नगरकोट– चौध वर्षको नियमित साधनापछि गायक रोशन धौभडेलको पहिलो एकल गीति एल्बम ‘वन्ली यु’ (मात्र तिमी) सार्वजनिक भएको छ ।


ADVERTISEMENT


गायक दीप श्रेष्ठ, दीपक जङ्गम र दीपक खरेलले शनिबार एल्बम विमोचन गरेका हुन् । एल्बममा भएका आठ गीतमध्ये सात वटामा धौभडेलले आफैँले र एउटामा सुनिल मोक्तानसँगको सहकार्यमा सङ्गीत भरेका छन्। एल्बममा ध्रुव मधिकर्मी, भक्तपुर तलेजुका मूल नाइके नरेन्द्रप्रसाद जोशी, मगनबाबु श्रेष्ठ, उज्ज्वलकुमार बस्नेत, शिवप्रसाद मुनंकर्मी, तुलसी घेमोसुसँगै गायक धौभडेलका शब्द छन् ।


ADVERTISEMENT

# # #


एल्बम विमोचनमा गायकहरुले धौभडेलको स्वर बहुआयामिक रहेको बताउँदै उनको आफ्नै मिठासपूर्ण स्वर भएकाले जुनसुकै गीत गाउने क्षमता राख्ने जिकिर गरे । गीतकार मधिकर्मीले गीत र सङ्गीतका क्षेत्रमा भक्तपुरमा प्रतिभावान् व्यक्तित्व भए पनि प्रचारमा आउन नसकेको गुनासो गरे ।

गायक धौभडेलले आफू गायक किशोरकुमारबाट धेरै प्रेरित भएको जानकारी दिँदै करिब तीन वर्षको प्रयासबाट एल्बम निकाल्न सफल भएको बताए ।

एल्बम बिक्रीबाट प्राप्त रकम भक्तपुर नगरपालिका– ७ स्थित सिद्धिशालिग्राम आदर निकेतनलाई सहयोग गरिने बताइएको छ । एल्बम लिब्जु फिल्मस् प्रालिले बजारमा ल्याएको हो ।