टीकापुर– टीकापुरमा आसन्न स्थानीय तहको निर्वाचनमा चुनावी रौनक बढेको छ । निर्वाचन आउन एक हप्तामात्र बाँकी छँदा नेपाली काँग्रेस, नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र) र नेपाल लोकतान्त्रिक फोरमलगायतले चुनावी अभियानलाई तीव्र बढाएका हुन् ।


ADVERTISEMENT


गृहमन्त्री तथा माओवादी नेता जनार्दन शर्मा र एमालेका उपाध्यक्ष भीम रावललगायतका अन्य दलका नेताले आआफ्ना पार्टीका छुट्टाछट्टै कार्यक्रममा सहभागी भएपछि चुनावी अभियान बढेको हो । अहिले गाउँमा विभिन्न राजनीतिक चुनाव चिह्न अङ्कित टिसर्टलगायका युवालाई देख्न सकिन्छ ।


ADVERTISEMENT

# # #


काँग्रेसका क्षेत्र नं १ का क्षेत्रीय सभापति भुवनेश्वर अधिकारीले अहिले आफूहरु घरदैलो कार्यक्रम गरिरहेको बताए । “उम्मेदवारसहित हामी अहिले घरदैलो गरिरहेका छौँ” उनले भने “घरदैलोसंग गाउँ टोलमा पार्टीका कार्यकर्तालाई सक्रिय पारिरहेका छौँ ।”

यसैगरी टीकापुर नगर कमिटीका संयोजक सूर्यचन्द्र भट्टराईले घरदैलो सकिएकाले गाउँ टोल केन्द्रित भएर प्रचारमा लागेको बताए ।  माओवादी केन्द्रका केन्द्रीय सदस्य नवराज पौडेलले पनि अन्तिम तयारीका साथ विभिन्न भेला र बैठक गरिरहेको जानकारी गराए । माओवादीले पनि घरदैलो कार्यक्रम सकिसकेको छ ।

टीकापुरबाट काँग्रेसले प्रमुखमा जगतबहादुर साउँद र उपप्रमुखमा केशरीकुमार रावल, एमालेले प्रमुखमा तपेन्द्र रावल र उपप्रमुखमा कमला केसी, माओवादी केन्द्रले प्रमुखमा ललितबहादुर थापा र उपप्रमुखमा आशा चौधरी तथा फोरमले प्रमुखमा लौटन चौधरी र उपप्रमुखमा सुदेश्नी चौधरीलाई उम्मेदवार बनाएको छ ।