काठमाडौं– सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) स्थायी समिति सदस्य एवम् सांसद योगेश भट्टराईले चिकित्सा शिक्षा विद्येयक आगामी माघ ११ गते बस्ने संसद बैठकबाट पारित हुने स्पष्ट पारेका छन् ।


ADVERTISEMENT


बुधबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै सांसद भट्टराईले ११ गते बस्ने बैठकमा विद्येयक निर्णयार्थ प्रस्तुत हुने जनाए । उनले भने,‘माघ ११ गते बस्ने बैठकमा यो विद्येयक हामी ट्याक्कै पारित गर्छौं । मन्त्रीलाई रोष्ट्रममा जान दिईएन भनेपनि मन्त्री बसेकै ठाउँबाट पनि पास हुन्छ । किनभने त्यसको नजिर चाहीँ कांग्रेसकै नेता रामचन्द्र पौडेलले बसाईसक्नुभएको छ।’


ADVERTISEMENT

# # #


क्लबका सभापति ऋषि धमलाको सभापतित्वमा आयोजित साक्षात्कारमा बोल्दै उनले भने,‘नेपाली कांग्रेसका साथीहरुलाई म रामचन्द्र पौडेल सभामुख भएको बेलाको कुरा सम्झिन आग्रह गर्छु । उहाँले स्थानीय तहसम्बन्धी विद्येयक पास गर्दा तत्कालिन् नेकपा एमालेले संसद अवरोध गर्यो । मन्त्रीले रोष्ट्रममा गएर त्यो विद्येयक प्रस्तुत गर्न सक्नुभएन । तर, सभामुख पौडेलले तपाई जुन ठाउँमा बस्नुभएको छ, त्यही ठाउँबाट विद्येयक प्रस्तुत गर्नुस भनेर मन्त्रीलाई भन्नुभयो । सामान्यतयः मन्त्रीले रोष्ट्रममा गएर विद्येयक प्रस्तुत गर्ने चलन हुन्छ । र, पौडेलजीले त्यतिवेला मन्त्रीलाई बसेकै ठाउँबाट विद्येयक टेबुल गर्न लगाउनुभयो । र, पास गर्नुभयो । म नेपाली कांग्रेसका साथीहरुलाई त्यो कुरा पनि हेर्न भन्छु ।’

संसदको आफ्नै अधिकार हुने सुनाउँदै उनले चिकित्सा शिक्षा विद्येयक पास गर्ने कुरामा नरोक्न प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसलाई आग्रह गरे ।  विद्येयक पारित भएपछि बरु कम्युनिष्ट पार्टीले ज्यादती गर्यो र संसदबाट अधिनायकवाद ल्याउन खोज्यो भनेर विद्येयक लिएर पढाउन जानपनि कांग्रेसलाई उनले सुझाव दिए ।

संसद आफ्नो पार्टीको लागि आत्मा हो, पर्यावाची हो भन्ने कांग्रेसजस्तो पार्टीले संसदलाई यसरी खिल्ली उडाउन नहुने उनको भनाई छ । भट्टराईले आजको दिनमा अनशनरत डाक्टर गोविन्द केसी गलत भएको प्रतिक्रिया दिए । उनले भने,‘डाक्टर केसी गलत हुनुहुन्छ । अब उहाँ पछि हट्नुको विकल्प छैन् । किनभने उहाँले उठाउनुभएको सबै माग विद्येयकमा समावेश भैसकेका छन् ।’

उनले गिरिजाप्रसाद कोइराला र सुशिल कोइरालाको नाममा रहेका अस्पतालको सञ्चालनको सम्पूर्ण जिम्मा नेपाल सरकारले लिनेपनि विश्वास दिलाए । आफूहरु नेपाली कांग्रेसजस्तो नभएको उल्लेख गर्दै भट्टराईले सम्मानित नेताहरुको संस्थाप्रति कुनै वैरभाव नरहेको स्पष्ट पारे ।

कांग्रेसले संसद अवरोध गरेपनि, नगरेपनि र कांग्रेसले भनेपनि नभनेपनि गिरिजा र सुशिल कोइरालाका नामका अस्पतालहरु चल्ने उनले जिकिर गरे । यद्धपी उनले त्यहाँभित्र विकृति र विसंगतिहरु छन् भने सरकारले छानबिन गर्नेपनि स्पष्ट पारे ।

यता प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता, पूर्वमन्त्री एवम् सांसद मिन विश्वकर्माले अनशनरत डाक्टर गोविन्द केसीको माग नबदलिएको तर योगेश भट्टराईको स्वार्थ बदलिएको आरोप लगाएका छन् । उनले योगेश भट्टराईले सत्ताको कभर लगाएपछि विवेक गुमाएको पनि आरोप लगाए ।