काठमाडौं – गएको ११ महिनामा नेपालमा इतिहासमै सबैभन्दा धेरै पर्यटक भित्रिएका छन् । जनववरीदेखि नोभेन्बरसम्म नेपालमा १० लाख १ हजार ९ सय ३० जना विदेशी पर्यटक भित्रिएको नेपाल पर्यटन बोर्डले जनाएको छ ।


ADVERTISEMENT


बोर्डका अनुसार यो संख्या गएको वर्षभन्दा १७ प्रतिशतले बढी हो । गत वर्ष सोही अवधिमा ८ लाख ५७ हजार २ सय ५२ पर्यटकले नेपाल भ्रमण गरेका थिए । यो ११ महिनामा छिमेकी भारतबाट १ लाख ७८ हजार १ सय ३० तथा चीनबाट १ लाख ३४ हजार ३ सय ६२ जना आएका थिए । यस्तै थाइल्याण्ड, जापान र उत्तर कोरियाबाट नेपाल आउने पर्यटकको संख्या पनि ठूलो रहेको बोर्डले जनाएको छ ।


ADVERTISEMENT

# # #


विगतमा एक वर्षसम्म पर्यटक गणना गर्दा पनि १० लाख पुग्न सकेको थिएन । तर, यो वर्ष ११ महिनामै १० लाख नाघेपछि सरकारमात्र नभई पर्यटन व्यवसायी पनि उत्साही छन् ।

पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत (सीईओ) दीपकराज जोशीले एक वर्ष नपुग्दै विदेशी पर्यटक संख्या १० लाख नाघ्नुलाई कोशेढुंगाका रूपमा लिएको प्रतिक्रिया दिए । “यो संख्याबाट हामीले के बुझ्नुपर्छ भने नेपाल संसारभरका पर्यटकका लागि एउटा सुरक्षित र सुन्दर अनि रोजाइको गन्तव्य हो,” जोशीले भने, “यो सफलताबाट उत्साह थपिएकै छ तर हौसिएर बाटो बिराउने काम गर्नु हुँदैन, यही वा योभन्दा धेरै परिमाणको वृद्धि दर लक्ष्य गरी अगाडि बढ्यो भने नेपाल भ्रमण वर्ष २०२० को लक्ष्य अवश्य पूरा हुनेछ ।”

भारतीय पर्यटक अघिल्लो वर्षको ११ महिनाको दाँजोमा २३ दशमलव ४ प्रतिशत र चिनियाँ पर्यटक ४३ दशमलव ५ प्रतिशतको उल्लेख्य दरले बढेका छन् । गत वर्ष सोही अवधिमा भारतबाट १ लाख ४४ हजार ३ सय ७९ र चीनबाट ९३ हजार ६ सय ५४ आएका थिए । सरकार र पर्यटन प्रवद्र्धनको जिम्मेवारी बोकेको पर्यटन बोर्डले पनि भारत र चीनलाई पहिलो प्राथमिकतामा राखेर प्रवद्र्धनका काम गर्दै आएको छ ।

युरोप अमेरिकाबाट पनि नेपाल आउने पर्यटकको संख्या बढ्दो छ । यो वर्ष २ लाख २४ हजार पर्यटकले पनि नेपालको भ्रमण गरेका छन् । ८२ हजार ८ सय अमेरिकन र ३३ हजार ५ सय अष्ट्रेलियन पनि नेपाल भित्रिएका थिए, ११ महिने अवधिमा ।

बोर्डका अनुसार ११ महिनामा दक्षिण एसियाबाट साढे १९ प्रतिशतले बढेर २ लाख ६० हजार १ सय २४, अन्य एसियाली देशबाट २२ दशमलव ३ प्रतिशतले बढेर २ लाख ५९ हजार ५ सय ४१, युरोपबाट २० दशमलव ३ प्रतिशतले वृद्धि भई २ लाख २४ हजार २ सय ६ तथा अन्य विभिन्न देशबाट ४ दशमलव ६ प्रतिशतले बढेर १ लाख २१ हजार १ सय ९० पर्यटक नेपाल आइपुगेका छन् ।