हुम्ला– हुम्ला नेपालका अन्य ७६ जिल्लाभन्दा उच्च हिमाली जिल्लामा अवस्थित रहेकाले यहाँको दैनिकी हिउँदको समयमा निकै समस्याग्रस्त हुने गर्दछ । हुम्लामा असारदेखि भदौ तीन महीना केही तातोको महसुस हुने भएपनि बाँकी नौ महीनामा चिसोले सताउँछ ।


ADVERTISEMENT


कात्तिकको महीना शुरु भएसँगै चिसो बढ्दै जानुका साथै हिमपात हुने गर्दछ । यहाँका स्थानीयवासीले हिउँदको समयमा हिमपात हुने भएकाले अन्नपात असोजको महीनाबाट नै जोहो गरेर भण्डार गरी घरमा थन्क्याउने गर्दछन् । हुम्लामा अचानक हिमपातले महीनौँ दिनसम्म आवतजावत गर्न निकै समस्या हुने भएकाले अन्नको भण्डार तीन महीना अगाडि नै गर्नुपर्ने हुन्छ ।


ADVERTISEMENT

# # #


हुम्लामा गएको १० वर्षयताकै यो वर्ष भारी हिमपात भएको छ । हिमपातमा शरीरलाई सुरक्षित बनाउने पुराना परम्परा आफैँले बनाएका ऊनका कपडाको प्रयोग हुने गरेको सिमकोट गाउँपालिका–२ का गोकुल बोहराले बताए । बोहराले भने, ‘‘आफूहरुले बालापनमा घरमै बनाएका ऊनीका बाक्लो बख्खु लगाएर हिउँमा रमाउन जान्थ्यौं । तर पछिल्लो समय हिउँसँगै जोडिएका सबै संस्कृति र रहनसहन हराउँदै गएको छ ।’’

पछिल्लो समय जलवायु परिवर्तनसँगै हुम्लामा हिमपात कम हुने भएकाले पनि हिउँमा लगाउने दोचा जुत्ता, बख्खु, राडीको कम्बललगायतका आफैँले बनाउने कपडाको लोभ देखिएको अर्का स्थानीय शोभा भण्डारीले बताइन्  । भण्डारीका अनुसार आफू बच्चा हुँदा यो वर्ष जत्तिकै हिमपात हुने गर्दथ्यो हिउँमा परम्परा कपडा देखिन्थे पछि हिउँ कम आउन थाल्यो, हिउँ पर्दा प्रयोग हुने संस्कार हराउँदै गयो । “हिउँदको समय मङ्सिरदेखि हिमपात हुने गदथ्र्यो हामी घरलाई घर बाहिर निस्कन समस्या हुने गर्दथ्यो तर घरभित्रै बसेर कमै, सिमीलाई सँगै मिसाएर कोल बनाउने खाने चलन बढी थियो”, भण्डारीले भनिन् ।

हुम्लाको उच्च क्षेत्रमा रहेको नाम्खा गाउँपालिकाका वासिन्दाकोजीवनशैली अन्य गाउँपालिकाका नागरिकको भन्दा फरक छ । नाम्खा गाउँपालिका को तील, जाङ, हल्जी, यारी, नारा र लिमीका बासिन्दा मङ्सिर लागेसँगै जिल्ला बाहिर चिसो छल्न जाने गर्दछन् । त्यस क्षेत्रमा सबैभन्दा बढी हिउँ जम्ने भएका कारण पनि जिल्ला बाहिर जाने गर्दछन् । गाउँमा कमैमात्रमा घर कुरुवा, बुढापाखा मात्र हुने गरेको त्यस क्षेत्रकै स्थानीय बासिन्दा पेमा लामाले बताए ।

हिमपात भारी हुँदा त्यस क्षेत्रका स्थानीयलाई घर बाहिर निस्क समस्या हुने गर्दछ । घरपालुवा पशुबस्तुलाई समेत चरन क्षेत्रमा हिउँ जमेका कारण गोठभित्रै थन्क्याउने गरिएको लामाले बताए । हिमपातले त्यस क्षेत्रका स्थानीय फोन सम्पर्कमा समेत बिच्छेदसमेत हुने गरेको उनको भनाइ छ । बिरामी हुँदा पनि समस्या हुने उनले बताए ।

हुम्लामा पुसयता तापक्रम माइनसमा झरेको छ । लगातार एक हप्तादेखिको हिमपातले नेपाल प्रहरीलाई बजारगस्तीमा पठाउन पनि समस्या भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक रवीन श्रेष्ठले बताए। दिउँसोको समयमा बजारगस्तीमा खटिने नेपाल प्रहरी समस्या कमै हुने भएपनि रातिको समयमा सुरक्षार्थ जाने प्रहरीलाई हिउँ पर्दा समस्या देखिएको उनले बताए ।

माइनस १५ डिग्रीमा हिमाली जिल्लाका प्रहरीका लागि दिइएको हिमाली पोशाकले जाडो नछेक्ने उनको भनाइ थियो । बजार गस्तीमा जाँदा जताततै हिउँ भएका अडेस लगाउने ठाउँसमेत भेटाउन समस्या हुने गरेको दूरसञ्चारका भीम बस्नेतले बताए ।

हुम्लामा हिमपात हुँदा सरकारी तथा गैरसरकारी कार्यालयका कर्मचारी हिमपातको समयमा फुर्सदिला हुने गर्दछन् । हिउँदको पुस, माघ, फागुन तीन महीनाको समय हुम्लालगायत कर्णाली प्रदेशमा भारी हिमपात हुने गर्दछ । हिमपातमा सेवाग्राही सेवा लिन नआउनुले पनि फुर्सदिला बनेका हुन् । अफिस जाँदा काम नहुने चिसो अत्यधिक हुने भन्दै कर्मचारी कार्यालय जानुभन्दा कोठामै बस्ने नन्द सिंहले बताए । हिमपातपछिको चिसोले सिमकोटमा कर्मचारीलाई काम गर्न निकै समस्या भएको छ ।

हिमपातले कर्णालीलगायत हुम्लाका किसानलाई ठूलो राहत हुने गर्दछ । समयमै पानी नपर्नाले किसानले लगाएको जेठासी बालीका राम्रो उब्जनी नहुने हुँदा किसान चिन्ती हुने गर्दथे । यसपटकको भारी हिमपातले सधैँ भोकमारी र खडेरीको समस्या भोग्दै आएका किसानलाई राहत हुने भएको भक्त ऐडीले बताए ।

विगतका वर्ष उच्च हिमाली बस्तीमा मात्र हिमपात हुनेहँुदा किसानले भोकमरीको समस्या खेप्दै आउने गरेका थिए । यस वर्ष माघ पहिलो सातादेखि जिल्लाका सातवटै गाउँपालिकामा हिउँ परेपछि यहाँका किसान खुशी भएका छन् । –दाने बोहरा /रासस