काठमाडौं । कञ्चनपुरकी १३ वर्षीया किशोरी निर्मला पन्तको बलात्कार पछि हत्या भएको घटनालाई संयुक्त राष्ट्र संघले समेत आफ्नो प्रतिवेदनमा राख्दै निगरानी गर्ने भएको छ । नेपालको दश दिने भ्रमणको अन्तिम दिन बिहीबार महिला विरुद्धको हिंसाका सम्बन्धमा संयुक्त राष्ट्र संघका रापोर्टर डुब्राभ्का सिमोनोभिकले सञ्चारकर्मीहरुसँगको कुराकानीमा निर्मला पन्त सम्बन्धी विषय आफ्नो पूर्ण प्रतिवेदनमा समावेश गर्ने जनाइन् ।


ADVERTISEMENT


१९ नोभेम्बरदेखि २९ नोभेम्बर २०१८ सम्मको नेपाल भ्रमणका क्रममा नेपालका मानवअधिकार अभियन्ताहरुले निर्मला पन्तको बारेमा गम्भीर चासो व्यक्त गरेको उनले जनाइन् ।


ADVERTISEMENT

# # #


“महिला विरुद्धका हिंसाका कतिपय घटनाका बारेमा मैले गम्भीर रुपमा चासो राखेकी छु । त्यसमा निर्मला पन्त सम्बन्धी र अरु विषय पनि छन् । निर्मला पन्त सम्बन्धी विषय नेपाल सरकारका लागि टेस्ट केश पनि हो । र मेरो म्याण्डेट भनेको यो मुद्धालाई नजिकबाट फलो गर्नु पनि हो । यो केश नेपाल सरकारले प्रतिबद्धता जनाए अनुसारको मानवअधिकारका मापदण्ड अनुसार नै समाधान हुनेछ भन्ने मैले ठानेकी छु”संयुक्त राष्ट्र संघका रापोर्टरले भनेकी छन् ।

निर्मला पन्तका बाबुलाई उपचारका लागि अहिले काठमाडौं ल्याइएको बेलामा नै संयुक्त राष्ट्र संघका उच्च अधिकारीबाट यो अभिव्यक्ति आएको हो । निर्मला गएको साउन १० गते पढ्न साथीको घरमा जाने क्रममा हराएकोमा भोलिपल्ट उनको शव स्थानीय उखुबारीमा फेला परेको थियो ।

संयुक्त राष्ट्र संघका रापोर्टरले नेपालले व्दन्दसँग सम्बन्धित विषयलाई संयुक्त राष्ट्र संघको मापदण्ड अनुसार समाधान गर्नुपर्ने पनि बताइन् । उनले सञ्चारकर्मीहरुसँगको भेटमा आफूले १० दिनमा नेपालमा पाएको तथ्यको प्रारम्भिक प्रतिवेदन प्रस्तुत गरेकी थिइन् । उनले महिलालाई न्यायको पहुँचको सुनिश्चितता गर्नुपर्ने कुरामा समेत जोड दिइन् । नेपालमा रहँदा विभिन्न सरकारी अधिकारीहरुसँग भेटेकी उनले आगामी सन् २०१९ को जुन महिनामा संयुक्त राष्ट्रसंघीय मानवअधिकार परिषद्मा नेपाल भ्रमण सम्बन्धी पूर्ण प्रतिवेदन पेश गर्ने जनाएकी छन् ।