काठमाडौँ– एसिया प्यासेफिक समिटमा आउने पाहुनाको लागि भन्दै आजदेखि काठमाडौँ उपत्यकामा लागू भएको जोर विजोर प्रणालीको अवज्ञा गर्न यो नेपाली कांग्रेसको शुभेच्छुक संस्था युथ कांग्रेस नेपालले आह्वान गरेको छ ।


ADVERTISEMENT


संस्थाका राष्ट्रिय संयोजक सचिन तिमल्सिनाले बिहीबार एक विज्ञप्ती जारी गर्दै विवादित संस्थाका लागि सरकारले जनतालाई दुःख दिएको बताएका हुन् ।


ADVERTISEMENT

# # #


जारी विज्ञप्तीमा भनिएको छ, ‘आफैंमा विवादित र शंकाष्पद सम्मेलनका निम्ति आम नेपाली जनताले किन सास्ती ब्यहोर्नु पर्नेरु सामाजिक सुरक्षा योजनाको नाममा नयाँ युगको सुरूआत भएको ढोंग देखाउने ओली सरकारलाई यस्ता निर्णयले गिज्याइरहेको छ ।’

युथ कांग्रेसमा संयोजक सचिन तिमल्सेनाले शुक्रबार सम्मेलन केन्द्र हायात रिजेन्सीसम्म बिजोर नम्बरका मोटरसाइकलको र्‍याली निकाल्ने बताए। ‘धर्म प्रचार गर्ने संस्थाको कार्यक्रमका लागि जनताले कष्ट पाएका छन्, हामी त्यसको विरोधमा छौं सबैलाई जोर बिजोरको अवज्ञा गर्न आग्रह गरेका छौं,’ तिमल्सेनाले भने,‘अवज्ञाका क्रममा कुनै अप्रिय घटना भए सरकार जिम्मेवारी हुनुपर्छ ।’

यसअघि महानगरीय ट्राफिक महाशाखाले मंगलबार साँझ विज्ञप्ति निकालेर आजदेखि चार दिन उपत्यकामा जोर बिजोर प्रणाली लागू हुने जनाएको थियो। महाशाखाका अनुसार १४ र १६ गते जोर नम्बर प्लेट र १५ र १७ गते बिजोर नम्बरका गाडी चलाउन पाइनेछ। समिटमा भाग लिन म्यानमारकी नेतृ आङसाङ सुकी र कम्बोडियाका प्रधानमन्त्री हुन सेन नेपाल आइसकेका छन् ।

सरकारका गलत कामका अवज्ञा गर्नुपर्छ : गगन थापा

यस्तै नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद गगन थापाले राजधानीमा आजदेखि सवारी साधनमा लागू भएको जोर बिजोर प्रणालीको अवज्ञा गर्न आह्वान गरेका छन्। सामाजिक सञ्जाल ट्वीटरमा उनले ‘सही कामको लागि सरकारले आह्वान गर्दा जोर–बिजोर मात्रै होइन गाडी नै नचलाउन र भोकै बस्न हामी तयार हुनुपर्ने तर धर्मान्तरको लागि स्थापना भएको विवादित संस्थाको कार्यक्रमका लागि जनतालाई सास्ती दिने सरकारको निर्णय खेदजनक’ भएको बताएका छन् ।

‘सरकारको गलत कामको अवज्ञा गर्नु नागरिकको कर्तव्य हो,अवज्ञा गरौं’ गगनले लेखेका छन्  ।