काठमाडौं । सरकारले देश भित्रै विभिन्न अवसरको सिर्जना गर्ने उद्देश्यसहित बुधबार प्रधानमन्त्री रोजगार कार्यक्रमको घोषणा गर्दैछ ।


ADVERTISEMENT


पाँच वर्षभित्रमा बाध्यताले वैदेशिक रोजगारीमा जानु पर्ने अवस्था अन्त्य गर्ने घोषणा गरेको सरकारले प्रधानमन्त्री रोजगार कार्यक्रम ल्याउन लागेको हो ।


ADVERTISEMENT

# # #


प्रधानमन्त्री रोजगार कार्यक्रम कार्यान्वयनका लागि हरेक स्थानीय तहमा रहने रोजगार सेवा केन्द्रका लागि रोजगार संयोजकको भर्ना प्रक्रिया चलिरहेको छ । फागुन २० गतेसम्ममा रोजगार संयोजक नियुक्त गरिने प्रधानमन्त्री रोजगार कार्यक्रमका प्रमुख श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सहसचिव प्रकाश दाहालले जानकारी दिए ।

प्रधानमन्त्री रोजगार कार्यक्रमको औपचारिक घोषणाका लागि बुधबार सरकारले विशेष कार्यक्रम गर्दैछ । दिउँसो १२ बजे हुने कार्यक्रमका बिच प्रधानमन्त्री केपी शर्मा ओलीले यसको घोषणा गर्ने छन् ।

ओली सरकारले ‘हाम्रो भविष्य, हाम्रो सरकार’ नारा दिएर बेरोजगारी सरकारको मुख्य चुनौती रहेको र यसविरुद्धको एक ऐतिहासिक घोषणा प्रधानमन्त्री रोजगार कार्यक्रम रहेको जनाएको छ ।

कार्यक्रम कार्यान्वयनका लागि ऐन नियमहरु तयार भइसकेको अब कार्यान्वयन गर्न समस्या नभएको श्रम मन्त्री गोकर्ण बिष्टले यसअघि नै बताएका छन् । यो कार्यक्रम बेरोजगारी समस्या हल गर्न कोशेढुंगा साबित हुने दाबी गरिएको छ ।

सरकारको उद्देश्य बेरोजगार भत्ता दिनु नभएर रोजगारी दिनु भएकाले सकेसम्म सबैलाई रोजगारी दिने गरी अगाडि बढ्ने जनाइएको छ । प्रधानमन्त्री रोजगार कार्यक्रमले काम खोज्ने र कामदार खोज्नलाई सूचिकृत गराउने छ ।

प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत रहने सबै सूचना केन्द्रमा त्यस स्थानीय तहमा रहेका रोजगारदातालाई कस्ता कामदार आवश्यक छ भन्ने तथ्यांक हुन्छ । त्यही कस्तो कस्तो सिप भएका कामदार छन् भन्ने तथ्यांक पनि रहन्छ । रोजगारदाताले मागे अनुसारका कामदार खटाउने छ ।

तर त्यस्तो क्षमता भएका कामदार त्यो केन्द्रमा नभएमा अन्य केन्द्रबाट पनि मगाउन सक्नेछ । त्यहाँ रहेका कामदार अन्य ठाउँबाट माग भई आएमा पनि त्यहाँ खटाउन सक्नेछ ।

अहिले श्रम मन्त्रालयले केही रोजगारीको सूचि तयार गरेको छ। तर स्थानीय तहमा रोजगार केन्द्र सञ्चालनमा आएपछि यसले बृहत रुपमा नै अगाडि बढ्नेछ। त्यहाँ रोजगारदाता र बेरोजगारको सूचि तयार हुनेछ ।