काठमाडौँ– नेकपा (एमालेका उपाध्यक्ष वामदेव गौतमले सङ्घ र प्रदेश तहको निर्वाचनमा पनि एमाले पहिलो पार्टी बन्ने दाबी गरेका छन् ।


ADVERTISEMENT


नेपाल पत्रकार महासङ्घमा निर्वाचित केन्द्रीय प्रतिनिधि तथा शाखा अध्यक्षको स्वागतार्थ प्रेस चौतारी नेपालले आज आयोजना गरेको कार्यक्रममा बोल्दै उनले सङ्घ र प्रदेश तहको निर्वाचनमा बहुमत हासिल गर्न नसके पनि एमाले पहिलो पार्टी बन्ने दाबी गरे ।


ADVERTISEMENT

# # #


“हामी प्रदेशमा सबैभन्दा ठूलो पार्टी बनेर सरकार निर्माण गर्ने अवस्थामा पुग्छौँ,” उनले भने – “राष्ट्रिय निर्वाचनमा बहुमत हासिल नगरे पनि ठूलो दलको हैसियतमा पुगेर सरकार बनाउँछौँ ।” नेपाली जनताले चाहेर नै एमाले दुई चरणको स्थानीय तहको निर्वाचनमा ठूलो पार्टी बन्न सकेको उनको भनाइ छ ।

केही ठाउँमा अन्तर्घात र अलोकप्रिय उम्मेदवार उठाउन पुग्दा हार व्यहोर्नुपरेको उल्लेख गर्दै उनले तेस्रो चरणको प्रदेश नं २ को निर्वाचनमा पनि ५० भन्दा बढी स्थानीय तह जित्ने दाबी गरे ।

उपाध्यक्ष गौतमले निर्वाचन युद्ध लडेजस्तै भएकाले एकताबद्ध भएर पत्रकार महासङ्घको निर्वाचनमा होमिन आग्रह गरे ।

कार्यक्रममा एमाले प्रचार विभागका उपप्रमुख सूर्य थापाले महासङ्घको निर्वाचनमा चौतारी अन्य सङ्गठनसँग सहकार्य गरेर भाग लिन तयार रहेको बताए ।