तोक्यो : विश्वका सबैभन्दा वृद्ध मानिस मासानो नोनाकाको आइतबार निधन भएको छ। हवाइजहाज आविष्कार गर्ने राइट्स दाजुभाइभन्दा दुई वर्षपछि जन्मेका नोनाकाको ११३ वर्षको उमेरमा मृत्यु भएको जापानी सञ्चारमाध्यमले जनाएका छन्।


ADVERTISEMENT


गिनिज वर्ल्ड रेकर्डका अनुसार नोनाकाको जन्म सन् १९०५ को जुलाईमा भएको थियो। उनको जन्म अल्बर्ट आइन्स्टाइनद्वारा प्रतिपादन गरिएको सापेक्षताको सिद्धान्तको प्रकाशन हुनुभन्दा केही महिनाअघि भएको थियो।


ADVERTISEMENT

# # #


गत वर्ष स्पानियार्ड फ्रान्सिसको नुनेज ओलिभेराको मृत्यु भएपछि वृद्ध जीवित मानिसहरूमध्ये सबैभन्दा पाका व्यक्तिका रूपमा गिनिजले नोनाकालाई औपचारिक मान्यता दिएको थियो।

‘हामीलाई विश्वप्रसिद्ध जापानी नागरिक नोनाकाको निधनले दुःखी तुल्याएको छ। उहाँ शनिबारसम्म सामान्य जीवन बिताइरहनुभएको थियो। परिवारका सदस्यलाई समेत कुनै बोझ नबनीकन आइतबार देहत्याग गर्नुभएको छ’, उनकी नातिनी युकोले भनिन्।

६ भाइ र १ बहिनी भएका नोनाकाले सन् १९३१ मा विवाह गरेका थिए। उनी पाँच सन्तानका बाबु बनेका थिए। उनले आफ्नै गाउँमा ‘हट स्प्रिङ इन’ (होटेल) सञ्चालन गरेका थिए।

सामान्यतया जापानीहरूको दीर्घ जीवन हुने गर्दछ। विश्वका धेरै वर्षसम्म बाँच्ने मानिसको सूचीमा कैयौँ जापानी नागरिकको सूची रहेको छ। जापानी नागरिक जिरोमी किमुरालाई सबैभन्दा धेरै बाँच्नेमध्येका व्यक्तिका रूपमा मानिन्छ।

सन् २०१३ मा ११६ वर्षको उमेरमा उनको निधन भएको थियो। प्रमाणित रूपमा इतिहासमा सबैभन्दा धेरै बाँच्ने व्यक्ति फ्रान्सका जेनी लुइ कालमेन्तको सन् १९९७ मा १२२ वर्षको उमेरमा निधन भएको थियो।