हुम्ला – दुर्गम हिमाली जिल्ला हुम्लामा सञ्चालित एकमात्र यातायात साधन हवाई सेवा चार दिनदेखि पूर्णरुपमा बन्द छ ।


ADVERTISEMENT


बुधबार दिउँसोदेखि हिमपातसँगै चलेको हावाहुरीका कारण सिमकोट विमानस्थलमा हिउँ बाक्लो जमेका कारण हवाई उडान बन्द हुन पुगेको प्रमुख जिल्ला अधिकारी माधवप्रसाद ढुङ्गानाले बताए । लगातारको हिमपातले सिमकोट विमानस्थलको हिउँ पन्छाउने कार्य शनिबारदेखि शुरु गरिएको उनले जानकारी दिए


ADVERTISEMENT

# # #


विमानस्थलको हिउँ नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र एयरलाइन्सका कर्मचारीले पन्छाइरहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक रवीन श्रेष्ठले बताए बाक्लो हिउँका कारण जिल्ला बाहिर जोड्ने एकमात्र हवाई सेवा सञ्चालन नहुँदा पाँच दिनदेखि यात्रुले आवतजावत गर्न पाएका छैनन् । शनिबार दिउँसो १ बजेदेखि विमानस्थलको हिउँ पन्छाउन थालिए पनि हवाई सेवा सञ्चालनमा ल्याउन अझै दुई दिन लाग्ने भएको छ ।

हुम्लादेखि नेपालगञ्ज र सुर्खेत जाने यात्रु तथा नेपागञ्ज र सुर्खेतदेखि सिमकोट आवतजावत गर्ने यात्रुसहित अन्य सामग्री ढुवानी गर्न नसकिएकाले सिमकोटमा दैनिक उपभोग्य सामानको पनि अभाव देखिन थालेको उनले जानकारी दिए। खिरौला (सेतो चिनी) चार दिनसम्म हवाई उडान बन्द हुँदा सिमकोट विमानस्थलमै थन्किएको छ ।

विद्यालयको छाना उडायो

भारी हिमपातसँगै चलेको तीव्र हावाहुरीले एक दर्जनभन्दा बढी विद्यालयको छाना उडाएको छ । यही माघ ८ गतेदेखि पटक–पटक हिमपातपछि चलेको आएको हुरीले सदरमुकाम सिमकोटमै रहेको मानसरोवर मावि र सहारा समूहको छात्रावासको छानो उडाएको थियो ।

त्यसैगरी बरगाउँस्थित रलिङ मावि, खार्पुनाथ गाउँपालिका–१स्थित मालिका मावि, प्युसास्थित कैलाश आधारभूत विद्यालयका छाना उडाएको मानसरोवर माविका शिक्षक धनबहादुर ऐडीले बताए । उक्त माविको कक्षा १२ को सबै कक्षा कोठाको जस्ता हुरीले उडाएपछि कोठाभित्र करीब तीन फिट हिउँ जमेको र फाल्नसमेत समस्या भएको उनले जानकारी दिए । फरक क्षमता भएका बालबालिकाको बसोबास रहेको छात्राबासको छानो उडाएपछि विद्यार्थीलार्ई समस्या भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक रवीन क्षेष्ठले बताए । अहिले छानो उडाएपछि फरक क्षमता भएका बालबालिका खुला आकाशमुनि बस्न बाध्य भएका छन् । लाली माविको दुईतले चार कोठा र कैलाश आधारभूत विद्यालयका आठ कोठाका छानो हुरीले उडाउँदा पठनपाठनमा समस्या भएकोे कैलाश माविका प्रधानाध्यापक भानुभक्त जैसीले जानकारी दिए ।

कोठामा राखिएका खाद्यान्न हिउँले भिजेकाले खाना पकाउनसमेत नहुने भएको छ । हिउँ र हुरीले विद्यालयको कार्यालय सञ्चालन गरिएको कोठामा समेत क्षति पुगेको छ । यसैगरी स्थानीय बासिन्दाका टिनले छाएका घरका छानासमेत उडाएको छ । खार्पुनाथ गाउँपालिका–१ निवासी तेजबहादुर शाही, जीतबहादुर शाही र लुर्के शाहीको घरको छाना उडाएको जितबहादुरले बताए । (रासस)