काठमाडौँ– सरकारले नेपाल सरकारको स्वामित्वमा बनारसको ललिताघाट परिसरमा गैरकानुनीरुपमा निर्मित संरचना हटाउन उत्तरप्रदेश सरकारसँग आग्रह गरेको छ ।


ADVERTISEMENT


भारतका लागि नेपाली राजदूत दिपकुमार उपाध्यायले आज त्यहाँका मुख्यमन्त्री योगी आदित्यनाथलाई लखनउमा भेटेर त्यस्तो आग्रह गरेका हुन् । उक्त परिसरमा दुईसय वर्षअघि निर्मित नेपाली शैलीका ऐतिहासिक स्मारक छन् ।


ADVERTISEMENT

# # #


त्यसअवसरमा उनीहरूबीच संस्कृति, पर्यटन, सीमा क्षेत्रका पूर्वाधार तथा दुई देशबीच सतह र हवाईमार्गबाट सम्पर्क विस्तार, सिमाना व्यवस्थापन, बाढी नियन्त्रण एवम् जल व्यवस्थापनबारे विचारविमर्श भएको नयाँदिल्लीस्थित नेपाली राजदूतवासले जनाएको छ ।

काठमाडौँ-पोखरा, बाराणसी-लखनउ-गोरखपुरका साथै दुवै देशका प्रमुख सांस्कृतिकस्थललाई सिधा हवाईमार्गबाट जोड्ने र पर्यटन प्रवद्र्धन गर्नेबारेमा पनि उनीहरूबीच छलफल भएको थियो ।

मुख्यमन्त्री आदित्यनाथले नेपालले प्रस्तुत गरेका समस्या समाधानमा सघाउने आश्वासन दिएको उक्त दूतावासले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । साथै राजदूत उपाध्यायले उनलाई अनुकूल समयमा नेपाल भ्रमण गर्न आमन्त्रणसमेत गरेका छन् । रासस