काठमाडौं – सरकारले सहमति बिना नै स्थानीय तह निर्वाचन घोषणा गरेको विरोधमा मधेशी मोर्चाले आज मधेशब्यापी बन्द आह्वान गर्दै फेरि आन्दोलनमा उत्रिएको छ । मोर्चाको आह्वानमा आज मधेश बन्द छ ।
मोर्चाका नेता कार्यकर्ता सडकमा सरकार विरुद्ध नाराबाजी गर्दै टायर बालेर विरोध प्रदर्शनमा जुटेका छन् । मधेशका सबै जिल्ला सदरमुकाम र शहर चोकमा विरोध प्रदर्शन भइरहेको छ ।


ADVERTISEMENT


आज मोरङ, सुनसरी, पर्सा, रौतहट, बारा, धनुषा, सिरहा, सप्तरी, रुपन्देही, नवलपरासी, कपिलबस्तु, बाँके, बर्दिया लगायत मधेशका जिल्लाहरुमा मोर्चाका कार्यकर्ताहरुले विरोध प्रदर्शन गर्दैछन् ।


ADVERTISEMENT

# # #


बन्द आह्वान र विरोध प्रदर्शनले मधेशका जिल्लाहरुको जनजीवन प्रभावित बनेको छ । लामो समयपछि मधेश आज पुनः ठप्प भएको छ । यातायातका सवारी साधानदेखि पसल, बजार बन्द गरिएका छन् ।
संविधान संशोधन नै नगरि सरकारले घोषणा गरेको चुनाव विरुद्ध आन्दोलनमा होमिएको मधेशी मोर्चाले हिजो मंगलबार साँझ मधेशब्यापी मसाल जुलुस प्रदर्शन गरेको थियो । निर्वाचन धोका हो भन्दै आन्दोलनको कार्यक्रम अनुसार पहिलो दिन मधेशका जिल्लाहरुमा मसाल जुलुस प्रदर्शन गरियो भने आज मधेश बन्द गरिएको हो ।

सरकारले हिजो आह्वान् गरेको संसदीय बैठक मोर्चाले बहिष्कार गरेको थियो । संशोधन अघि चुनावको औचित्य नभएको भन्दै चुनाव घोषणा गरेर मधेसलाई द्वन्द्वमा धकेल्ने काम भएको मोर्चाको आरोप रहेको छ ।