बझाङ । बझाङकाे थलारा गाउँपालिका ६ डाँडाखेतका टीकाराम जोशी उपाध्याय हुन्।


ADVERTISEMENT


उनको परिवारमा बाहिरबाट आउँदा सुनपानीको छिटो हालेर मात्र घरभित्र पस्ने चलन छ।


ADVERTISEMENT

# # #


दुई वर्ष अघिसम्म जंगलबाट ल्याएको दाउरासमेत पानीले चोख्याएर सुकाएपछि मात्र बाल्ने चलन थियो।

विपन्न भए पनि सामाजिक आलोचनाका डरले ब्राह्मणहरू हलो जोत्दैनन्। टीकारामले दुई वर्षअघि हलो जोते । छोइछिटो बार्न बन्द गरे। परिवारकै वृद्ध सदस्यहरू उनको हातको पानी खान हच्किए। उनले हार खाएनन्।

ब्राह्मणहरू मात्र होइन, स्थानीय ठकुरी र क्षत्री समुदायमा कुखुरा पाल्न नहुने र मासु खाए पनि घरभित्र पकाउन नहुने संस्कार थियो।

अन्धविश्वास तोड्नुपर्छ भन्ने सोचाइ लिएर उनले डेढ वर्षअघि गाउँपालिको सहयोगमा घरमै कुखुरा पाल्न थाले । गाउँपालिकाबाट ५ सय चल्ला अनुदानमा लिएर स्थानीय लक्ष्मीराज जोशीसँगको सहकार्यमा झन्डै २ लाख रुपैयाँ खर्चेरखोर बनाए ।

ब्राह्मणले कुखुरा पाल्न थालेको हल्ला गाउँभरि फैलियो ।‘सबैले उछितो काढे,’ लक्ष्मीराजले भने, ‘यिनीहरूले जातफाल्न आँटे, देउता रिसाएर अनिष्ट हुन्छ भन्दै आफन्त र दाजुभाइ नै हाम्राविरुद्ध लागे।’

गाउँमा जति विरोध भए पनि, अरूले कुरा काटे पनि उनीहरूले कुखुरा पालेरै छोडे।

बिस्तारै उनीहरूको आर्थिक स्तर उकासियो, जीवनशैली बदलियो। आम्दानी देखेर अरू पनि लोभिन थाले।

अन्धविश्वास मात्र तोडिएन, स्थिति यस्तो भयो कि अहिले गाउँपालिकाका २ सय ६४ किसानले कुखुरापालन गरेका छन्।

गाउँपालिकाले पनि पहिलोपल्टका लागि पूर्वाधार हेरेर एक किसानलाई १० देखि २५० वटासम्म चल्ला अनुदानमा दिएको छ।
राम्रो कमाइ देखेपछि कुखुरापालन सुरु गरेकी शर्मिला ओझाले भनिन्, ‘जातले ठगिएर गरिब भएका हौं जस्तो लाग्थ्यो, अन्धविश्वासका कारण आफैंलाई ठगेका रहेछौं।’

उनले पाँच महिनामा ७ हजार अन्डा बेचेर ८० हजार रुपैयाँ कमाएको बताइन्।

‘छोराछोरी पढाउन र घरखर्च चलाउन अब साहुसँग ऋण लिनुपर्ने स्थिति रहेन,’ उनले भनिन्।

गाउँपालिकाका पशु सेवा इकाइ प्रमुख वाल्मीकिप्रसाद जोशीले भने, ‘कुखुरा पाल्दा जात जान्छ भन्नेहरू अहिले अन्डा मात्रै बेचेर दिनको ३/४ हजारसम्म कमाउने भएका छन्।’