भीमदत्तनगर– आगामी बधुबार हुने स्थानीय तहको निर्वाचनका लागि कञ्चनपुरमा सबै तयारी पूरा भएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।


ADVERTISEMENT


सात नगर र दुईवटा गाउँपालिका रहेको कञ्चनपुरमा २९३ मतदान केन्द्रमा शनिबार नै मतदान अधिकृत सहितको कर्मचारी टोली परिचालन भएको छ । प्रत्येक मतदान केन्द्रमा एक मतदान अधिकृतसहित ६ जना कर्मचारीको टोली खटाइएको कार्यालयका सूचना अधिकृत लीला जोशीले बताए ।


ADVERTISEMENT

# # #


मतदान अधिकृतसँगै मतपत्र, मतपेटिकलगायत निर्वाचन सामग्री पनि सबै तहमा पठाइसकेको छ । मतदान अधिकृतले निर्वाचनसम्बन्धी राजनीतिक दलका स्थानीय नेताहरुसित शान्तिपूर्ण वातारणमा निर्वाचन सम्पन्न गर्न छलफल गरेका छन् । दुई लाख ३५ हजार ७३५ जना मतदाता रहेको कञ्चनपुरमा सबैभन्दा बढी यहाँको भीमदत्त नगरपालिकामा ५६ हजार १७४ जना मतदाता रहेको सो कार्यालयले जनाएको छ ।

त्यसैगरी, यहाँको बेलौरी नगरपालिकामा २९ हजार ३७७, पुनर्वास नगरपालिकामा २७ हजार २५५, महाकाली नगरपालिकामा १९ हजार ८०१, शुक्लाफाँटा नगरपालिकामा २४ हजार ७५७, वेदकोट नगरपालिकामा २६ हजार ३४६, कृष्णपुर नगरपालिकामा २९ हजार ४१५ मतदाता छन् भने यहाँको बेल्डाँडी गाउँपालिकामा ११ हजार ७५९ र लालझाडी गाउँपालिकामा १० हजार ८५१ मतदाता छन्

निर्वाचनको सुरक्षा तयारी पनि प्रदेश नं ७ मा पूरा भइसकेको सुदूरपश्चिम क्षेत्रीय प्रहरी कार्यालय दीपायलले जनाएको छ । सुदूरपश्चिममा निर्वाचनका लागि म्यादी र नेपाल प्रहरी मात्रै ११ हजारको सङ्ख्यामा खटिएको सुदूरपश्चिम क्षेत्रीय प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक रोमेन्द्रसिंह देउजाले बताए । उनले भौगोलिक विकटता भएका मतदान केन्द्रमा पनि व्यापक प्रहरी परिचालन गरिएको जानकारी दिए । नेपाल प्रहरीसँगै नेपाली सेना र सशस्त्र प्रहरी पनि सुदूरपश्चिमभर खटिएको छ । निर्वाचनका लागि अन्य क्षेत्रबाट पनि सुरक्षा संयन्त्र यहाँ ल्याएर परिचालन गरिएको छ ।

कञ्चनपुरस्थित नेपाली सेनाले पनि यहाँका नौवटै तहमा नेपाली सेनाको प्राविधिक सहितको टोली खटाएको छ । सेनाले पनि विगत केही साता यता गस्तीलाई निरन्तरता दिएको छ । “यहाँका नौवटै तहमा सेनाले बेस क्याम्पस नै बनाएर खटिएको छ,” सैनिक स्रोतले भन्यो, “निर्वाचनका बेला बाहिरी सुरक्षामा सेना खटिनेछ ।” डडेल्धुरा, बैतडी र दार्चुलाबाट बसाइँ सरी आएका नागरिकको बाहुल्यता रहेको कञ्चनपुरमा निर्वाचनमा भेगीय प्रभाव पनि रहँदै आएको छ । दुई दशकपछि हुन लागेको स्थानीय तहको निर्वाचनमा पनि क्षेत्रीय तथा भेगीय राजनीतिको प्रभाव रहने आङ्कलन गरिएको छ ।