटोमा जान नदिने चन्दाका नाममा लुट मच्चाउनेजस्ता राजनीतिक आवरणमा गरिने गतिविधि नियन्त्रण गरिने बताए ।
‘लोकतन्त्रका नाममा जसले जे गर्न पनि पाउने, गाली गर्ने छुट कसैलाई पनि छैन । त्यस्ता गतिविधि विरुद्ध सरकारले उचित कदम चाल्छ ।’ उनले भने, ‘क्रान्तिका नाममा अशान्ति मच्चाउने, मुलुकलाई प्रगतिको बाटोमा जान नदिने, पूर्वाधार निर्माणमा अवरोध गर्ने देश डुबाउने गतिविधि हुन्, सरकार यस्ता गतिबिधि हेरेर बस्न सक्दैन ।’
उनले केही समयअघि अरूण तेस्रोको कार्यालयमा विप्लवको पार्टीले गरेको आगजनीको उदाहरण दिँदै त्यसले एकातिर भारतसँगको सम्बन्ध बिगार्ने र अर्कोतिर नेपालमा विदेशी लगानी नआवस् भन्ने षडयन्त्र रहेको बताए।
सम्बोधनका क्रममा प्रधानमन्त्री ओलीले कमल थापा नेतृत्वको राष्ट्रिय प्रजातन्त्र पार्टीले धर्म र राजसंस्थाको एजेन्डा बोकेर प्रतिगमनको बाटोमा जान खोजेको बताए। धर्मको राजनीति गरेर राजतन्त्र फर्कन्छ भन्ने सपना नसोच्न उनले आग्रह गरे । ‘मुलुकमा धर्मको स्वतन्त्रता छ तर धर्मका नाममा राजनीतिक उद्देश्य प्राप्त गर्ने चेष्टा सरकारका लागि स्वीकार्य हुँदैन ।’ प्रधानमन्त्री ओलीले भने, ‘विभिन्न दाउपेचमा सरकार ढलिहाल्ने अवस्था पनि अहिले छैन, त्यसैले यस्ता गतिविधि विरुद्ध उचित कदम चाल्छौँ।’
मंगलबारमात्र राप्रपा अध्यक्ष कमल थापाले प्रधानमन्त्री ओलीलाई २२ सुत्रीय मागसहितको ज्ञापन पत्र बुझाएका थिए । प्रधानमन्त्री ओलीले सरकारले फेरि निर्वाचन आउँछ भन्ने ख्याल गरेर सरकारले काम गरी रहेको दाबी गरे।