नेपाली कांग्रेसको भातृ संगठन  नेपाल तरुण दलका महासचिव भूपेन्द्रजंग शाही :


ADVERTISEMENT


तरुण दलको पछिल्लो हाल खबर के छ ? कसरी अगाडी बढाइरहनु भएको छ संगठनलाई ?


ADVERTISEMENT

# # #


नेपाली कांग्रेस अहिले प्रमुख प्रतिपक्षीको भूमिकामा छ । सकारले जनताको पक्षमा गर्न नसकेका कामहरु, सरकारको ध्यान पुग्न नसकेका कुराहरुमा पनि प्रतिपक्षीको नाताले जनतासंग घुलमिल भएर जनताको पक्षमा बढी आवाज उठाउनुपर्ने दायित्व अहिले कांग्रेससंग छ । नेपाली कांग्रेसको एउटा प्रमुख भातृ संस्था अझ तरुण दल त एउटा साथी संस्था जस्तो पनि हो । त्यस कारण अन्य भातृसंस्था भन्दा हाम्रो विशेष महत्वपूर्ण भूमिका हुन्छ । नेपाली युवाहरुको एउटा आशालाग्दो र भरपर्दो संगठन नेपाल तरुण दल भएको नाताले अहिले सरकारले जे जस्तो नराम्रा गतिविधिहरु गरिराखेको छ, त्यसका विरुद्ध आवाज उठाउनु हाम्रो कर्तव्य हो । त्यो अन्तर्गत नेपाल तरुण दलले शान्तिपूर्ण ढंगले जनताका आवाजहरु उठाइदिने काम गरिरहेका छौँ ।

सरकारका गतिविधिलाई तरुणदलले कसरी नियालीरहेको छ ?

सरकारलाई हामीले सुरुका दिनमा केही काम गर्छ कि भनेर पर्खिरहेका थियौँ । सरकारले राम्रो काम गरोस् भन्ने हाम्रो शुभकामना पनि थियो । हामीले विरोध गर्न नपरोस् भन्ने थियो । तर यो सरकार नालायक, काम नलाग्ने, यति छोटो समयमै असफल भयो । हरेक हिसाबमा असफल भएको छ । हिजो आफैले घोषणा गरेका कुराहरु पनि पूरा गर्न सकेको छैन । तपाईले हेर्नु भयो भने अहिले एकदमै महंगी बढेको छ । मूल्यवृद्धि त्यस्तै छ । सरकार आएपछि हरेकदिन जस्तो बलात्कारका घटनाहरु भइरहेको जस्तो देखिन्छ । विभिन्न निकायमा भष्टाचार पनि उत्तिकै बढेको छ । सामान्य जनतालाई एउटा साडी किन्ने पैसा छैन, राष्ट्रपतिलाई १८ करोडको गाडी चाहिएको छ । हरेक ढंगले आफ्नो सुबिधा लिने र हरेक कुरामा आफ्नो फाइदा खोज्ने प्रवृत्ति सरकारमा देखिन्छ । अपराधीलाई बचाएर नक्कली अपराधी खडा गर्ने काममा सरकार लागेको देखिन्छ । त्यसैले हिजो जनतालाई झुक्काएर निर्वाचन जितेपनि सरकार अहिले नांगिसकेको अवस्था छ । यस्तै हो भने सरकारका विरुद्ध तरुण दलले भण्डाफोर गर्छ ।

सरकारलाई हामीले गलत बाटोमा नजाऊ भनेर हामीले भन्ने हो । यदि सरकारले सुनेन भने भोलि सरकारका विरुद्धमा अझ कडा आन्दोलन गर्नुपर्ने अवस्था आउँछ । आजको दिनमा हामीले जनताको पक्षमा शान्तिपूर्ण आवाज उठाएको मात्रै हो । तर आफ्नै स्वार्थमा सरकार अगाडि बढ्ने हो भने यो सरकार दुर्घटनामा पर्छ । चाँडै यो सरकारले बिदा लिनुपर्ने अवस्था आउँछ । हामीले देशव्यापी रुपमा सरकारका गलत कामका विरुद्धमा आवाज उठाउँछौँ ।

तर तरुण दलमा कतिपय पदहरु खाली रहेको अवस्था छ । तरुण दलले कहिलेसम्म पूर्णता पाउँछ ?

तरुण दलले पूर्णता पायो, पाएन भन्दा पनि योबीचमा कती कामहरु भए भन्ने हो । अहिले नेपाली कांग्रेसको भातृ संस्थामा सबैभन्दा बढी, सातै प्रदेशमा प्रशिक्षण कार्यक्रम गरेको, आन्दालनमा सबैभन्दा ठूलो भूमिका खेलेको हामीले छौँ । त्यस कारण अहिले परिचालन भएकै तरुण दल छ । एक हिसाबले भन्दा अहिले प्रतिपक्षीको सम्पूर्ण भूमिका तरुण दलले गरिरहेको छ । कतिले भारी बोके भन्दा पनि भारी बोके कि बोकेनन् भन्ने हो । चाहे थोरैले होस् वा धेरले । हामीलाई जे जिम्मेवारी थियो त्यो गरेका छौँ । अझै केही छुटेको छ भनेपनि हामी सबैको सुझाव लिएर अगाडी जान्छौँ ।

तर सबै भारी एकले बोक्दा पनि गाह्रो हुन्छ होला नि ?

