धादिङ  । रुबीभ्याली गाउँपालिका–४ हिन्दुङमा माघ १३ गते आइतबार बिहानदेखि पहिरोमा पुरिएर ओडारभित्र हराइरहेका दुई जना पाँच दिनपछि ढुङ्गाले च्यापिएको अवस्थामा बिहीबार साँझ मृत भेटिएका छन् ।


ADVERTISEMENT


गोठाला जाँदा लगातारको हिमपातपछि सुरक्षित स्थानमा बस्ने क्रममा ओढारभित्र बसेको बेला ओढारमाथिबाट ठूलाठूला चट्टान खसेर गएको पहिरोले पुरिएर बेपत्ता भएका हिन्दुङका ४५ वर्षीय नोर्बु तामाङ र सोही ठाउँका १८ वर्षीय धनबहादुर तामाङको खोजीमा जुटेको सुरक्षाकर्मीको टोलीले पाँच दिनपछि उनीहरूको शव फेला पारेको सशस्त्र प्रहरी बल धादिङबेसी गुल्म प्रमुख प्रहरी नायव उपरीक्षक दर्शन गिरीले जानकारी दिए ।


ADVERTISEMENT

# # #


ओडारभित्र फसेका दुवैको ठूलो ढुङ्गाले च्यापिएर मृत्यु भएको हो । खोजी कार्यमा प्रहरी निरीक्षक लक्ष्मणबहादुर बस्नेतको नेतृत्वमा सशस्त्र प्रहरी र नेपाल प्रहरीको ३० सदस्यीय टोली जुटेको थियो । स्थानीयवासी र आफन्तले पनि खोजी कार्यमा प्रहरीलाई साथ दिएका थिए । पहिरोमा पुरिएका २६० भेडाबाख्रामध्ये जम्मा चार भने जीवितै अवस्थामा भेटिएको उद्धार टोलीले जनाएको छ ।

उद्धारका लागि खटिएको सशस्त्र प्रहरी बल विपद् व्यवस्थापन तालिम शिक्षालयका टोलीले जेनेरेटरको माध्यमबाट भाइब्रेसन गराई ढुङ्गा फुटाएको थियो । (रासस)