काठमाडौं । प्रधानमन्त्री समेत रहेका नेकपा अध्यक्ष केपी शर्मा ओलीको अभिव्यक्तिप्रति असन्तुष्टि जनाउँदै स्थायी समितिका सदस्यहरुले एक पछि अर्काे गर्दै धारणा राख्न खोजेपछि अर्का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) ले हस्तक्षेप गरेर बैठक स्थगित गरेका छन्।


ADVERTISEMENT


२ घण्टा १० मिनेट बोलेका अध्यक्ष ओलीले राजनीतिक प्रतिवेदनको बचाउ गर्दै प्रतिवेदनलाई जस्ताको तस्तै पारित गर्न प्रस्ताव गरेका थिए। ‘पहिले पनि यस्तै प्रतिवेदन आउँथे’ भन्दै ओलीले बैठकमा भनेका थिए, ‘यो प्रतिवेदनमा पनि सबै कुरा समेटेर ल्याइएको छ, त्यसैले पारित गरौँ।’


ADVERTISEMENT

# # #


आफू पहिलो पटक गृहमन्त्री भएका बेला समेत पार्टीभित्र आफ्नो आलोचना भएको तर जनताले आफ्नो वाही–वाही गरेको दावी गरेका थिए। ‘अहिलेपनि त्यस्तै भइरहेको छ, पार्टीभित्र सरकारको आलोचना गरिएको छ’ ओलीको दावी थियो, ‘तर जनताले सरकारको प्रसंशा गरेका छन्।’

त्यसक्रममा ओलीले सरकारले कुनै अपराध नगरेको बताउँदै कुनैपनि मन्त्रीबाट भ्रष्टाचार नभएको दावीपनि गरेका थिए।

पार्टीको सांगठनिक एकिकरण छिट्टै हुने बताउँदै अध्यक्ष ओलीले राजनीतिक प्रतिवेदनमा माघ–फागुनका लागि प्रस्तावित २ महिने अभियान फागुनमा सार्न प्रस्ताव गरेका थिए। २ घण्टा भन्दा लामो मन्तव्यपछि ओलीले आफ्नो राजनीतिक प्रतिवेदन जस्ताको तस्तै पारित गर्न प्रस्ताव गरे।

ओलीले यस्तो प्रस्ताव राखेपछि स्थायी समिति सदस्य घनश्याम भूषालले त्यसको प्रतिवाद गरे। ‘बैठकमा व्यक्त विचार कहाँ कसरी समावेश गरिन्छ भन्ने थाहै छैन, कसरी हामीले पारित गर्ने?’ भूषालको प्रश्न थियो।

अर्का नेता भीम रावलले पनि त्यस्तै प्रश्न गरे। ‘हामीले राखेका कुरा प्रतिवेदनमा कति समावेश हुन्छन्, कसरी हुन्छन् जवाफ चाहियो’ रावलले भने, ‘हाम्रा कुरा सम्बोधन नहुने हो भने फरक मतको रुपमा तल लगिन्छ।’

त्यसपछि बामदेव गौतम बोले। र, ओलीको मन्तव्यप्रति मतभेद जनाए। ‘जनताको जनवाद लेखिएको यस्तो प्रतिवेदन पारित हुन सक्दैन’ गौतमले भने, ‘प्रतिवेदनमा आत्मालोचना छैन, यस्तो प्रतिवेदन पारित गर्न सकिन्न।’

गौतमले बोलेपछि आफूले पनि बोल्न पाउनुपर्ने माग गर्दै अधिकांस स्थायी समितिले हात उठाए। ओली बोल्न खोजिरहेका थिए, तर होहल्लाले गर्दा बोल्न पाएनन्। बैठकको स्थिति सम्हालिनसक्नु भयो।

त्यसपछि अध्यक्ष प्रचण्डले बैठकमा हस्तक्षेप गरे। ‘आजका लागि बैठक स्थगित भएको छ’ बैठक स्थगित गर्दै प्रचण्डले भने, ‘भोलि विहान आठ बजे बैठकका लागि फेरि आउनु होला।’