गाह्रो त भइहाल्छ । जस्तो अहिले केन्द्रीय सदस्य नहुँदा सबै काम म लगायतका साथीहरुले गर्नु परेको छ । तर पनि हामी गरिरहेका छौँ । अन्य भातृसंस्था भन्दा हामीले धेरै गरेका छौँ । महासमितिको बैठकपछि पार्टी सभापतिले यसको सम्बोधन गर्ने भन्नु भएको छ ।

तपाई तरुण दलको महासचिव हुनुहुन्छ । पार्टीको महासमितिको बैठक पनि आइसक्यो । के हुन्छ अब ?

महसमिति भनेको कांग्रेसको एउटा ठूलो निर्णायक ठाउँ हो । नेपाली कांग्रेसलाई अबका दिनमा कसरी अगाडी लैजाने भनेर एउटा विचार, नीति र योजना महासमितिले दिनुपर्छ । म आफैपनि महासमितिको सदस्य छु । यसपटकको महासमितिको बैठकले नेपाली कांग्रेसमा नयाँ उर्जा देओस् भनेर हामी कामना गरौँ । पार्टी चरम् गुटबन्दीमा गएको छ । गुट जोगाउने कि कांग्रेस जोगाउने भनेर महासमितिले यो कुरालाई गम्भीर भएर सोच्नुपर्छ जस्तो लाग्छ । अहिले त सबै कांग्रेसभन्दा पनि गुट-उपगुट जोगाउन लागेको जस्तो देखिन्छ । यो एकदम दु:खद कुरा हो । यसले पार्टीलाई कतै पनि पुर्याउँदैन । पार्टीलाई नयाँ दिशा दिने एउटा अवसर हामीलाई प्राप्त भएको छ । हामी एक ढिक्का भयौँ भने कांग्रेसलाई हराउने ताकद कसैसंग छैन । हामी आफै लड्यौँ भने त के भयो र !

तपाई आफै युवा नेता हुनुहुन्छ । काग्रेसको नेतृत्व परिवर्तन गर्नुपर्छ भन्ने आवाज उठिरहेका बेला अबको नेतृत्व कस्तो आउनुपर्छ जस्तो लाग्छ ?

अबको नेतृत्व कस्तो हुनुपर्छ भनेर मैँले व्यक्तिगत रुपमा भन्नुभन्दा पनि अबको कांग्रेस कस्तो हुनुपर्छ भनेर भन्न सकिन्छ । हिजो जसरी राष्ट्रियता, प्रजातन्त्र र समाजवादप्रति पार्टी समर्पित छ । त्यो पार्टीलाई जनताको बीचमा कसरी पुर्याउने भन्ने मूल प्रश्न हो । सिद्धान्त कापीमा लेखेर मात्रै पुग्दैन । त्यसलाई जनताले अनुभूत गर्ने गरी जनताको बीचमा कसरी जानसक्छौ, हिजोका कमीकमजोरी लाई कसरी सुधार गर्न सक्छौँ, राष्ट्रिय मुद्दामा हामी कसरी अडिग रहनसक्छौँ भनेर हामीले समीक्षा गर्दै अगाडी जानुपर्छ । नेतृत्व भनेको एउटा व्यक्ति मात्रै होइन । एउटा व्यक्तिले भन्दैमा सबै कुरा हुने आज अवस्था पनि छैन । एउटा सामूहिक नेतृत्वको खाँचो छ जस्तो लाग्छ मलाई । एउटै व्यक्ति सर्वेसर्वा हुने भन्दा पनि सबैको भावनाको कदर हुनुपर्छ । सबैलाई व्यवस्थित गरेर लैजाने, देशलाई चाहिने एजेण्डा तय गर्नसक्ने एउटा स्वच्छ छवी भएको नेतृत्व आउन जरुरी छ ।

तर, केही युवा नेताहरुले त अब नेतृत्व हस्तान्तरण हुनुपर्छ भनिरहेका छन् । यसमा तपाईको धारणा के छ ?

नेतृत्व हस्तान्तरण भन्ने कुरा राजतन्त्रमा जस्तो कसैको बाउ राजा छ भने उसले छाडेर छोरालाई राजा बनाउने जस्तो होइन । हामी लोकतान्त्रिक पार्टी भएकाले नेतृत्वका लागि निर्वाचन जितेर आउनुपर्छ । कसैले छोडिदियोस् र म नेता होऔँला भन्ने प्रवृत्तिले हस्तान्तरण हुन्छ जस्ते मलाई लाग्दैन । कसैलाई नेतृत्व गर्न मन छ भने महाधिवेशन मार्फत जितेर आए हुन्छ । त्यसमा कसैले रोक लगाउँदैन । अर्को कुरा भनेको पार्टीमा बूढा र युवा भनेर दुईवटा वर्ग छुट्याउने कुरा गलत हो । पार्टीमा एकताका खाँचो छ । तर युवाहरुलाई पनि केही ठाउँहरु दिइनुपर्छ । अग्रजहरुको सम्मान पनि हामीले गर्न सक्नु पर्छ ।

अन्य पार्टीको जस्तो सबै युवाहरु हाम्रोमा हुँदैन । किनभने हामी हिजो राणा शासनलाई हटाउँदादेखिको हौँ । पार्टीमा थुप्रै अग्रज नेताहरु हुनुहुन्छ । उहाँहरुलाई अब तपाईको काम छैन हामीलाई दिनुस् भनेर भन्न मिल्दैन । उहाँहरुले पनि पार्टी तथा देशका लागि त्याग र तपस्या गर्नु भएको छ । यस्तै अबको भोलिको समय भनेको युवाहरुको हो । उनीहरुलाई रोकेर पनि हुँदैन । त्यसैले पार्टीका अग्रज नेताहरुलाई आफ्ना अनुभवहरु युवा पुस्तालाई सिकाउँदै विस्तारै नेतृत्वमा ल्याउन थाल्नुपर्छ ।