काठमाडौँ– उपराष्ट्रपति नन्दबहादुर पुन ‘पासाङ’सँग नेपालका लागि चीनका राजदूत यु होङले शिष्टाचार विदाई भेट गरेकी छन् । बुधबार विहान उपराष्ट्रपतिको कार्यालय बहादुर भवन पुगेर राजदूत होङले उपराष्ट्रपति पुनसँग विदाई भेट गरेकी हुन्।


ADVERTISEMENT


उपराष्ट्रपति पुनले चिनियाँ राजदूत होङसँगको भेटमा विकास र समृद्धिको नेपालको यात्रामा चीनको सदैव साथ सहयोग रहने विश्वास व्यक्त गरे । नेपाल चीनबीच पारिवारिक नाताको सम्बन्ध रहेको बताउँदै उपराष्ट्रपतिले दुई देशबीचको सम्बन्ध थप प्रगाढ बनाउनमा राजदूत होङले उल्लेख्य भूमिका खेलेको बताए ।


ADVERTISEMENT

# # #


‘नेपाली छोरी भृकुटीको विवाह चीनमा भयो । नेपाल चीन सम्बन्ध नजिकको पारिवारिक सम्बन्ध हो’, उनले भने, ‘दुई देशको सम्बन्ध जनस्तरसम्म प्रगाढ बनेको छ । दुई देशबीचको सहकार्य र सहयोग फराकिलो बन्दै गएको छ ।’

उपराष्ट्रपतिले बेल्ट एण्ड रोड इनिसियटिभ (बिआरआई) परियोजनामा हस्ताक्षर र नेपाल र चीनबीच भएको व्यापार तथा पारवाहन सम्बन्धी प्रोटोकलमा भएको समझदारीले नेपालको विकास र समृद्धिको यात्रामा योगदान पुर्याउने विश्वास व्यक्त गरे । ‘हामीले बिआरआईमा हस्ताक्षर गरेका छौँ । व्यापार तथा पारवाहन संझौताको प्रोटोकलमा भएको समझदारीले नेपालको समृद्धिको यात्रामा योगदान पुग्नेछ,’ उनले भने, ‘यी दुई महत्वपूर्ण कार्यमा पुर्याउनु भएको योगदानका लागि धन्यवाद दिन चाहन्छु ।’

उपराष्ट्रपति पुनसँगको विदाई भेटमा चीनका राजदूत यू होङले नेपाल विकास र समृद्धिको यात्रामा अगाडि बढेको देख्दा चीन अत्यन्त खुशी रहेको बताइन् । उनले नेपालको विकास र समृद्धिको यात्रामा चीन सदैव सहयोगी बन्न चाहेको र सबै प्रकारको सहयोग गर्न तयार रहेको बताइन् ।

‘नेपालले विकास विकासको क्षेत्रमा प्राप्त गरिरहेको उपलब्धीमा चीन अत्यन्त खुशी छ । चीन सरकारले नेपालको विकासमा धेरै ध्यान राखेको छ’, उनले भनिन्, ‘हामी नेपालको विकास र समृद्धिको यात्रामा धेरै सहयोग गर्न चाहन्छौँ, योगदान दिन चाहन्छौँ ।’

राजदूत होङले नेपालमा रहेको वैदेशिक लगानीमा चिनियाँ लगानी उच्च रहेको बताइन् । उनले चीनले नेपालाई दिंदै आएको अनुदान सहयोग सबै भन्दा बढी रहेको बताइन् । ‘नेपालमा तीन वर्ष यताको वैदेशिक लगानी हेर्दा चीन पहिलो नम्बरमा छ’, उनले भनिन्, ‘चीनले नेपाललाई दिंदै आएको अनुदान सबै देशलाई दिईरहेकोमा सबै भन्दा बढी हो ।’

राजदूत होङले इतिहासमा चीन र नेपाल नातेदार भएको बताइन् । ‘भृकुटीको चीनमा विवाह भयो । ईतिहासमा चीन र नेपाल नातेदार हुन्’, उनले भनिन्, ‘औपचारिक सम्बन्ध स्थापना भएको यता दुई देशबीचको सम्बन्ध स्थिर छ । अत्यन्त राम्रो छ ।’ उनले चीन नेपाल सम्बन्ध थप प्रगाढ बनाउन उच्च योगदान दिएको भन्दै उपराष्ट्रपति पुनलाई धन्यवाद समेत दिइन्।

राजदूत होङले आफूपछि आउने राजदूत दक्षिण एशिया र नेपाल सम्बन्धी जानकार रहेको बताउनुहुँदै उहाँको कार्यकालमा दुईदेशबीचको सम्बन्ध थप प्रगाढ बन्ने विश्वास व्यक्त गरिन् ।

तस्वीर : उपराष्ट्रपतिको नीजि सचिवालय