काठमाडौं – निर्मलाको न्यायको माग गर्दै ‘सरकार भेटियो, न्याय भेटिएन’ भन्ने पोष्टर देशभर भाइरल भइरहेका बेला सूचना, प्रविधि तथा सञ्चारमन्त्री गोकुल बास्कोटाले हत्यारा चाँडै पत्ता लाग्ने बताएका छन् ।


ADVERTISEMENT


बिहीबार मन्त्रालयमा आयोजित नियमित पत्रकार सम्मेलनमा बोल्दै सरकारका प्रवक्तासमेत रहेका मन्त्री बास्कोटाले निर्मला पन्त प्रकरणमा सरकार चुप लागेर नबसेको बताएका हुन् । ‘यो प्रकरणमा अनुसन्धानको घेरा साँघुरिदै गएको छ । अहिले सरकार भेटिएन केके भेटिएन भनेर अभियान चलाउनेहरुले पनि सरकार भेट्नेछन्’ उनले भने, ‘निर्मला प्रकरणमा सरकार चूप लागेको छैन र लाग्नेवाला पनि छैन । तर, कतिपय अपराधका घटनाको अनुसन्धानले अलि समय लिनेमात्र हो ।’


ADVERTISEMENT

# # #


प्रहरीले निर्मलाको न्यायको माग गर्दै टाँसिएका पोष्टरलाई किन च्यातियो भन्ने सञ्चारकर्मीको जवाफमा मन्त्री बास्कोटाले लोकतन्त्रमा पोष्टर छाप्न, टाँस्न र सरकारविरुद्ध अभियान चलाउन सबैलाई छुट रहेको टिप्पणी गरे । तर अरु कुनै मुद्दा नपाए जसरी सरकारलाई खेद्न निर्मला प्रकरण उछालिएकोमा अशन्तुष्टि जनाए ।

पछिल्लो पटक प्रधानमन्त्री केपी शर्मा ओलीले ‘जता हेर्‍यो, त्यतै सरकार भेटिन्छ’ भनेपछि ‘सरकार भेटियो, न्याय भेटिएन’ लेखिएको निर्मला पन्तको तस्वीर भाइरल भएको छ । त्यो पोष्टर प्रहरीले च्यातेपछि झन भाइरल भएको छ ।

यस्तै उनले विवादित संस्था युनाइटेड पिस फेडेरेशनले आयोजना गरेको ‘एशिया प्यासिफिक सम्मेलन’मा क्रिश्चियन धर्म प्रचार नगरिएको दाबी गरे ।

हाम्रो धर्म प्रचार हुँदा पनि सरकारको खोइरो खन्ने ?

‘हाम्रो हिन्दु, बौद्ध धर्मको पनि त्यहाँ चर्चा भएको छ । त्यो कुरा नलेखेर किन सरकारको खेदो र खोइरो खन्न थालेको हो ? मन्त्री बास्कोटाले भने, ‘हामी भक्तमान प्रकरण पनि सम्झौं, दिलशोभा काण्ड पनि सम्झौं । भक्तमान श्रेष्ठलाई अपहरण गर्ने अहिलेका गृहमन्त्री हुन् भनेर लेखिएकै हो नि । तर, अनुसन्धानबाट उनको अपहरण फिरौतीका लागि रहेछ भन्ने देखियो । दिलशोभा श्रेष्ठमाथि ‘सेक्स र्‍याकेट’ चलाएको भनेर पनि लेखियो । के त्यो मिडियाले कुरा प्रमाणित गर्न सक्यो रु मिडियालेचाहिँ जवाफदेहिता लिनुपर्दैन ?’

युनिभर्सल पिस फेडरेशनका यस्तैखाले सम्मेलनमा यसअघि तत्कालीन प्रधानमन्त्रीहरु कृष्णप्रसाद भट्टराई र गिरिजाप्रसाद कोइरालाहरु पनि सहभागी भएको बताउँदै मन्त्री बास्कोटाले यसपटक केही मिडियाले पूर्वाग्रह साँधेर प्रधानमन्त्री र सरकारको खेदो खनेको आरोप लगाए ।

उनले केही मिडियाले विगतका फोटो छाप्ने क्रममा पनि कम्युनिस्ट नेताहरुका मात्रै छानीछानी ल्याएको आरोपसमेत लगाए । बास्कोटाले भने, ‘त्यही सम्मेलनमा कांग्रेसका नेता प्रदीप गिरी, सुजाता कोइरालाहरु पनि हुनुहुन्थ्यो । तर, मिडियाले देखेन ।’

एसिया प्यासिफिक समिटमा सरकारको सहभागिताको बचाऊ गर्दै मन्त्री बास्कोटाले भने, ‘हिजो कुनै पार्टीका नेता वा प्रधानमन्त्री सहभागी हुँदा त्यही सम्मेलन पवित्र हुने, त्यही अवार्ड थाप्दा गिरिजाप्रसाद शान्तिदूत हुने, अनि आज त्यही अवार्ड केपी ओलीले थाप्दा अपवित्र हुने ? केपी ओली अपराधी हुने ? हाम्रा मिडियाले स्थापना गर्न खोजेको भाष्य यही हो ?’

पटक-पटक दिलशोभा र भक्तमान प्रकरणको सन्दर्भ कोट्याउँदै मन्त्री बास्कोटाले भविश्यमा आफैंलाई लज्जित बनाउने गरी मिसन पत्रकारिता नगर्न चेतावनीसमेत दिए ।