काठमाडौँ– युवा तथा खेलकूद मन्त्रालयले पछिल्लो समय खेल सङ्घमा देखिएको विवाद समाधान गर्न राष्ट्रि«य खेलकूद परिषद्का उपाध्यक्ष पिताम्बर तिम्सिनाको संयोजकत्वमा समिति गठन गरेको छ ।


ADVERTISEMENT


यही मङ्सिर १७ गते युवा तथा खेलकूदमन्त्री जगतबहादुर विश्वकर्माले मन्त्रिस्तरीय निर्णयबाट उपाध्यक्ष तिमिल्सिना संयोजकत्वमा मन्त्रालयका प्रवक्ता अणप्रसाद न्यौपाने र राखेपको खेलकूद विकास विभाग प्रमुख कुलबहादुर थापा सदस्य रहेको समिति गठन गरेको प्रवक्ता न्यौपानेले राससलाई जानकारी दिए ।


ADVERTISEMENT

# # #


आठौँ राष्ट्रिय खेलकूद तथा १३ औँ दक्षिण एशियाली खेलकूद प्रतियोगिताको मिति नजिकिँदै गर्दा प्रतियोगितामा सहभागी हुने खेलाडी छनोटमासमेत एउटै खेलको दुईवटा सङ्घ हुँदा समस्या परेको भन्दै मन्त्रालयको दुई सङ्घबीच वार्ता र समन्वय गरी एउटै सङ्घ बनाउन पहल गर्न समिति गठन गरिएको हो ।

अहिले कराँते, जिम्न्यास्टिक, तेक्वान्दोलगायतका खेल सङ्घमा विवाद छ । समितिलाई एक महीनाभित्र ती सङ्घका विवाद समाधान गरी प्रतिवेदन मन्त्रालयलाई बुझाउने कार्यादेश दिइएको छ । मन्त्रालयबाट अधिकार पाएपछि उपाध्यक्ष तिम्सिेनाले अहिले सात मुख्य सङ्घमा विवाद देखिएको बताउँदै त्यसको समाधान गर्ने प्रतिबद्धता व्यक्त गरे। एउटै प्रकृतिका खेल सङ्घ भिन्नभिन्न हुँदा खेलाडीलाई पनि अप्ठेरो परेकाले समस्या समाधान गर्न मन्त्रालयले आफूलाई जिम्मेवारी दिइएको उल्लेख गरे।

तिम्सिनाले अहिले खेलकूद क्षेत्रमा लगानी मात्रै भइरहेको तर प्रतिफल भने नआएको बताउँदै खेलकूदको लगानी बालुवामा पानी सरह भएकाले यसलाई सुधार गर्नुपर्ने उल्लेख गरे । यसअघि पनि चारवर्ष परिषद्मा उपाध्यक्ष भइसकेका तिमिल्सिना सङ्घको विवादबारे जानकार छन् ।

उनले भने, “हरेकजसो खेल सङ्घमा विवाद गरेर फरक-परक अस्तित्वका दुई सङ्घ भएकाले सबैलाई मिलाएर न्यायसङ्गत तरिकाले समाधान गर्छु ।” जिम्मेवारी पाएलगत्तै समितिको पहिलो बैठक आज मन्त्रालयमा बसेको छ । समिति सदस्य एवं प्रवक्ता न्यौपानेले भने, “आज हामी पहिलो बैठक बसेका छौँ, केही ठोस् योजना अगाडि ल्याउँछौँ ।” सङ्घमा विवाद बढ्दै गएपछि दुई दिनअघि राखेपले आठौँ राष्ट्रिय खेलकूदमा तेक्वान्दोलाई सहभागी नगराउने चेतावनी दिँदै जिल्ला छनोट समेत रोकेको छ । रासस